अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे फुटबल क्लबको आयोजनामा आगामी माघ २० गतेदेखि २७ गते सम्म तेस्रो यू–१८ वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीयस्तरमा फुटबल खेलको प्रबद्र्धन एवम् खेलाडी उत्पादन गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि शुरु भएको उक्त प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरपालिका अन्र्तगत सबै ११ वडाका टिमको सहभागिता रहने क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष पेमा तामाङले जानकारी दिए । त्यसैगरी म्यान अफ दी टुर्नामेन्ट, म्यान अफ दी म्याच, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट कोचलगायतका विधामा पनि पुरस्कृत गरिने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ८५ हजार पाँच सय रुपैयाँ खर्च लाग्ने बताइएको छ । मुख्य प्रायोजक, सह प्रायोजक, अर्जुनधारा नगरपालिका, सबै वडा कार्यालय, विभिन्न संघ–संस्था र दाताहरुबाट सहयोग रकम जुटाइने कोषाध्यक्ष तामाङले बताए ।
त्यस्तै प्रतियोगिता सम्पन्न गर्न क्लबका सल्लाहकार सदस्य टेकराज तिलीङ लिम्बूलाई प्रतियोगिता मूल आयोजक समारोह समितिको संयोजक चयन गरेको सचिव गुरुङले बताए । सचिव गुरुङका अध्यक्षता र अर्जुनधारा–७का वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष तामाङले गरेका थिए ।