झापाका उपप्रमुखको संयोजकमा भट्टराई

0
2

मेचीनगर ।

झापा जिल्लाका पालिका उपप्रमुख÷उपाध्यक्ष सञ्जालले कुनै पनि अनौपचारिक तथा औपचारिक कार्यक्रममा नगर प्रमुख उपप्रमुख वा अध्यक्ष तथा उपाध्यक्षमध्ये आफ्नो पालिकाको प्रतिनिधित्व गदैं एकजना सहभागी हुँदा उपयुक्त हुने निष्कर्श निकालेको छ ।

आईतवार झापाको विर्तामोडमा सम्पन्न उपप्रमुख/उपाध्यक्षहरूसँग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमको समीक्षा बैठकले कार्यक्रमको आवश्यकता र महत्व हेरेर दुवैजना उपस्थित हुन सक्ने समेत ठहर गरेको छ । झापाका सबै स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुबीच असल अभ्यास आदानप्रदानका लागि जिल्लास्तरीय बैठक सम्पन्न भएको हो ।

संवाद समूहको सहजिकरण तथा सहारा नेपाल र फियरमेडको सहकार्यमा सञ्चालित विश्वास परियोजनाको सहकार्यमा भएको कार्यक्रममा कुनै पनि पालिकामा उपप्रमुख तथा उपाध्यक्ष वा महिला जनप्रतिनिधिहरुमा कुनै पनि प्रकारको हस्तक्षेप, हिंसा भए सञ्जालले न्यायका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने, उपप्रमुख र उपाध्यक्षहरुसँग सम्बन्धित हरेक कार्यक्रमको नेतृत्व र अगुवाई आफैले गर्ने, झापाको मेचीनगर —४ स्थित आमडाँगीमा सञ्चालनमा रहेको मानवसेवा आश्रमको निर्माण तथा सञ्चालनमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्ने सवैप्रति धन्यवाद प्रस्ताव पारित गर्ने र झापाका हरेक पालिकाहरुसँग मानवसेवा आश्रम सञ्चालनका लागि हरेक वर्ष बजेट विनियोजनका लागि अनुरोध गर्नेलगायतका निर्णय भएको मेचीनगर नगरपालिका उपप्रमुख तथा सञ्जालका पूर्व संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

त्यस्तै झापाका सवै पालिकामा बिषादियुक्त सागसब्जी, र आयातित माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गर्नुपर्ने, उपभोक्ताको अधिकार रक्षा गदैं खाद्य गुणस्तर कायम गर्न तथा मूल्य नियन्त्रण गर्न बजार अनुगमन नियमित र प्रभावकारी बनाउनुपर्ने, जिल्लाभरि लागूऔषधको समस्या बढ्दो रहेको र त्यसको नियन्त्रणमा समेत सवै पालिका एकजुट भएर लाग्नुपर्ने, खुल्ला सीमाका कारण मुख्य चुनौतीको रुपमा रहेको लागूऔषधको नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरी कार्यालय तथा अन्य सरोकारवालासँग समन्वय गरेर कार्यमुलक तथा चेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बैठकले निष्कर्श निकालेको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले प्रमुख अतिथिका आसनबाट उद्घाटन गदैं जतिसुकै समानताको कुरा गरे पनि अपेक्षाअनुसार उपलब्धि नभएको बताउनुभयो । महिलाहरू देशका निक्कै उच्च ओहादामा पुगेको र आफ्नो जिम्मेवार बहन गरेको स्पष्ट पार्नुभयो । महिलाहरूलाई कठैबरा र विचरा नभनी अवसरमात्र दिए जस्तोसुकै जिम्मेवारी बहन गर्न सक्ने उपप्रमुख रोक्काले स्पष्ट पार्नुभयो ।

