पठन संस्कृति घुर्ता ल्याउने उपन्यास ‘याङरुप’

0
2

धेरै समयको अन्तरापछि एउटा उपन्यास जसले पाठकको दिल छियाछिया परिदिन्छ, प्रकाशित भएको छ । त्यो उपन्यास हो उपन्यासकार ज्ञानु बुढाथोकीको सिर्जना ‘याङ्रुप’ उपन्यास । ‘याङ्रुप’ धेरै पूर्वेलीहरुले सुनिरहेको ठाउँको नाम हो । पुरानो विशेषता झल्कने नाम ‘याङ्रुप’ को ‘प’ अक्षरको भित्रपट्टि सिलाम साक्माको चित्र अंकित छ । यसैबाट पनि उपन्यासको स्थानीयता, सांस्कृतिक पक्ष र विशेषता झल्कन्छ ।

प्रायशः उपन्यास प्रेम कथा कै सेरोफेरामा लेखिएका हुन्छन् । यस उपन्यासमा पनि प्रेम कथा नै बुनिएका छन् । जब उपन्यास पढ्न शुरु गरिन्छ नि नसकि त पुस्तक बन्द गर्न मन मान्दैन । प्रेम कथाभित्र मिठास पनि त्यतिकै छन् र उताव चढाव अनि मिलन बिछोडका मन छुने तरंग र रोमाञ्चकता पनि उत्तिकै छन् । उपन्यासको नाम नेपालको पूर्वी पहाडी भेगको नामबाट राखिएको छ । उपन्यासका पात्रहरुका लवजमा स्थानीयताका मिठास झल्किन्छन् । पूर्वी पहाडमा हामी जाँदा जुन लवज सुन्छौँ, हो ठ्याक्कै त्यही लवजहरु यस उपन्यासमा पढ्न पाइन्छन् । पाठक वर्गले उपन्यास पढ्दै गर्दा त्यहीँ गाउँघरमा पुगेको महशुस गर्दछन् । यो उपन्यास याङ्रुप क्षेत्रको परिवेश समेटिएको सामाजिक उपन्यास हो ।

उपन्यासकार बुढाथोकीले सिलाम साक्मालाई सम्मान गरेर उपन्यासको नाममा अंकित गर्नु मामुली कुरा होइन । यस्तो भावना त मनैभित्रबाट मात्र आउँछ । यो त नेपालमा सबै जातजाति हार्दिकतापूर्वक मिलेर बसेको ज्वलन्त उदाहरण हो । जसलाई जस्तै कुराले पनि बिथोल्न सक्दैन र सकेन पनि । जाति फरक होलान् तर सबैको भूगोल, आकाश, घाम जुन, तारा, हावा, बादल, पानी, आवश्यकता, जीउने माध्यम, सोच्ने शैली, सपना र आकांक्षा र बाँच्ने शैली एकै छन् । बरु जातिको नाम पो कसले छुट्टाछुट्टै राखिदियो । प्रश्न यो पो छ । नेपालीहरुबीचको एकता खोज्न नेपालको पूर्वी पहाडमा आउनु भन्न सकिन्छ । उपन्यासले बुनेका र व्यक्त गरेका कथाको आकर्षण अर्कै हुन्छ । तर, स्थानीयतासँग जोडिएर त्यहीँको बोलीचाली, माटो र भिरपाखासँग धसिएर लेखिएको उपन्यास पढ्नुको मजा नै अर्कै हुन्छ । हो त्यही स्वाद यस उपन्यासमा पाइन्छ ।

यो पंक्तिकार यस उपन्यासको कथानकको रहस्य खोल्दैन, किनकि पाठक वर्गको ध्यान नमोडियोस् या खल्लो नलागोस् या आधाउधी पढेर नछाडियोस् । यस कुरामा पंक्तिकार सचेत छ । किनकि यो उपन्यास पढ्नै पर्छ । धेरै पहिला जब मनोरञ्जनका विविध माध्यम हँुदैन थिए, त्यस जमानामा हामी उपन्यासै उपन्यास पढ्दथ्यौँ । प्रकाश कोविद, सुवास, प्रेम चन्द, पारिजात, जय धमला, युधिर थापा अनि अरु धेरैका उपन्यास यसरी पढिन्थ्यो कि हजार काम अलपत्रै पर्दथ्यो । यो याङ्रुप उपन्यास ती उपन्यासहरु भन्दा पनि मिठो छ । यो उपन्यास पढन थालेपछि भोक तिर्खा, निद्रा र काम सबै अलपत्रै पर्दछन् । भन्नुको मतलब उपन्यास भनेको यस्तो पो हुनु पर्छ । हजार काम छाडेर पढ्न मन लागोस् । उपन्यासका अक्षर र कथाहरुले पाठकलाई किताबमा घोप्ट्याइराखोस् । यो उपन्यासले त्यसै गर्छ । कथा भन्ने शैली यस्तो हुनुपर्छ कि याङ्रुप उपन्यासमा जस्तो ।

