वाराणसी वा बेनारस वा बनारस वा काशी जे नाम दिए पनि भारतको उत्तर प्रदेश राज्यमा रहेको एक प्रसिद्ध तीर्थस्थल र शहरलाई बुझाउँछ । यो शहर गङ्गा नदीको किनारामा उभिएको छ । यो शहर मुख्यतः घाटहरूको सौन्दर्यको महमोहकतामा सुपरिचित छ । २०८१ सालको मंसिर २३ देखि २८ सम्म उपलब्ध पारिवारिक सदस्य सम्मिलित तीर्थयात्रा सम्पन्न गरी सात सदस्यीय टोली स्वदेश फर्केपछि उठेका केही संस्मरण र अनुभूति समेटेर यो आलेख तयार गरिएको छ । वाराणसी शहरको नाम वरूण र अस्सी दुई साना तर महŒवपूर्ण नदीको सन्धिको परिणाम रहेछ ।
हिन्दू, बौद्ध, इश्लाम र जैन धर्ममा विश्वास राख्नेका लागि बनारस एउटा पवित्र शहर हो । हिन्दू सनातनीहरू यो नगरलाई भगवान् शिव अर्थात् महादेवको नगरको रूपमा चित्रण गर्दारहेछन् । सनातन धर्मावलम्बीको मान्यता अनुसार यो नगर शाश्वत नगर हो । प्राचीन कालदेखि नै यो ठाउँको प्रसिद्धी महाशमशानका रूपमा अथवा मृत्यु अथवा अन्तिम संस्कारद्वारा मोक्ष प्राप्तिको स्थलको मान्यता दिने गरिएको रहेछ ।
प्रसिद्ध विश्वेश्वर रूपमा शिवका मन्दिर भएका कारणले पनि भारत लगायत नेपाल, बङ्गलादेश, भुटान, श्रीलंका आदि मुलुकबाट हिन्दू भक्तजन तथा दर्शनार्थी आउने गरेका छन् । पौराणिक कथा अनुसार सतीदेवीको मृत्युपश्चात् उनको शव लिएर व्याकुल र विक्षिप्त बनी दुःख र वेदनामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका विभिन्न ठाउँ भड्किँदै शिव हिँडेका थिए । यो दुःखबाट मुक्त गर्न भगवान् विष्णुले सतीदेवीको शवलाई आफ्नो सुदर्शन चक्रद्वारा टुक्रा–टुक्रामा विभक्त गरेका थिए । सतीको कर्णाभरणको मणि काशीमा झरेको थियोे, जहाँ हाल मणिकर्णिकाघाट रहेको भन्ने जनविश्वास छ ।
गङ्गाका किनारमा मुख्यतः ८४ घाट रहेका छन् । त्यसमध्ये दुई घाटलाई मात्रै महाश्मशान वा शव जलाउने गरिएको रहेछ । ती घाटहरू मणिकर्णिकाघाट र राजा हरिश्चन्द्र घाट हुन् । सत्यवादी राजा हरिश्चन्द्रले सत्य, करूणा, मानवताको पक्षमा उभिँदा हरिकङ्गाल भई जीवनयापनका लागि राजा हरिश्चन्द्रले यही घाटमा लास जलाउने पोडेको रूपमा मजदुरी गरेका थिए । राजा हरिश्चन्द्रले आफ्नो छोराको अन्तिम संस्कार गरेर आफूलाई घाटेलाई बेचेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक वाराणसी चुनाव क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित भएका रहेछन् ।
प्रधानमन्त्री मोदीले थप एक घाट नमो घाट बनाएका रहेछन् । आश्चर्यजनक कुरा के छ भने बनारसमा गङ्गा उत्तरतर्फ बहन्छ र यो शहर नदीको पश्चिम वा बायाँ किनारामा रहेको छ । वास्तवमा भन्ने हो भने गङ्गा नदीको किनार सुरम्य घाटहरूको लामो शृंखला हो । प्रतिदिन प्रातःकाल गङ्गा स्नान गर्न हजारौं भक्तजनको भीड़ लाग्छ भने प्रतिदिन सन्ध्याकाल गङ्गा–आरतीमा सामेल हुन र मोहनी दृश्य हेर्नका बिहानभन्दा बढी भिड लाग्दो रहेछ । विवाह भइसकेका फेरि बिहे गर्न काशीमा जाने गरेको पनि भेटियो ।
बनारस हिन्दू मात्र नभएर बौद्ध र जैनका लागि पनि पवित्र धार्मिक स्थल हो । एसियाका तारा मानिने नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्धले भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने बनारसको सारनाथमा आफ्ना पाँच चेलालाई पहिलो उपदेश दिएका थिए । त्यसकारण भारत मात्र होइन, नेपाल, भुटान, श्रीलंका, थाइल्यान्ड, कोरिया, कम्बोडिया, जापान, बर्मा लगायतका मुलुकबाट बौद्ध धर्मावलम्बीको ठूलो संख्या तीर्थयात्राका लागि सारनाथमा आउने रहेछन् । सारनाथ क्षेत्रमा प्रसिद्ध महावीरको मन्दिर रहेको छ । बनारसको सौन्दर्य र गरिमालाई हृदयमा सजाउन युरोप र अमेरिकाका धेरै पर्यटकहरू पनि बनारसमा देखिए । बनारस एक आधुनिकता र प्राचीनतासहितको एक भव्य मेट्रोपलिस रहेको अनुभूति भयो ।
