मानव अधिकारको रक्षा गर

0
6

हरेक वर्ष डिसेम्बर १० का दिन विश्वभर मानवअधिकार दिवस मनाइन्छ । मानवीय मूल्य–मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षण प्रतिको प्रतिबद्धता, दिगो शान्ति र विकासको आधार स्तम्भ रहेको भन्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ को १० डिसेम्बरका दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । त्यही दिनको सम्झनामा प्रत्येक वर्ष आजका दिन विश्वभर मानव अधिकार दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको सदस्य भएका कारण नेपालमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाउने गरिएको हो ।

मानव अधिकार एउटा मानिसको जन्म भएपछि पाउने अधिकार हो । जन्मसिद्ध अधिकार भनिने यसभित्र सम्मानित जीवनका लागि आवश्यकपर्ने सम्पूर्ण आधारभूत आवश्यकताहरु पर्दछन् । विश्वका सम्पूर्ण मानिस सुरक्षाको प्रत्याभूति गरुन्, भेदभावरहीन र स्वतन्त्रतापूर्ण जीवन बाँच्न पाउन् भन्ने उद्देश्यले मनाइने यो दिवसको सार सबैले स्वास्थ्य, शिक्षा, आर्थिक तथा सामाजिक अधिकार समानताका आधारमा पाउन् भन्ने हो । नेपालको संविधानले पनि विश्वव्यापी मान्यता र मानव अधिकार सम्बन्धी घोषणापत्रमा सहमति जनाएको छ । त्यसकै आधारमा नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई अंगिकार गरेको छ ।

मानव अधिकार दिवसकै पूर्व सन्ध्यामा नेपालमा मानव अधिकारको उल्लंघन भएको घटना सार्वजनिक भएको छ । झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका देशको चौथो ठूलो दलका सभापति रवि लामिछानेमाथि प्रहरीले मानसिक तथा शारीरिक यातना दिएको घटना सार्वजनिक भएको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री समेत रहेका उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्र्दैछ । सहकारी ठगी बाहेक संगठित अपराधको कसुरमा समेत अनुसन्धानमा राखिएका उनलाई चितवनबाट मध्यरातमा गाडीमा राखेर पोखरा लगिनु उनको अधिकार हनन् भएको टिप्पणी भइरहेको छ ।

संसद नै अवरुद्ध गरेर गठन गरिएको छानविन समितिले लामिछानेले सहकारीबाट ऋण लिएको फेला नपरेको प्रतिवेदन बुझाएको थियो । त्यस्तोमा गोर्खा मिडियामा सहकारीबाट रकम प्रवाह भएको आरोपमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसयता निरन्तर प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका नेता एवम् सांसद ज्ञानेन्द्र शाही, कास्की प्रहरी कार्यालय पुगेर भेट गरेका थिए । भेटपछि दुबै नेताले पूर्व गृहमन्त्रीलाई प्रहरी हिरासतमा राखेर दुःख दिएको बताएका थिए । लामिछानेलाई जिल्ला घुमाएर मानव अधिकार समेत उल्लंघन गरेको उनीहरुको टिप्पणी थियो । मानव अधिकार दिवसकै मुखमा प्रहरीले गरेको ज्यादती सत्तारुढ दलकै निर्देशनमा भएको आरोप लाग्न थालेको समय रास्वपा र लामिछाने परिवारले मावन अधिकार आयोगमा उजुरी दिएका छन् । विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर गरेको राष्ट्रले कसैको पनि अधिकारमा बन्देज लगाउन पाउँदैन । सबैको मानवअधिकारको प्रत्याभूत हुनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here