वैदेशिक रोजगार र ठगी

0
10

नेपाल प्रहरीले दिनहुँ सार्वजनिक गर्ने विवरणमा वैदेशिक रोजगारीका नाममा ठगी भएका घटनाहरु आइरहन्छन् । प्रहरी विवरणमा ती मध्ये केही अभियुक्तहरु पक्राउ परेको विवरण पनि हुन्छन् । तर, नेपाली युवाहरुका न ठगिने क्रम घटेको छ न त अनियमित र अवैध कर्म गर्नेहरु सबै पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई नगद लिएर सम्पर्कविहीन हुने क्रम बढ्दै जाँदा प्रहरीले सक्रियता बढाएको समाचार पनि आउँछ, तर रोजगारी तथा अध्ययनका नाममा पैसा उठाउने र फरार हुने क्रम रोकिएको छैन ।

नेपाली श्रम गन्तव्य व्यापक बन्दै गएको छ । पछिल्लो समय नेपाली युवाहरु युरोपेली देश लगायत क्यानडा, अष्टे«लिया र न्यूजील्याण्ड समेत हुन थालेपछि ती देशमा पठाउने नाममा ठगी हुने क्रम पनि बढेको प्रहरीकै तथ्यांकले देखाउँछ । सरकारी विवरणले पनि पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या पनि बढेको देखाएको छ । प्रहरीकै अध्ययन र तथ्यांकले पनि परम्परागत श्रम गन्तव्य मुलुकमा ठगी हुने क्रम यथावत रेहको र युरोपेली देशमा समेत त्यस्ता समस्या बढ्दै गएको उल्लेख गरेको छ । प्रत्येक दिन आउने ठगीका यस्ता समाचारहरुले सरकारको असफलताको संकेत गरेको वैदेशिक रोजगार क्षेत्रका जानकारहरुको भनाइ छ । यद्यपि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु वैदेशिक रोजगारमा रहेका विसंगतिको रोकथाम आफूहरुको पहिलो प्राथमिकता रहेको दाबी गर्छन् ।

झरीको च्याउ झैं खुलेका म्यानपावर र पछिल्लो समय शैक्षिक परामर्श केन्द्र भनेर दर्ता भएका कन्सलटेन्सीहरु नै यस्ता ठगीमा संलग्न हुने गरेका छन् । रोजगारका लागि जान चाहने हुन् वा अध्ययनका लागि उनीहरुलाई सेवा, सुविधासहित आकर्षक पारिश्रमिक र अवसरको प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बर्सेनि त्यस्तो प्रलोभनमा परेर करोडौं रुपैयाँ ठगी हुँदै आएको प्रहरीको भनाइ छ । प्रहरीमा उजुरी आएका भन्दा पनि बढी मानिस ठगीमा परेको हुनसक्ने जानकारहरुको ठहर छ ।

वैदेशिक रोजगारीका नाममा भएका ठगी भएकाहरुको मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ । उसले दिएको निर्देशन अनुसार मात्रै प्रहरीले आरोपीलाई पक्राउ गर्न सक्ने कानूनी प्रबन्ध छ । देशमा रोजगारीको अवसर नभएर परिवार पाल्नकै लागि जोखिम मोलेरै भए पनि विदेश जानुपर्ने बाध्यताका बीच बढेको यस्तो ठगी न्यूनीकरण गर्ने दायित्व सरकारको हो । म्यानपावर होस् वा कन्सलटेन्सी तिनलाई स्वीकृति दिएर मात्र हुँदैन । तिनको अनुगमन र नियमन गर्ने काम सरकारको हो । त्यसैगरी कुनै व्यक्तिले भनेकै भरमा उसको आधिकारिकता, कार्यक्षेत्र बारेमा विश्वस्त नभई रकम दिनु पनि गलत हुन्छ । त्यसैले रोजगारीमा होस् कि अध्ययनका लागि पठाउने व्यक्ति वा संस्था र जाने देश वा कार्यक्षेत्र त्यसको सम्पूर्ण जानकारी प्राप्त नगरी कसैको प्रलोभनमा पर्नु हुँदैन । अन्यथा ठग्ने र ठगिने क्रमको अन्त्य होइन न्यूनीकरण नै सम्भव छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here