नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछिको दोस्रो पटक एकै दिन सतहत्तरै जिल्लामा एकसाथ निर्वाचन सम्पन्न भएको हो । आफ्नो नेतृत्व आफै छान्ने अधिकार पाउन् र संस्थाप्रति अपनत्व होस् भन्ने उद्देश्यले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गरिएको छ । प्रत्यक्ष निर्वाचनबाट निर्वाचित नेतृत्वलाई आफ्ना सदस्यहरुप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थियो । प्रत्यक्ष निर्वाचन प्रणालीमा सदस्यता शुद्धीकरणको प्रतिबद्धता पनि थियो । त्यसै अनुसार महासंघको विधानमा कुनै पनि राजनीतिक दल तथा तिनका भ्रातृ संगठनको कुनै पनि तहको कार्यसमितिका पदाधिकारी तथा सदस्य रहेको व्यक्ति महासंघको सदस्य बन्न योग्य मानिने छैन– भनिएको पनि छ ।
विधान कुनै पनि संस्थाको मूल निर्देशिका हो । तर, त्यही विधानको अवज्ञा गर्दै कार्यसमितिले शुद्धीकरणको नाममा बखेडा झिक्यो । जसका कारण यसपटकको निर्वाचन पटक–पटक सार्दै लगियो, अन्ततः शुद्धीकरण योजना यथावत राख्दै यथास्थितिमै निर्वाचन तालिका प्रकाशन गरी शुक्रबार नेतृत्व चयनका लागि मतदान सम्पन्न भयो । श्रमजीवी पत्रकार र पत्रकारिताको कुरा गर्ने, अभिव्यक्ति स्वतन्त्रता, पेशागत सुरक्षा र ‘सेल्फ सेन्सरसिप’ कुरा गर्नेहरु नै महासंघको नेतृत्वमा पुग्न दलको आशिर्वाद लिने प्रवृत्ति नत्यागेसम्म विधानले भने जस्तो स्वच्छ, निष्पक्ष र स्वतन्त्र पत्रकारिता हुन सक्दैन । त्यसैले त्यस्तो प्रवृत्तिबिरुद्ध फेरि एक पटक संघर्ष गर्नुपर्ने अवस्था यस पटकको निर्वाचनले पनि देखाएको छ ।
पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । तर, महासंघमा जाने र दलीय आस्थाका आधारमा काम गर्ने प्रवृत्तिले आलोचना पनि भइरहेको छ । खासगरी श्रमजीवी पत्रकारहरुले श्रमजीवीको हित रक्षामा काम गर्नुको साटो नेतृत्व नै राजनीतिक दलको कार्यकर्ता हुने गरेको गुनासो गर्छन् । त्यसैले सबै पत्रकारले महासंघप्रति अपनत्व महशुस गर्ने अवस्था सिर्जना गर्न पनि यो निर्वाचन प्रणाली सफल हुनुपर्छ । निर्वाचन प्रणालीभित्रको यसपटकको निर्वाचनमा मतदाताले उम्मेदवार चिन्नै नपाउनु दुःखद् अवस्था रह्यो । सदस्यता विवादले हतार–हतार निर्वाचन कार्यक्रम ल्याउँदा उम्मेदवारको क्षमता जाँच्न पनि पाइएन । छोटो समयमा एकै दिन, एकैसाथ भएको निर्वाचनमा मतदाता अलमलमा परेको आंकलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ समाजको अग्रणी संगठन हो । त्यसैले यसको निर्वाचन निर्विवाद र उदाहरणीय हुनुपर्छ । स्वतन्त्रता, लोकतन्त्र र पेशागत निष्ठाको पर्याय बनिनुपर्ने महासंघले भागबन्डाको राजनीति गर्नु हुँदैन । पत्रकारले राजनीतिक आस्था राख्न पाउँछ, तर त्यही आस्थाका आधारमा महासंघलाई सञ्चालन गर्नु भूल हुनेछ । देश, जनता र राष्ट्रियताको पक्षमा रहनुपर्ने पत्रकारहरुले वर्गीय हितको रक्षाका लागि मर्यादित र निष्पक्ष पत्रकारिता गर्नुपर्छ । त्यसका लागि निर्वाचित जिल्लादेखि संघका नेतृत्व र पदाधिकारीहरुले विधानको अक्षरशः पालना गर्दै मर्यादित पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ ।