दुःख भन्नाले शारीरिक वा मानसिक पीडा, दुख, कष्ट, व्यथा आदिलाई जनाउँछ । मानिस जानेर वा नजानेर दुःखको भँुमरीमा पर्छ । आफूले जानेर वा नजानी आफैँ दुःखको भुँमरीमा फस्नु र अर्काले जालसाँज गरेर फसाउनुमा निश्चय पनि आकासपातालको फरक पर्छ । आफैँले जानेर वा नजानी आफैँ दुःखको भुमरीमा फस्नुको छुट्टै मज्जा हुँदो हो । त्यसबाट उसले आत्मिक ज्ञान प्राप्त गर्दछ । अन्तरहृदयदेखि नै उसले आफूलाई सच्याउने मौका पाउँछ । उसले आफूलाई हाँसी–खुशी सच्याउँदै अगाडि बढाउँछ । त्यहाँ उसले आफूले गरेको गल्ती सहजै ठम्याउँन पनि सक्छ । अरूले दिएको दुःखमा यस्तो नहुन पनि सक्छ । मानिसले आफूले नजानेर नै बढी दुःख पाउँछ । यो मेरो मानिस किन दुःखी बन्छ ? भन्ने कुराको निश्कर्ष हो । यति हुँदाहुँदै पनि मानिस आफ्नै कारणले मात्र दुःखी हुँदैन । परपीडकका कारण पनि मानिसले नानाथरिका दुःख, कष्ट झेल्नु पर्छ । म नै यस्ता परपिडकहरूको पटक–पटक शिकार भएको छु ।
हाम्रो वरिपरि अर्काको उछितो काढ्ने यस्ता परपिडकहरूको हामी जहाँ गए पनि खाँचो हुँदैन । परपिडकहरू अर्कालाई दुःख दिनमा नै आनन्द मान्दछन् । सायद अर्काले दिएको दुःखले ज्यादै घोच्ने भएकोले पनि होला । इमान्दार मानिसको इज्जतमा दाग लगाउन खोज्ने पनि यस्तै मानिसले नै हो । अर्काको इज्जत फाल्दा आफ्नो इज्जत रहेको ठान्नेहरू मान्छे हुन् जस्तो मलाई लाग्दैन । पहिले पनि लाग्दैनथ्यो । अहिले पनि लाग्दैन । मान्छे त त्यो हो जसले अर्काको र आफ्नो इज्जतलाई बराबर ठान्छ । यस्तो मानिस काँ पाउनु ! जो आफूदेखि बाहेक अर्को कोही हुँदोरहेनछ ।
आजको मानिस त यति धेरै धारिलो बन्दै गयो जो अरूलाई मात्र रेट्छ । अरूको शरीर पनि आफ्नै शरीर हो । अरूको मन पनि आफ्नै मन हो । अरूको दुःख पनि आफ्नै दुःख हो । यस्तो ठान्ने मान्छे काँ पाउँनु ! सुख लिन खोज्छ मान्छे तर दुःख लिन मान्दैन । यस्तो मान्छे काँ पाउनु जसले आफ्नो ठाउँमा अरूलाई पनि राखेर हेरोस र अरूको ठाउँमा आफूलाई पनि राखेर हेरोस । को बन्ने अचानो । सबै खुकुरी बन्न चाहने मात्र छन् । अचानो बन्ने त अचानो मात्र रहेछ । मलाई यो कुरा पनि आफैँ पटक–पटक अचानो बन्दा मात्र थाहा भयो ।
म ठान्थेँ । मानिस सबै एकै हो । सबैको रगत रातै हुन्छ, तर होइन रहेछ । कसैको रगत त कालो पनि हुँदोरहेछ । कालो रगत हुनेहरूको मन पनि कालै हुँदोरहेछ । सबैको मन एउटै हुँदैन । त्यसै भनिएको होइन रहेछ । शत्रुता साँध्नेहरूसँगको खुकुरी वा कर्दभन्दा प्रसंशा गर्नेहरूसँगको छुरा ज्यादा डर लाग्दो हुँदो रहेछ । म कर्द, खुकुरी र छुरा यी तीनैले पटक–पटक रेटिएको मान्छे मलाई ठूला हतियारभन्दा पनि साना हतियारदेखि बढी डर लाग्छ । ठूलो हतियार त परैबाट देख्न सकिन्छ । सानो हतियार त भित्र काँ हुन्छ काँ । यसले त थाहै नपाइ रेट्दो रहेछ । पराइसँग खुकुरी भए पनि आफन्तसँग छुरा हुँदो रहेछ । मलाई यो कुरा बुझ्न पनि आफन्त कै हातबाट रेटिनु प¥यो । म यसरी पनि पटक–पटक रेटिएको छु । मलाई खसाएर आफू ठूलो बन्न चाहनेहरू मेरा वरिपरि धेरै छन् । किन होला मलाई अरूलाई खसालेर आफू ठूलो बनौँ भन्ने चाहना किमार्थ भएन । यसरी आफू सिँढी चढिन्छ जस्तो पनि मलाई कहिल्यै लागेन । मैले बाटामा कहिल्यै काँडा ओछ्याइँन ।