अब हरेक महिलाहरू एक ठाउँमा उभिएर महिलाहरुका प्रत्येक हक अधिकारप्राप्तिका लागि एक ठाउँमा उभिन उहाँले आग्रह गर्नुभयो । हरेक महिला अहिलेको प्रविधि भन्दा पनि एक कदम अघि रहेको उपप्रमुख रोक्काको भनाई थियो । ‘अहिले सूचना प्रविधिले सवैलाई धेरै नजिक पुर्याएको छ’ उहाँले भन्नुभयो –‘इमेलभन्दा पनि महिला धेरै अगाडि भएकाले महिलालाई फिमेल भनिएको हो ।’ समीक्षा बैठकको अध्यक्षता गदैँ झापाका उपप्रमुख ÷ उपाध्यक्षहरूको सञ्जाल संयोजक गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजा कुवंरले आफ्नो कार्यकालमा भए गरेका कामका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा सञ्जालका प्रथम संयोजक मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले झापाको मेचीनगर –४ स्थित आमडाँगीमा रहेको मानव सेवा आश्रमकालागि यो ‘फोरम’ले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । अहिले हरेक पालिकामा उपप्रमुख उपाध्यक्षहरूको नेतृत्वमा महिलालाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्नेमना उहाँले जोड दिनुभयो । झापा गाउँपालिका कार्यवहाक अध्यक्ष÷ उपाध्यक्ष अञ्जु थपलियाले हरेक पालिकामा कुनै न कुनै कुरामा महिला जनप्रतिनिधिहरूलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उहाँले पालिका उपप्रमुख उपाध्यक्ष तथा महिला कर्मचारीहरलाई आफूलाई कमजोर नठान्न आग्रह गर्नुभयो ।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले अहिले यो व्यवस्थाका वारेमा विभिन्न कोणबाट प्रहार भएको भन्दैँ अब यो व्यवस्थाको रक्षाका लागि फोरम अघि बढ्न आग्रह गर्नुभयो । अब उत्पादनमुखी वा उत्पादनका क्षेत्रमा लाग्न र जलवायू परिवर्तनको असरका बारेमा हरेक क्षेत्रलाई बुझाउदैँ त्यसतर्फ लाग्न समेत जोड दिनुभयो । बुद्ध शान्ति गाउँपालिकाका उपाध्क्ष भवानीेणप्रसाद खतिवडाले गाउँपालिकाले ६ महिनाको अबधिमा भए गरेका कामको जानकारी गराउनुभयो ।

विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कन्काई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी,अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गकुमारी पराजुली, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, कमल गाउँपालिका उपाध्क्ष प्रमिला तिवारी, हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवि मैनालीलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो । नगर तथा गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले आ—आफ्नो पालिकामा भइरहेका नमुना किसिमका काम कार्यक्रमहरुबारे एकापसमा चर्चा परिचर्चा गरेका थिए । यसखाले छलफलका माध्यमबाट उपप्रमुख तथा उपाध्यक्षहरुलाई आफ्नो अधिकार क्षेत्र र कर्तव्यका बिषयमा थप ज्ञान आर्जन भई स्थानीय सरकार सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रमहरुको जस पालिका प्रमुख÷अध्यक्षहरुलाई जाने भएकाले कुनै पनि कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि टिमका सवैको उत्तिकै योगदान हुने कुरा बुझाउन सक्नुपर्नेमा सहभागीहरुको जोड थियो । बैठकले आगामी समयका लागि कचनकवल पालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । नवनियुक्त संयोजक भट्टराईलाई खादा माला अविर पहिर्याएर बधाई ज्ञापन गरिएको थियो । त्यस्तै निवर्तमान संयोजक गौरीग्ञ्ज गाउँपालिका उपाध्यक्ष पूजन कुवंरले माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

सहारा नेपालका लीला शिवाकोटीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पादैं परियोजनाकाबारेमा स्पष्ट पार्नुभयो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गर्नुभएको थियो । सोहि कार्यक्रममा सहारा नेपाल र फियरमेडको सहकार्यमा सञ्चालित विश्वास परियोजनाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here