डोजाङ स्थापना भएको २५ वर्षपछि पहिलोपटक तेक्वान्दो प्रतियोगिता

0
5

अर्जुनधारा ।

डोजाङ स्थापना भएको २५ वर्षपछि झापाको अर्जुनधारा–६स्थित लक्ष्मीपुर तेक्वान्दो डोजाङले पहिलोपटक तेक्वान्दो प्रतियोगिता आयोजना गरेको छ ।

हाल डोजाङका प्रमुख प्रशिक्षक एवम् राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक स्थानीय जीतेन्द्र मेचेको मुख्य भूमिकामा २०५६ सालमा उक्त डोजाङको स्थापना भएको झापा जिल्ला तेक्वान्दो संघका सचिव एवम् डोजाङका प्रशिक्षक योगेन्द्र रिजालले बताए ।

स्थानीयस्तरमा तेक्वान्दो खेलको प्रबद्र्धन एवम् खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम लक्ष्मीपुर जिल्लास्तरिय खुला तेक्वान्दो प्रतियोगिता–२०८१को आयोजना गरिएको बताइएको छ ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा डोजाङका अध्यक्ष एवम् वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सोही कार्यक्रममा स्थानीय तीनपैनी क्षेत्रमा लक्ष्मीपुर तेक्वान्दो डोजाङलाई दुई कठ्ठा जमिन हस्तान्तरण गरिएको छ । प्रमुख तामाङले उद्घाटन गर्दै हस्तान्तरण गरिएको उक्त जमिनमा खेलाडीहरुको लागि आवश्यक कबर्ड हल निर्माण गर्ने लक्ष्य डोजाङको रहेको प्रशिक्षक रिजालले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य नरेन्द्रबहादुर राई, नगर सभा सदस्यद्व टुम्मनाथ काफ्ले र रमा निरौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी“प्रशान्त”, अर्जुनधारा खेलकुद विकास समितिका संयोजक सुरेन्द्र धिमाल, नेपाल तेक्वान्दो संघ केन्द्रीय प्राविधिक समितिका संयोजक टार्जन सुब्बा, संघ झापाका वरिष्ठ उपाध्यक्ष कुमार भट्टराईलगायतको सहभागिता रहेको थियो ।

संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाले स्वागत र विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक सुशिल ढुंगेलले गरेका थिए । यसैबीच प्रतियोगितमा पाँच स्वर्ण, दुई रजत र पाँच कास्य गरि जम्मा १२ वटा पदकसहित अर्जुनधारा–३स्थित खुदुनाबारी तेक्वान्दो डोजाङ प्रथम, चार स्वर्ण, चार रजत र चार कास्य गरि जम्मा १२ वटा पदकसहित अर्जुनधारा–४स्थित नवदुर्गा तेक्वान्दो डोजाङ द्वितीय र दुई स्वर्ण, एक रजत र चार कास्य गरि जम्मा सात वटा पदकसहित गौरीगञ्जस्थित शुभम तेक्वान्दो डोजाङ तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने डोजाङलाई नगद पुरस्कार क्रमश १० हजार, सात हजार र पाँच हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीय हुने डोजाङसहित विभिन्न तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई संघ झापाका अध्यक्ष सुब्बा, उपाध्यक्ष होमनाथ दुलाल, कोषाध्यक्ष विवेक गिरी, डोजाङका प्रमुख प्रशिक्षक मेचेलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

पुरुषतर्फ २५ केजी तलदेखि ५८ केजी तल र महिलातर्फ २५ केजी तलदेखि ५४ केजी तल तौल समूहमा खेलहरु सञ्चालन भएको प्रतियोगितामा झापा जिल्लाका १८ वटा डोजाङका २६५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here