मलाई यसो गर्न पनि कहिल्यै आएन । चाहेको भए सायद मलाई पनि आउँथ्यो होला पासो थाप्न । मलाई अर्कालाई दुःख दिएर हाँस्न त के अर्काको दुःखमा साथ नदिन पनि कहिल्यै मन लागेन । भलै मैले भने जति सरसहयोग गर्न सकिन होला । बिडम्बना अहिले मेरै दुःखमा रमाउनेहरू धेरै छन् । यस्तो त मैले सोच्दै–नसोचेको कुरा हो । जे नसोचेको त्यही हुँदो रहेछ । जिन्दगीको यथार्थ भनेको यो पनि त रहेछ । न कसैलाई खिसिटेउडी नै गर्न आयो । न कसैलाई घोचपेच गरेर भन्न नै आयो । अन्जानमा कसैलाई भनि बिझाइयो वा गरि बिझाइयो भनेपनि थाहा भइसकेपछि भरे आफैँलाई कति पिर लाग्छ ।
मैले किन उसलाई त्यसो गरेँ वा भनेँ भनेर पश्चातापले मन कति कुटु–कुटु खान्छ । रातभरि पेट पोलेर निद्रा नलागेको पनि छ । जानि–जानि अर्कालाई दुःख दिनेहरूको मन अर्कालाई दुःख दिएर कसरी खुशी हुँदो हो ! जीवनमा मलाई आश्चर्य लागेको एउटा कुरा यो पनि हो । साँच्चै मानिस अर्काको दुःखमा किन हाँस्छ ! अर्कालाई रेट्नमा किन रमाउँछ ! मेरो आग्रह छ । अर्काको दुःखमा रुन सकिँदैन भने पनि हाँस्न नसिकौँ भन्ने हो । त्यो आफ्नो वैरी नै किन नहोस् । मानिसको मनमा यसले काँडाले भन्दा बढी घोच्छ ।
दुःख त मानिसको जीवनमा धेरथोर आफैँमा छ । किन एकअर्कामा चिथोराचिथोर गर्ने । दुःख–सुख जे भएपनि एकअर्कामा बाडेर लिउँ । हाँसी–खुशी जिउँ । आफू पनि बाचौँ र अरूहरूलाई पनि बचाऔँ । हामीभित्रै छ दुःख । हामीभित्रै छ सुख । एउटासँग दुःख भए अर्कोसँग सुख छ । मानव सेवा धर्म मात्र पनि होइन, कर्तव्य पनि हो । अरूलाई सुख दियौँ भने आफूलाई पनि सुख मिल्न सक्छ, तर अरूलाई दुःख दिएर आफूलाई सुख किमार्थ मिल्दैन । अरूलाई पीडा दिएर आफ्नो पीडा कम हुँदैन बरू झन् बढ्छ । अरूलाई दुःख दिने मान्छेले उन्नतिको शिखर चुमेको मैले देखेको छैन ।
अर्काको खान मैले कहिल्यै मुख तिखारिन । यतापट्टि म जाँदै गइँन । यो मेरो लाइन पनि परेन । मलाई सारै दुःख लागेको कुरा के भने जो अर्काको विनासतर्फ लागे । अर्काको पनि उन्नति होस् भन्ने चाहना उनमा कहिल्यै पलाएन । जहाँ पहिरो जाँदैछ ती त्यहीँ ढुङ्गा लडाउन पुगे । तिनमा सद्वुद्धी कहिल्यै पलाएन । आफन्त होस वा पराई तिनले सही मान्छे र सत्यको पक्षमा उभिन कहिल्यै जानेनन् । कालोलाई कालो गोरोलाई गोरो भन्न सकिएन भने कसरी व्यक्तित्वको विकास हुन्छ । सन्तान, दर–सन्तानले अभिभावकबाट के सिक्नु । सधैँ मनमा रिस, डाहा, इष्र्या, स्वार्थ लोभलालच आदि जस्ता विकार पालेर परिवार, सन्तान, दर–सन्तान कहिले सभ्य बन्नु । असल शिक्षा प्रदान गर्दा त असल नतिजा निस्कन नसकेका कत्ति उदाहरणहरू छन् ।
आजको मानिस आफ्नै परिवार, आफ्ना आफन्त, छरछिमेक र समाजबाटै बढी प्रताडित हुन पुगेको छ । एकअर्कामा आत्मियता, सरसहयोग, माया–ममता, विश्वास, सद्भाव, आदरभाव जस्ता कुराहरू खट्किएका छन् । रिसराग, इष्र्या, डाह, स्वार्थ, अविश्वास, लोभलालचा, सानातिना कुराहरूमा मनमुटाव, कुविचार आदि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा बढेको छ । जुनसुकै वर्गको मानिसमा पनि यी कुराहरूले जरो गाडेर बसेको देखिन्छ । समयले मानिसलाई गाल्दै लगेको छ । सबै सुख–सयल, मजाक र मनोरञ्जनका पछि कुदेका छन् । यस्तै कारणहरूले गर्दा मन पिरो हुँदै गएको छ । अन्तरहृदयमा दुःखको माहामारी फैलिँदै गएको छ । अभाव दूवो जस्तै मौलाउँदै गइरहेको छ ।