रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
बिर्तामोड -१० सैनिबजारस्थित सैनिक सेवा समाजलाई कार्की परिवारले आधा कट्ठा जग्गा प्रदान गरेका छन्।
सोही ठाउँ निवासी स्थानीय अम्बरबहादुर र तारा कार्की दम्पतिले आमाबाबु पूर्णमाया-मानबहादुर कार्कीको पुण्य स्मृतिमा समाजको कार्यालय भवन निर्माणका लागि करिब २० लाख मूल्य बराबरको उक्त जग्गा प्रदान गरेका हुन्।
सैनिक सेवा समाजको नवौं साधरणसभा तथा चौथो अधिवेशनको अवसरमा जग्गा दाता अम्बरबहादुर-तारा कार्कीलाई सम्मान गरिएको छ। दाता अम्बर समाजका सदस्य तथा तारा कार्यसमितिका कोषाध्यक्ष हुन्। भवन अभावमा कार्यालय सञ्चालन कठिनाई भइरहेको अवस्थामा सहजता होस् र समाजको भलो र उन्नति प्रगतिमा सहयोग पुगोस् भनेर आफूहरुले जग्गा प्रदान गरेको कोषाध्यक्ष कार्कीले बताइन्।
सैनिक सेवा समाजका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षता तथा समाजका संयोजक सल्लाहकार, शिक्षा सेवी मनु सुनुवार मुखियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी देवान राईले स्वागत गरेकी थिइन्।
यसैवीच अधिवेशनले पुन: कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मतरुपमा समाजको नयाँ नेतृत्व चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा लक्ष्मी देवान राई, सचिवमा चामबहादुर जबेगू, सह-सचिवमा विजय गुरुङ, कोषाध्यक्षमा तारा कार्की चयन भएका छन्। त्यस्तै सदस्यमा कल्पना गुरुङ, कमला गौतम, तोपबहादुर गुरुङ, टंक श्रेष्ठ, देवीमाया गुरुङ, बालकुमारी सुनुवार चयन भएका छन्। त्यसैगरी मनु मुखियाको संयोजकत्वमा अनुतकुमार सुब्बा, खेमराज राई, टेकबहादुर राई, किरण सुब्बा र कविता घले सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष गुरुङले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सडक विस्तारका क्रममा केही समय अघि कार्यालय भवन हटाइएपछि समस्या उत्पन्न भएको र संस्थालाई हालै जग्गा प्राप्त भइसकेकाले अब भवन निर्माणकार्य अघि बढाउनुपर्ने जिम्मेवारीलाई समितिले पूरा गर्ने बताए। उनले यसका लागि आफूले १ लाख ५ हजार रुपैयाँ सहयोग गर्ने
प्रतिवद्धता व्यक्त गर्दै सबैलाई निष्ठा र सक्रियतापूर्वक आर्थिकसाजिक सहयोग गरि योगदान पुरयाउन आग्रह गरे।
प्रमुख अतिथि शिक्षासेवी मुखियाले सदस्यको हितमा लामो समयदेखि सामाजिक कार्य गर्दै आएको संस्थाको भवननिर्माणकार्य सम्पन्न गरि मजबुद बनाउन खुलेर सहयोग गर्दै एकजुट हुन सदस्य तथा दाताहरुलाई आग्रह गरिन्।
सल्लाहकार खेमराज राईले कार्यक्रमको अौचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सिर्जनशील सेवा समाजका अध्यक्ष जगदीशचन्द्र गुरुङ, दाता तारा कार्की, टीकाराम गुरुङ, सञ्चारकर्मी रत्नबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए।
जेष्ठ सदस्य टीकाराम गुरुङ र गंगाप्रसाद तिवारीलाई सम्मान गरिएको कार्यक्रममा संस्थाका स्वर्गीय संस्थापक पदाधिकारीहरु अध्यक्ष दिलिपचन्द्र अधिकारी, सचिव रुपनारायण मुखिया, कोषाध्यक्ष मोहन देवान, अध्यक्ष इन्द्रबहादुर राई र धनबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
सैनिकबजार टोल विकास संस्थाका अध्यक्ष अनुत सुब्बा, अस्थायी प्रहरी बीटका प्रमुख नरोत्तमकुमार थापा, समाजका पूर्व अध्यक्ष पूर्णिमा गुरुङ, किरण सुब्बा, देवीप्रसाद दंगाललगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सचिव चामबहादुर जबेगूले गरेको थिए।