बिराटनगर,
मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ ।
मंगलबार रंगेली नगरपालिका-८ दर्वेशा कि ६५ बर्षीया ज्योति देवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा नेपाली रुपैंया ४७ लाख ४९ हजार बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा छापा हानेको थियो । इन्स्पेक्टर खड्का अनुसार १ तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो । व्यक्तिको घरमा ठूलो मात्रामा स्रोत नखुलेको रकम भेटिएको उनले बताए ।
प्रहरीले १ हजार र ५ सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ । उक्त रकम वरामद भए संगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।