काठमाडौं,
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरीले बैंकलाई व्यवसायिक रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् । बैंकको २१ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले सहकारी बैंकको खराब कर्जा धेरै भएका कारण सदस्यहरुलाई आवश्यकता अनुसार सुविधा दिन नसकेको बताए । सातै उनले आगामी दिनमा लाभांश भन्दा पनि सदस्यहरुलाई सुविधा दिनेमा जोड दिए ।
उनले भने, ‘बैंकको खराब कर्जा बढेर समस्या आएको छ । बेस रेट बढी भएका कारण पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । आन्तरिक व्यवस्थापन गरी सहकारी बैंकलाई व्यवसायिक रुपमा अघि बढाउँछौं ।’
त्यसैगरी उनले सहकारी बैंकलाई बचाउन सबैको साथको आववश्यकता रहेको बताए । बैंकका सदस्य, कर्मचारी र व्यवस्थापन टिम, सञ्चालक सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनई थियो । साथै उनले पुस मसान्तसम्म सदस्यहरुबाट सुझाव संकलन गरी बैंकको आगामी कार्यदिशा बनाउने बताए ।
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणी पोखरेलले लगनी प्रर्वद्धन नहुँदा बैंकमा तरलता थुप्रिएको बताए । यसका साथै उनले राष्ट्र बैंकले क्षेत्राधिकार भन्दा बाहिर गएर सहकारी बैंकमा हस्तक्षेप गरेको उनको आरोप छ । सहकारी र निजी क्षेत्रलाई एउटै नाङलोमा राख्दा सहकारीको मूल मर्म र सिद्धान्तमाथि खेलवाड भएको उनको भनाई छ ।
उनले भने, ‘अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रलाई राष्ट्र बैंकले हस्तक्षेप गर्दा अर्थतन्त्रको एउटा खम्बा ढल्छ । सहकारीका समस्या समाधान गर्न पर्याप्त कानुन छैन । संरचनात्मक सुधार नगरेसम्म सहकारी अभियान सफल हुँदैन ।’