याङ्रुप नाम भए जस्तै उपन्यास स्थानीयतामै शुरु हुन्छ, हुर्कन्छ र ठूलो हुन्छ । साथै उपन्यासले पहाडी गाउँ, ठाउँ, हाटबजारदेखि शहर र राजधानी शहरसम्मैको यात्रा गराउँदछ । देश विदेश पु¥याउँछ । यस क्रममा पात्रहरुले भोगेका मिठा, खुशी, सुखका कल्पना र तिता, टर्रा, दुःख, हण्डरहरुका वृतान्तहरुले पाठकवर्गको मनमा आँधीहुरी श्रृजना गर्दछ । पाठक आफै पात्र हुन पुग्छन् र आफै पीडाहरुमा छट्पटाउँदछन् । पाठकवर्ग आफैले नै प्रेमको मिठास, मिलन बिछोडको अनुभूति संगाल्न पुग्दछन् । तात्पर्य के हो भने अक्षर या किताबबाट टाढा हुँदै गएको आजको परिस्थितिबीच यो याङ्रुप उपन्यासले पठन संस्कृति घुर्ता या फिर्ता ल्याउन सफल भएको छ । डिजिटल या भर्चुअल दुनियाबाट किताबी दुनियामा फर्काउन सफल छ । यस उपन्यासको खास गुण यो पनि हो । अब लागौँ उपन्यासकार आफैका भनाइतिर ।

‘यो उपन्यास किन लेखेँ’ शिर्षकमा उपन्यासकार यस्तो लेख्दछन्ः क्यान्सरको बाइपङ्खी घोडा चढेर काल मलाई लिन आउने भयो । साँच्चै भन्नुपर्दा मसँग बाँच्ने कुनै उपाय बाँकी थिएन । उता काल आधा बाटो आइसकेको थियो, यता मैले आफू सुतिरहेको ओछ्यानमा सिरानीलाई सुताएर ब्ल्याङ्केट ओडाइदिएँ । आफू भने कथा लेख्न लेखकको अनुहार लगाइटोपलेँ । काल आयो नजिकै पनि तर मलाई नचिनेर अल्मलियो जुन आजसम्म पनि झुक्किरहेकै छ । मैले मेरो बाल्यकाल बडो दुःख र अभावमा गुजारेँ । विभिन्न कारण म दुःख र अभावका आगोमा पिल्सिए पनि त्यो समाजमा थिए कयौँ दिलचस्प पात्रहरु र ती पात्रभित्र अनेकौँ कथा र किस्साहरु । ती पात्र र कथाहरुका केही अंश बाँकी थिए मसँग र म चाहन्थेँ कि म मरे पनि ती जादु जस्तै लाग्ने कथा र पात्रहरु कहिल्यै नमरुन् ।

कृतिकारले भनेजस्तै उनको उपन्यासभित्र जादु जस्तै लाग्ने कथा र पात्रहरु छन् । बाल्यकालमा दुःख र अभावमा हुर्कनु परेका र वर्तमानमा क्यान्सरसँग लडिरहनु परेका पीडा बोकेका उपन्यासकारले साँच्चै मानिसमात्रले कतिसम्मको जीवन भोग्नु पर्छ भन्ने कथा लेखेका छन् । आफू अढाईवर्षको काखेनानी हुँदा बाबु खस्नु र छ वर्षको बालखैमा समाजका कारण आफूलाई छाडेर आमा अर्कै गुँडमा जानु जस्तो जीवन गुज्राईको नालीबेली अक्षरमा यसरी उतारिएका छन् कि मानौ कुनै कथानक चलचित्र एकटकसँग हेरिरहेको भान हुन्छ ।

पुस्तकहरु मानिसहरुमा सकारात्मक सन्देश दिन नै लेखिन्छ । यो उपन्यासले पनि सकारात्मकता प्रवाह गर्दछ । उपन्यासकार अगाडि लेख्छन्ः जब क्यान्सरले मलाई जीवनमरणको दोसाँधमा उभ्यायो तब मेरा अघिपछि र दायाँ–बायाँ खडा भए मेरा साथीहरु । म भन्दा धेरै उनीहरु मसँग भएको क्यान्सरसँग लडे । आफ्नै गाँस काटेर मेरो उपचारका लागि आर्थिक सहयोग पनि जुटाए । अहिले मैले फेरिरहेको सास र बाँचिरहेको जीवन साथीहरुको ऋण हो । आहा कति महान साथीहरु ? उपन्यासले दिएको यो सन्देश महान र अमर छ । उनी फेरि लेख्छन्ः अन्तिम क्षणमा आएर मलाई याङ्रुपभित्र चिहाउने एउटा आँखिझ्याल तयार गर्नु थियो, फलस्वरुप यो उपन्यासको जन्म भयो । अब भनिरहनु परेन यो उपन्यास कसरी जन्म्यो ?

