कियाचु बिर्तामोडले मनायो चासोक तङनाम उधौली

0
2

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

किरात याक्थुम चुम्लुङ्ग बिर्तामोडले चासोक तङ्नाम उधौली पर्व मनाएको छ। बिर्तामोडमा उधौली न्वागी पूजासहित विविध कार्यक्रमको आयोजना गरी लिम्बू समुदायको संस्था कियाचु बिर्तामोड नगर शाखाले उधौली पर्व येले तङ्बे ५०८४ मनाएको हो।

पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य तथा कियाचु बिर्तामोड शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनु जबेगूले स्वागत गरेका थिइन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख प्रसाईले जातीय एवम् मौलिक संस्कार-संस्कृति तथा पहिचानका रुपमा रहेका यस्ता पर्वोत्सवले हामीलाई तनावबाट मुक्त भई हर्षखुशीमा रमाउने अवसरसमेत प्रदान गर्ने भएकाले यिनको ठूलो महत्व रहने बताइन्। उनले अमूल्य सम्पति जातीय पहिचानको संरक्षणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै लक्ष्य प्राप्तिको शुभकामना समेत व्यक्त गरिन्।

कार्यक्रमका अध्यक्ष हिमालयप्रकाश कन्ङ्वाले हिउँदेवाली भित्र्याउने समयमा नयाँ उब्जनी आफूले भोग गर्नुअघि ईश्वरलाई अर्पण गर्ने विधान न्वागीपूजा गर्ने परम्परा प्रकृतिपूजक लिम्बू समुदायमा रहेको र त्यसलाई केही समय पहिलेदेखि सामूहिकरुमा मनाउने कार्यलाई निरन्तरता दिंदै आएको बताए। उनले उधौली पर्वको महत्वबारे प्रकाश पार्दै आगमी वर्षदेखि प्राकृतिक र खुल्लारुपमा अझ श्रद्धा एवम् मनोरञ्जनात्मक ढंगले बृहतरुपमा चासोक तङ्नाम मनाउने योजनामा रहेको जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाई, ककियाचु बिर्तामोड -५ का अध्यक्ष सिके बेघा, नगर सल्लाहकार योगचन्द्र आङबुहाङ, नगर सल्लाहकार तथा निवर्तमान राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जबेगू, नगर सल्लाहकार अम्बिर लिङदेनलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्ने दातालाई प्रशंसापत्र प्रदान गरिएको थियो। जसमा कियाचु वडा शाखाहरु बिर्तामोड -३, ४ र ५ तथा नारायणी ताप्मादेन राई(बिर्तामोड-४) र धनु कन्दङ्वा इङनाम (बिर्तामोड-१) रहेका थिए।

कार्यक्रममा जातीय भेषभूषासहित सांस्कृतिक नृत्य केलाङ च्याम्ब्रुङ,हाकपारे, धान नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा राष्ट्रिय कलाकार हिमाल लिम्बू र रिपना लिम्बू, र दिवस लिम्बूले गीत तथा पालम प्रस्तुत गरेका थिए भने सहभागीले सामूहिक नृत्य गरेर कार्यक्रमा रौनक बढाएका थिए।

कियाचु जिल्ला सचिव भीममाया नेम्बाङ कन्दङ्वा, जिल्ला सदस्य धर्म लक्सम्बा, आदिवासीजनजाति महासंघ समन्वय समिति बिर्तामोडका अध्यक्ष राजकुमार राजबंशी, किरात धर्म तथा साहित्य उत्थान संघ बिर्तामोडका उपाध्यक्ष गणेशमान कन्दङ्वा, सल्लाहकारहरु रिमानध्वज लोक्ताम, धनराज योङहाङ,मनबहादुर पाहिम,जगनध्वज वनेम, मेगेन्द्रराज लिङदेन लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर मादेनले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here