नेपाल पत्रकार महासंघ झापाको गत मंसीर २८ गते सम्पन्न निर्वाचनबाट एकराज गिरी अध्यक्ष, सुब्रत न्यौपाने उपाध्यक्ष,महिला उपाध्यक्ष बिनिता गौतम, प्रदीप परियार र राजु पाठक सचिव, सह–सचिवमा रमेश तिवारी र तिलक योञ्जन,कोषाध्यक्ष मुक्ति पौडेल रहेको २१ सदस्यीय नयाँ नेतृत्व आएको छ । गिरीको यो दोस्रो कार्यकाल हो । झापाली पत्रकारहरुको सुझाव र आग्रहलाई सम्मान गर्दै नवनिर्वाचित समिति अघि बढ्नेमा विश्वास गर्न सकिन्छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अत्यधिक निर्वाचित भएका छन् । चुनावअघि कुनै संगठनको समर्थन रह्यो होला, यो दलीय व्यवस्थामा यसलाई अन्यथा मान्नु पर्दैन । तर, जीत हासिल गरेपछि र पदभार ग्रहण गरेपछि अब नेतृत्व सबै सञ्चारकर्मीको साझा हुन्छ । अहिले निर्वाचित पदाधिकारीलाई गठबन्धन बाहिरका पनि अधिकांश सदस्यहरुको गर्विलो साथ र शुभेच्छा थियोे । यसले नयाँ नेतृत्वलाई अघि बढ्न हौसला र प्रेरणा प्राप्त भएको छ । सबै पक्षको साथ र शुभेच्छालाई हृदयतः ओछ्याएर सम्मान प्रकट गर्न आवश्यक छ ।
निर्वाचनअघि गरिएका वाचा र प्रतिबद्धता सम्झन आवश्यक छ । विगतको कार्यकालमा पत्रकार र महासंघको दीगो हितमा महŒवपूर्ण काम सम्पन्न गर्न सफल भएका छन् । पत्रकारको सामाजिक सुरक्षाका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँको पत्रकार सहारा उपचार कोष स्थापना गर्न सफलता प्राप्त भएको थियोे । कोषको ब्याजबाट पत्रकार तथा परिवारलाई राहत सहयोग तथा ज्येष्ठ पत्रकारहरुलाई वृत्ति प्रदान गरिने गरिएको छ । झापा शाखालाई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उत्कृष्ट शाखा घोषित गरी सम्मान गरेको क्षणले सबै झापाली पत्रकारलाई गौरवान्वित तुल्याएको छ । भुँइतले भवन स्तरोन्नति गरी तीन तले बनाइएको छ । पत्रकारहरुलाई प्रोत्साहित गर्न र पेशाप्रति मर्यादित बनाउन अक्षयकोषसहित पुरस्कारहरुको स्थापना, भएको पुरस्कारको राशी वृद्धि र विधागत पत्रकारिता सम्मानको थालनी गरिएको छ । पत्रकारको क्षमता विकासका लागि थुप्रै रचनात्मक काम, लेखनवृत्ति वितरण गरिएको थियोे ।
वर्तमान चुनौतिपूर्ण घडीमा व्यवसायिक पत्रकारहरुको हकहित, सञ्चारमाध्यमको व्यावसायीकरण, समावेशिताको मुद्दा स्थापित गर्दै सामाजिक न्यायसहितको प्रेसमैत्री समाज निर्माण आजको आवश्यकता हो । अबको अवधिमा दाताहरुको भावना र कार्यविधि अनुसार पत्रकार सहारा उपचार कोषको व्यवस्थित सञ्चालन, कोषको वृद्धि, पत्रकारको क्षमता विकाससहितका काम, पत्रकारको भौतिक सुरक्षा तथा महासंघको संस्थागत विकास लगायतका आवश्यक सबै कार्यसम्पन्न गर्न आवश्यक छ । विगतको कार्यकालका अपुरा कामहरुको पूर्णताका लागि नवनिर्वाचित समितिले काम गर्नेछ ।
लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि संघर्षको अग्रिम मोर्चामा रहेर राज्यको चौथो अङ्गको रूपमा स्थापित सञ्चारक्षेत्रको गरिमा र गौरवलाई अझ उज्यालो बनाउन नयाँ समितिले अहोरात्र काम गर्नेछ । कोरोना महामारीको डरलाग्दो अवस्थामा पनि पत्रकार महासंघ झापाले सशक्त भूमिका निभाएको थियोे । महासंघ झापा सदैव श्रमजीवी पत्रकारको हितमा समर्पित रहने आशा र विश्वास लिन सकिन्छ । आम झापाली सञ्चारकर्मीको साथ र समर्थन लिएर प्रदेश महासंघ, केन्द्रीय महासंघको समन्वयमा स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोग लिएर विगतका आफ्ना प्रतिबद्धता पूरा गर्न सफलता मिलोस्, पत्रकार महासंघ झापालाई हार्दिक शुभकामना !