यस उपन्यासका पात्रहरुका केही सम्वाद पढौँ र पूर्वी पहाडी लवजको स्वाद लिऔँ । कतिबेर हिन्ने अरे ठूलीहरु ? अब हिन्ने बेला भा’को दिदी । ए बेला भै पो गा’को हिन्नलाई ? कति छिटो त्याडी गरेछन् ? हओ ठुलाउ त निको भ’र गाउँ डुल्न पो थालेछन् भनेको त होइन पो र’छ । अब दाजु किन एति छिट्टै अक्कास रोज्यौ, दिदीको मुन साँघुरो थियो र ? एक्लै दोक्लै हिन्न पुनि समस्ये पर्ला जस्तो छ । वाह कति मिठो लवजहरु । पनि लाई पुनि या पिनि, मनलाई मुन, मोहीलाई मोइ, काँइली आमालाई काँइल्यामा, त्यहाँ लाई त्ञाँ । गाउँमा जस्तो बोली बालिन्छ, ठ्याक्कै त्यस्तै छापिएका छन् उपन्यासमा पनि । उक्ति, उखान, टुक्का जोडर बोलेका प्रसंगहरु पढ्दा साह्रै आनन्द आउँछ । उखान टुक्कासँग अर्थ मिलाएर बोलेका सम्वादहरु सम्प्रेषण युक्त हुन्छन् ।

उपन्यासमा पात्रहरुका जीवनमा यस्ता मोडहरु र दर्दनाक अवस्था पनि आइपर्छ कि, प्रेम सम्बन्ध झाँगिरहेको अवस्थामा प्रेमिकाले पे्रमीलाई विहेको निम्तो पो पठाउँछिन् । एउटी पात्रको मनमा के बित्यो होला जसको श्रीमानको यौनाङ्ग नै ज्यान बाँच्नका लागि अपरेशनका क्रममा काटेर फाल्नु पर्छ । एकजोडीको प्रेम असफलतामा सकिन्छ । अर्का जोडीको कथा पनि कम्ति चाखलाग्दो छैन । बालखकालमा उनीहरु संयोगबश भेट भएका हुन्छन् र बालखकालमा भेटिएकी तिनै उनी, प्रौढकालमा प्रेमीको ठूलो अपरेसनपछि टुप्लुक्क आइपुग्छिन् । प्रेमका यस्ता रोचकपलहरु यस उपन्यासैभरी पाइन्छन् ।

उपन्यासका पात्रहरुका बालपनदेखि युवा, जवानी, यौन, प्रौढ र ज्येष्ठ अवस्थासम्मका जीवन कथा र प्रेम कथाहरु छन् । अनि छन् समाजमा हुने भर, अभर, एकअर्कामा सरसहयोग, सहानुभूति, अतिबुद्र्धि, चाडवाड, रमाईला क्षण, प्रेम, माया पिरती, दुःखबिमार, मरौ परौ, पीडा, दर्दहरु यावत कुराहरु यस उपन्यासमा समेटिएका छन् । यो उपन्यासले नेपालको पूर्वी पहाडी गाउँको चित्रण गर्दछ । त्यहाँको एकता, सद्भाव, हार्दिकता र सुन्दर प्रणाली सुनाउँछ । उपन्यासमा झापाका केही स्कुल र ठाउँका प्रसंग पनि आउँछन् । उपन्यासमा पात्रहरु बीचका सम्वाद निकै मिठासयुक्त छन् । यो उपन्यास त नेपालको पूर्वीभेगको जनजीवनको इकोसिस्टम हो ।

उपन्यासमा पात्रले गरेका क्यान्सरसँगका लडाइँ, उपचारक्रमका दुःख र आशाका कथा, खर्चका कथा, अस्पताल बसाईका दृष्यहरु, चिकित्सकका भनाइ र सेवा, नर्सहरुले गरेका सेवाका नालिबेली छन् । अनि छन् अरु धेरै–धेरै कुरा । खासमा यो उपन्यास पठन संस्कृति घुर्ता ल्याउने, विगतका सुन्दर संस्कृति फिर्ता ल्याउने कम्प्लेट उपन्यास हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here