झापा, समुन्नत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड – ५ को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ झापाका सह सचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष कमल पौडेलको सभापतित्वमा सहकारीले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा १७ लाख ७२ हजार एक सय ७१ रुपैयाँ ७२ पैसा नाफा गरेको छ । एक करोड ६५ लाख ७२ हजार आठ सय शेयर पूँजी रहेको सहकारीको निक्षेप ११ करोड ३२ लाख ४५ हजार ५ सय ३२ रुपैयाँ ७२ पैसा रहेको सहकारीका अध्यक्ष पौडेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीमा ४ सय ८५ जना शेयर सदस्य रहेका छन् भने यसको कार्यक्षेत्र माई पूर्व रहेको बताइएको छ ।
सहकारीले साधारण सभाको अवसर पारेर ज्येष्ठ शेयर सदस्य मीना कुमारी दवाडी, असल बचतकर्ता राजु मगर, असल ऋणी महेश सुनुवार, सदस्यका छोरा छोरी मध्ये एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रवेश उप्रेती र आयुषा शिवाकोटी, कर्मचारी निश्चल शिवाकोटीलाई सम्मान गरेको छ ।
संस्थाकी संचालक समिति सदस्य बालादेवी खरेलले स्वागत गरेको कार्यक्रममा कृषि थोक वजार व्यवस्थापन समिति अध्यक्ष निरज कुमार ओली, बिर्तामोड ५ का कार्यवहाक वडाध्यक्ष ओमभक्त सेढाई, राष्ट्रिय सहकारी वैंकका प्रतिनिधि नवीन भट्टराई, स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव वस्नेत, कालिका वहुउद्देश्यीय सहकारीका अध्यक्ष कर्ण तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीको आर्थिक प्रतिवेदन सहकारीका लेखा समिति संयोजक कुमार मिश्रले प्रस्तुत गरेको कार्यक्रमको संचालन संस्थाका सदस्य रामजी पोखरेलले गरेका थिए ।