नेपाल जैविक विविधताले भरिपूर्ण देश हो । यही विविधताका कारण नेपाललाई समृद्ध देश भनिन्छ । यहाँको उचाइ, हावापानी, भू–बनोट, सांस्कृतिक र खेती प्रणालीमा रहेको विविधताले पारिस्थितिक प्रणाली र प्रजातिमा पनि भिन्नता रहेको छ । त्यही मध्ये हाम्रो अन्न उत्पादनमा रहेको भिन्नताले भिन्न–भिन्न प्रकारका अन्न उत्पादन हुने गरेको छ । खाद्यान्न हाम्रो बाँच्ने आधार हो र भू–बनोट, हावापानी र प्रकृति अनुसार हिमालदेखि तराईसम्म बेग्लाबेग्लै प्रजातिका अन्नको उत्पादन हुन्छ, यसैले विगतमा नेपाललाई आत्मनिर्भर नै बनाएको थियो । हाम्रा पूर्वजहरुले कृषि क्षेत्रको जैविक विविधताको संरक्षण, सम्बद्र्धन र विकास गर्दै आएका थिए । तर, पछिल्लो समय स्थानीय रुपमा उत्पादन हुने अन्न र तिनको आनुवांशिक स्रोत लोप हुन लागेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गर्दैछन् ।
वन्यजन्तु र वनस्पति सम्बन्धी अन्तर्राष्ट्रिय व्यापार महासन्धिको अध्ययन अनुसार नेपालमा खाद्यबालीका पाँच सय पचास प्रजाति छन् । त्यस्तै तरकारीका दुई सय र अन्य फलफूलका पैंतालीस प्रजाति रहेका छन् । ती मध्ये करिब दुई सय प्रजातिको खेती गरी आइएको छ । त्यस्ता पुर्खादेखि नै खेती गरिँदै आएका अन्नको स्थानीय प्रजाति जसलाई रैथाने पनि भनिन्छ, त्यो लोप हुने अवस्थामा हराउन थालेका छन् । बढी उत्पादन लिने होडमा परम्परादेखि लगाउँदै आएका बालीको साटो उन्नत जातका बीऊबिजनको प्रयोग हुन थालेपछि पुराना जात लोप हुने अवस्थामा पुगेका हुन् ।
परम्परागत रुपमा लगाउँदै आएका रैथाने प्रजातिका धानहरु मध्ये नुनिया प्रमुख जाति हो । तर, यसको उत्पादन कम हुने भन्दै किसान उन्नत प्रजातिका धानमा आकर्षित हुन थालेपछि नुनिया धान नै लोप हुने अवस्थामा पुगेको हो । क्षणिक लाभको पछि लाग्दा एक त हाम्रा मौलिक तथा परम्परागत प्रजातिका नुनिया जस्तै अन्य जातिका धान पनि मासिँदै गएका छन् । यही समय झापा शिवसताक्षी नगरपालिका परम्परागत धानबाली मध्येको नुनियाको संरक्षणमा जुटेको छ । त्यहाँको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँगको सहकार्यमा नगरपालिकाले परम्परागत धानको बीऊ संरक्षण तथा खेतीका लागि अभियान सञ्चालन गरेको छ ।
अन्य धानभन्दा ढिलो र थोरै फल्ने कारणले किसान उन्नत बीऊ र खेतीमा लागेका हुन् । तर, परम्परागत बाली रोग प्रतिरोधी हुने, सुख्खा सहन सक्ने माटो सुहाउने र बढी मूल्यमा बिक्री गर्न सकिने जान्दाजान्दै पनि उन्नततर्फ आकर्षित हुनु दुःखद् हो । उन्नत खेतीमा रसायनिक मल, किटनाशक औषधिको अत्यधिक प्रयोग गर्नुपर्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । परम्परागत खाद्यबालीमा आवश्यक पर्ने प्राङ्गारिक मलको मूल स्रोत पशु हो । आजभोलि पशुपालन गर्न छाडिएको छ । यसले गाईवस्तुको गोबरको साटोमा रसायनिक मलको प्रयोग बढ्न थाल्यो र मलमा पनि परनिर्भरता बढायो । त्यसैले शिवसताक्षीको नुनिया धानको संरक्षण र प्रवद्र्धन गर्न वडा नं. १, ४, ७ र १० लाई पकेट क्षेत्र घोषणा गरेर किसानलाई अनुदान दिने अभियान उदाहरणीय छ । यसको सिको अन्य क्षेत्रमा गर्न सके यसले अन्य रैथाने बालीको समेत प्रवद्र्धन हुन सक्छ ।