बनारसमा गङ्गा नदी उत्तरतर्फ बहँदा एक अर्ध चन्द्राकार आकृति निर्माण भएको छ । हिन्दूहरू बनारसमा निधन हुनुलाई पवित्र मान्दछन् भने अन्तिम संस्कार बनारसको गङ्गा तटमा भए सिँधै स्वर्ग प्राप्ति हुने विश्वास छ । विगतमा नेपालका राजा–महाराजा, उच्च कुलघराना र राणा खान्दानका मानिस जीवनका अन्तिम दिन बनारसमा बिताउन चाहन्थे । बनारसका प्रमुख शमशान घाटमा प्रतिदिन दुई सयभन्दा बढी शव जलाउने गरिएको जानकारी पाइयो ।
बनारसका प्रमुख र प्रसिद्ध घाटहरूमा पञ्चगङ्गा घाट, मणिकर्णिका घाट, दशाश्वमेध घाट, राणा घाट, केदार घाट, नारद घाट, राजा हरिश्चन्द्र घाट, हनुमान घाट, शिवाला घाट, तुलसी घाट, अस्सी घाट, ललिता घाट आदि हुन् । बनारसका प्रमुख दर्शनीय स्थलमा आलमगीर मस्जिद, भारत मातामन्दिर बनारस, दुर्गा मन्दिर, गौरी माता मन्दिर, काल भैरव मन्दिर, नेपाली मन्दिर आदि हुन् । सारनाथ में धमेक स्तूप अर्को पवित्र स्थल हो । बुद्धले उपदेश दिनुलाई धर्मचक्र प्रवर्तन पनि भनिन्छ ।बनारसको सबैभन्दा महत्त्वपूर्ण ठाउँ काशी विश्वनाथ मन्दिर हो, जसलाई स्वर्ण मन्दिर पनि भनिन्छ ।
अन्य दर्शनीय स्थलमा काशी हिन्दू विश्वविद्यालय (बनारस हिन्दू यूनिवर्सिटी) हो, जहाँ एक सय २४ विभाग रहेका छन् । यहाँ भारत कला भवन रहेको छ, जो एक संग्रहालय हो, जसमा धेरै कलाकृति र पुराताŒिवक वस्तु रहेका छन् । यो विश्वविद्यालयको निर्माण पण्डित मदन मोहन मालवीयको नेतृत्वमा भारतीय स्वतन्त्रता सङ्घर्षका समयमा गरिएको थियोे । विश्वविद्यालय परिसरमा एक विशाल र सुन्दर शिव मन्दिर पनि रहेको छ । त्यसैगरी, बनारसमा चुनार किला, मान मन्दिर, रामनगर किल्ला आदि प्रसिद्ध ठाउँ पनि रहेका छन् । रामनगर फोर्ट गङ्गा नदीको पूर्वी तटमा अवस्थित छ, यो तुलसी घाटको ठीक सामुन्ने रहेको छ । बनारसका राजाले यो किल्ला सन् १७५० मा मुगल शैलीमा बनाएका थिए । यो किल्लालाई सङ्ग्रहालयको रूपमा भारत सरकारले १९७१ मा राष्ट्रियकरण गरेको थियोे ।
हाम्रो छ दिने यात्रा अभूतपूर्व र सुखद् रह्यो । एकातिर भारतीय जनताको गरिबी र अभावसँग साक्षात्कार भयो भने सँगसँगै आधुनिक भारत वैज्ञानिक तकनिकीसँगै विश्वमा आफ्नो गरिमालाई कायम राख्न सफल भएको बुझ्दा बडो गर्वको अनुभव भयो । हवाई सेवा, रेल सेवा लगायतका यातायातका क्षेत्रमा भारत धेरै अगाडि देखियो । बनारसलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्न भारत सरकारको ठूलो योगदान रहेको देखियो । रेल यात्राका क्रममा आफ्नो ट्रेन कहाँ आइपुग्यो, कहिले कहाँ यात्रा गरिँदैछ, कति दूरी पार गरियो, कति बाँकी छ, रेल कति वेगमा छ, कति वटा स्टेशन र जंक्सन पार गरियो र कुन–कुन बाँकी छन्, आफ्नो सिट संख्या कति हो लगायतका सम्पूर्ण सूचना दिने सफ्टवेयर तथा एप विकास गरिएको पाइयो, यसले यात्रालाई सहज बनाएको थियोे ।
एक सय ८० किलोमिटर प्रति घण्टा यात्रा गर्ने ‘बन्दे भारत एक्सप्रेस’, ‘तेजस एक्सप्रेस’ जस्ता ट्रेन नेपालमा भए कति राम्रो हुन्थ्यो भन्ने मनमा उठ्यो । मुलुकलाई रेलयुगमा प्रवेश गराउने भनी उद्घोष गर्ने आफ्नै मुलुकका प्रधानमन्त्रीलाई खिसिट्युरी गरेको र हावामा उडाएको पनि सम्झेँ । भारतीय जनताको अभाव, दुःख र मागेर खानुपर्ने अवस्था देख्दा भारतले यति भव्य प्रगति गर्दा पनि यो रोग, भोक र अभावसहितको विषमतालाई अन्त्य गर्न किन नसकेको होला ? यिनै प्रश्न मनमा उठे भने भारतको समकक्षमा उन्नति कहिले गर्न सक्ला नेपालले भनेर सोचमग्न बनायो । आधुनिकता र प्राचीनता, स्थानीयकरण र विश्वव्यापीकरणको सन्तुलन मिलाउन सकेमा प्रगति सम्भव छ । अनुशासन र स्वतन्त्रता, लोकतान्त्रीकरण र क्रान्तिकारीकरण, राष्ट्रवाद र अन्तर्राष्ट्रवादको सन्तुलित आयाम आजको आवश्यकता हो । बनारस यात्राले दिएको आनन्द त छँदैछ, तर मुख्य कुरा त ज्ञानको एक मुख्य स्रोत त यात्रा रहेछ भन्ने बुझाइ विकास भयो ।