आधुनिक आविष्कार र उपलब्धीका कारण मानिसको जीवन सहज र आरामदायी बन्दै गएको छ । हामी बजार जाँदा आफ्नो झोला बोकेर जानुभन्दा सामान किनेर प्लास्टिकमा लिएर आउँछौँ । थाहै नपाई आफ्नो घरआँगनमा प्लास्टिक बढ्दै जान्छ । तीव्र शहरीकरणसँगै फोहोर उत्सर्जन बढ्दो छ । नकुहिने प्लास्टिकजन्य फोहोरले प्रकृतिलाई नोक्सानी गरिरहेको छ । शहर र गाउँ सर्वत्र प्लास्टिकले आफ्नो उपस्थिति बढाउँदै लगेको छ । यति बलशाली छ कि जताततै प्लास्टिक कै बोलबाला छ । संसारको सर्वाेच्च शिखर सगरमाथादेखि नेपालकै होचा ठाउँहरू झापाको कचनकबल र धनुषाको मुसहरनियाँ जताततै प्लास्टिक बढेको छ । पर्यटकीय स्थलहरू प्लास्टिक फोहोरले ढाकिँदै गएका छन् । उपभोग बढ्दो छ, तर सोही अनुपातमा व्यवस्थापन कमजोर छ । शहरी एवम् पर्यटकीय क्षेत्रका साथै जंगल र खेतीयोग्य जमिनलाई पनि प्लास्टिकले बिगार्दै गएको छ । जमिनको उर्वरा शक्ति घट्दै गएको छ ।
केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारबाट यथेष्ट मात्रामा कानुन निर्माण गरिने काम भएको छैन भने प्लास्टिक न्यूनीकरणका नीति तथा कार्यक्रमको कार्यान्वयनको अवस्था पनि उत्साहजनक छैन । विशेषतः स्थानीय सरकारको फोहोर सङ्कलन र व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । प्रायः जसो यसलाई या त त्यसै छोडिन्छ वा जलाइन्छ । जमिनमा मिल्काए पनि वा आगोले जलाए पनि जुन दुबैले वातावरणीय ह्रास हुन्छ । प्लास्टिक जलाउनु खतरनाक अभ्यास भएकाले यसले हावा र जनस्वास्थ्यमा प्रत्यक्ष हानी पु¥याउने र क्यान्सरको जोखिम समेत बढाउने हुन्छ । मानवलाई नै प्रत्यक्ष असर गरिरहेको प्लास्टिक फोहोर व्यवस्थापनका सरकारी निकायले ध्यान दिन सकेका छैनन् । सरकारले फोहोरमैला व्यवस्थापन ऐन जारी गरे पनि कार्यान्वयन पक्ष निकै कमजोर छ । स्थानीय सरकारले प्लास्टिकलाई पुनः प्रयोग गर्ने नीति योजना बनाई कार्यान्वयनमा ल्याउने हो भने केही हदसम्म फोहोर व्यवस्थापन हुन्छ । फोहोर उत्सर्जन नै कम गर्न प्लास्टिकको सट्टा प्रयोग गर्न सकिने वैकल्पिक वस्तुहरू हुनुपर्छ । अन्य वस्तुको उपलब्धताले प्लास्टिक प्रयोग न्यूनीकरण गर्न सकिन्छ ।
सस्तो नाराका लागि प्लास्टिक उत्पादन, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेर मात्र हुँदैन । प्लास्टिक न्यूनीकरणसम्बन्धी कानुन, नीति, निर्देशिकाको प्रभावकारी कार्यान्वयनको जरुरी छ । प्लास्टिकको प्रयोग नै कम गर्न मानव तथा प्रकृतिलाई हुने हानीका विषयमा नागरिकलाई सचेत बनाउनुपर्छ । प्लास्टिकको उपभोग घटाउने नीति हुनुपर्छ । सचेतना अभियान सञ्चालन गर्न आवश्यक छ । प्लास्टिक जलाउँदा हानिकारक विषाक्त पदार्थहरू निस्कन्छन्, जसले हावाको गुणस्तरलाई गम्भीर रूपमा असर गर्छ भन्ने सच्चाइलाई ग्रहण गर्न नसकेकै कारण आजको अवस्था सृजना भएको हो । प्लास्टिकको प्रयोगलाई कम गर्ने वा निषेध गर्ने कुरा सरकारको मात्र होइन, आम जनताको पनिे दायित्व हो ।