अर्जुनधारा।
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापाले पार्टी र जनप्रतिनिधिहरुबीचको समन्वयबाट विकास निर्माणका काम अघि बढाउन आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको अर्जुनधारा–३ स्थित कैदले सामुदायिक बन परिसरमा सम्पन्न नगरभेला एवं बनभोज कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कोशी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका थापाले पार्टी प्रतिनिधि र जनप्रतिनिधिबीचको छलफल र समन्वयबाट जनचाहना अनुसार विकास निर्माण कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आह्वान गर्नुभएको हो । आफू र आफ्नो पार्टीले गरेका कामको प्रचार–प्रसार तीब्र पार्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहेर राजनीतिक, सामाजिक सेवाका कार्य गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टी संगठन मजबुत बनाएर अघि बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले लोकतन्त्रको विकल्प नरहेको र लोकतन्त्रको रक्षा नेपाली कांग्रेसबाट मात्रै हुने बताउँदै पार्टीको सिद्धान्तप्रति अडीग रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले पार्टी नीति, सिद्धान्त र विधान अनुसार चल्नुपर्ने, विधान संसोधन गरी कृयाशिल सदस्यमध्येबाटै नगर सभापति चयन गर्न पाउने ब्यवस्था गरिनुपर्ने, केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था खारेज गरी वडाबाटै निर्वाचित हुने ब्यवस्था गरिनुपर्ने, तल्लो तहका कार्यकर्ताहरुको समस्या समाधानमा उपल्लो तहका नेताले ध्यान दिनुपर्ने, सरकारलाई स्थायी बनाउँदै पुरै अवधि सञ्चालन गरिनुपर्ने, कार्यकर्ताहरु तहगत रुपमा अनुशासित हुनुपर्ने, पार्टी र जनप्रतिनिधिबीच तालमेल हुनुपर्ने, सबै तहका विभागीय समितिहरु गठन गरिनुपर्ने, टोल र वडाकेन्द्रित कार्यक्रम तय गरी संगठन बलियो बनाइनुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा महासमिति सदस्य दिपेन्द्र ढकाल, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, २ (ख)का प्रदेशसभा क्षेत्रीय सभापति किरण श्रेष्ठ, नेपाल महिला संघ अर्जुनधारा नगरका कार्यबाहक अध्यक्ष प्रभा नेपाल, अर्जुनधारा वडा नं–६ का अध्यक्ष हरिश्चन्द्र बास्तोला, क्षेत्रीय सहसचिव जीवन थापा, क्षेत्रीय सदस्य जीवन भण्डारी, अर्जुनधारा–६ का पार्टी सभापति नेत्रप्रसाद विमली, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष कर्णबहादुर तामाङ, नेपाली कांग्रेस अर्जुनधारा–११ का वडा सभापति जगतबहादुर मगर, प्रदेश अधिवेशन प्रतिनिधिहरु चन्द्र प्रसाई र नरहरी चापागाई, शेखर बन, शिव भट्टराई लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत उपसभापति प्रशान्त भण्डारी र सञ्चालन सचिव इन्दिबर खड्काले गर्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । कार्यक्रममा बनभोजसँगै सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो ।