अर्जुनधारामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगतको शिविर शुरु

0
11

अर्जुनधारा ।

झापाको अर्जुनधारामा मंगलबारदेखि अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचय पत्र वितरण शिविर शुरु भएको छ ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशनको त्रिपक्षीय लागत र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्र्तगत अर्जुनधारा नगरपालिकाको आयोजनामा उक्त शिविर शुरु भएको हो ।

शिविरमा मेडिकल अधिकृत, अप्थाल्मोलोजिष्ट÷अप्थाल्मो टेक्निसियन(आँखा जाँच गर्ने), अडियोलोजिष्ट/अडियोमेट्रस्ट (कान जाँच गर्ने), फिजियोथेरापिस्ट, क्लिनिकल साइकोलोजिस्टलगायतका प्राविधिकहरुमार्फत् स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताहरुको पहिचानसमेत गर्ने व्यवस्था रहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन निर्देशिका–२०७६ बमोजिम सञ्चालन भएको उक्त कार्यक्रममार्फत् शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुसार स्वास्थ्योपचार, सहायक सामग्री, शिक्षा, जिविकोपार्जन, सामाजिकीकरण र सशक्तिकरणका क्षेत्रमा स्थानीय तहहरुले सहयोग गर्ने छन् ।

अर्जुनधारा–७ नं. वडा कार्यालयको प्राङ्गणमा नगर उपप्रमुख एवम् अपाङ्गता नगर समन्वय समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त शिविरको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सबै ११ वटा वडामा सञ्चालन हुने शिविर आगामी पुस ८ गतेसम्म सञ्चालन हुने नगर महिला तथा बालबालिका शाखाकी प्रमुख सूर्यमाला लिम्बूले जानकारी दिइन् । राष्ट्रिय जनगणना २०७८को तथ्याङ्क अनुसार दुई हजार एक सय १६ जना अपाङ्गता भएका व्यक्ति रहेको अर्जुनधारामा शिविर अघि सबै वडामध्ये अर्जुनधारा–७मा सबैभन्दा कम ८० जना र अर्जुनधारा–११मा सबैभन्दा बढी दुई सय १७ जना रहेको बताइएको छ ।

गत आर्थिक वर्ष ०८०/०८१को असार तेस्रो सातामा सम्झौता भई चालु आर्थिक वर्ष ०८१÷०८२बाट सञ्चालन भएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि एक करोड नौ लाख रुपैयाँ बजेट विनियोजन भएको शाखा प्रमुख लिम्बूले जानकारी दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले शिविरको औचित्य प्रस्तुत तथा वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख लिम्बूले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here