योगेन्द्र योगी
विराटनगर,
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गगरेका छन् ।
पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा जानकारी दिएका थिए।
प्रहरी नायव महानिरीक्षक अधिकारीले शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र अथकरूपमा कर्तव्यको बलीबेदीमा आफूलाई समर्पण गर्नु पर्ने हुन्छ ।
समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको हुन्छ, सुरक्षानै समाजको मेरूदण्ड हो अनि प्रहरी सुरक्षाको मेरुदण्ड तसर्थ मुटु अनवरत धड्के जसरी आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई जित्न एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकरूपमा खटिन पर्ने बताएका थिए।
साथै उनले सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए।
उनले प्रदेश प्रहरी प्रमुखको हैसियतले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बिश्वास दिलाउदै प्रहरी संगठनको छविलाई सदैव उच्च राख्न “अपराधीलाई डर र निर्दोषलाई भर” को पहिचान बनाई व्यावसायीक एवम् निष्ठावान भई नागरिकको सेवामा अहोरात्र खटिन प्रहरी कर्मचारीहरूलाई समेत निर्देशन दिएका थिए।