रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद गरामनी-गोलधाप, बिर्तामोड -१० मा निर्माण हुने छत्रशाल सामुदायिक भवनको शिलान्यास गरिएको छ।
कृष्ण प्रणामी मन्दिर मंगलधाम, कालेङपोङ्गका गाधिपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यज महाराजले सत्सङ्ग सेवा परिषदको परिसरमा निर्माण हुने उक्त भवनको पूजासहित शिलान्यास गरेका हुन्।
कृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद बिर्तामोड -१० का संस्थापक अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक धनपति बरालको अध्यक्षता तथा गुरुजी १०८ मोहनप्रियाचार्यजी महाराजको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा सत्सङ्ग सेवा परिषद झापाका सदस्य तथा निर्माण समितिका सदस्य यमनाथ उप्रेतीले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहनप्रियचार्यजी महाराजले सबै क्षेत्रमा विद्यमान विकृति विसंगति अन्त गरि सुसंस्कृत समाजको निर्माण गर्न धार्मिक तथा आध्यात्मिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। उनले यसै महान् उद्देश्यका साथ बन्न लागेको सत्सङ्ग भवन निर्माणका लागि सबैले यथासक्य सहयोग गरि पुनित कार्यमा सहभागी हुन आग्रह गरे।
वि.सं. २०५४ सालमा स्थापना भएको सत्सङ्ग सेवा परिषदको साढे तीन कट्ठा क्षेत्रफलभित्र बन्न लागेको सामुदायिक भवनका लागि श्रद्धालु दाता तथा सरकारी निकायको सहयोग प्राप्त हुने प्रतिबद्धता अनुसार निर्माण कार्य अगाडी बढाइने भवन निर्माण समितिका संयोजक बरालले जानकारी दिए।
सोही अवसरमा भवन निर्माणकार्यका लागि दाताहरु मंगलधाम, कालेङपोङबाट ५१ हजार, पशुपति भट्टराई (धुलावारी), धनबहादुर बस्नेत(बिर्तामोड-३), जीवन सापकोटा (धुलाबारी) बाट २५/२५ हजार रुपैयाँ सहयोग प्राप्त भएको घोषणा गरिएको थियो।
कार्यक्रममा प्रणामी युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडा, कृष्ण प्रणामी बाइजुर समिति झापाका अध्यक्ष शान्ता उप्रेती मैनाली, कृष्ण प्रणामी मन्दिर धुलाबारीका अध्यक्ष जीवन सापकोटा, युवा परिषद कोशी प्रदेश निवर्तमान अध्यक्ष अनिल ढुंगाना, समाजसेवी दुर्गाप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
लिलाधर नेपालले गुरु बन्दना (कविता) प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार महेन्द्र पोखरेलले गरेका थिए।