चन्द्र बस्नेत
कनकाई ।
धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताएका छन् ।
तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेश कार्य समिति तथा भगवती माता महारानी मन्दिर चिल्लागढ समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सामुहिक धामीझाँक्री गुरुपूजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्की (काफ्ले)को जीवनी र उपचार पद्धति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल शिवसताक्षी –९ स्थित चिल्लागढमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि थोप्राले सो कुरा बताएका हुन् ।
उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण प्रवद्र्धन प्रचारप्रसार एवम् धामीझाँक्रीहरुको समेत संरक्षणमा स्थानीय सरकार लागिपर्ने प्रतिवद्वता जनाए । नगरप्रमुख थोप्राले आफ्नो परिवारमा पिता पनि धामीझाँक्रीनै भएको र धेरै पहिलादेखिनै उनीबाट हुने उपचार पद्धतिबाट पनि आफू प्रेरित हुने गरेको सुनाए ।
नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाइन्छ, यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान पनि हो । धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्मत नै छ । यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्नेमा जोड दिँदै नगर प्रमुख थोप्राले अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको र त्यसैको परिपूर्ति र झाँक्रीको ज्ञान र शक्तिको नवीकरण गर्नका लागि नगर धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढमा झाँक्रीहरुको तीर्थको आयोजना गरिएकोमा खुशी प्रकट गरे ।
तन्त्र धामीझाँक्री प्रतिष्ठानका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, उदयपुर ,धनकुटा लगायत जिल्लाका १४ वर्ष बालबालिकादेखि ८२ वर्षसम्मका ज्येष्ठ माता (झाँक्रेनी) तथा पिता धामी (झाँक्री) गरी २ सय १२ जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम बोल्दै अध्यक्ष भेट्वालले समाज टुट्न होइन समाज जुट्नु पनि हो भन्दै धामीझाँक्रीहरुको सन्देश धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्नु र पर्यटकहरु भित्र्याउन पनि आफूहरुको मुख्य उद्देश्य रहेको बताए ।
चिल्लागढको चिनारी एवम् माता तुलसादेवी कार्की (काफ्ले )को जीवनी र उपचार पद्धतिको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका खोज अनुसन्धानकर्ता तथा लेखक तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक भेट्वालले आफूसहित चन्द्रमणि रिमाल, डिल्लीराम बाँस्कोटा लगायत विभिन्न व्यक्तिहरुको अथक मेहनत र मातासँगको डेढ वर्षभन्दा धेरैको संङ्गत र खोज अनुसन्धानबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताए ।
बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै…
यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवम् ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा तन्त्र धामीझाँक्रीहरुको ¥यालीसहितको भेला सम्पन्न भएको छ । लामो समयदेखि गुप्तवास बसेका धामीझाँक्री मंसीर महिनाको पूर्णिमा अर्थात् गुरुपूर्णिमाको अवसर पारेर धार्मिकस्थल झापाको शिवसताक्षी –९ चिल्लागढमा पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना समेत गरिएको संयोजक भेट्वालले जानकारी दिए ।
लामोसमयसम्म गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवताका साथमा उधौलीको अवसर पारी गुरुपूजा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर आफ्ना गुरु तथा देवीदेवताका मान्ने चलन मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाको शिवसताक्षी –९ मा रहेको धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढ परिषरमा ¥याली भेला तथा ढोलेतालेसहित थान थापेर ध्यान गर्ने काम) चिन्ताको आयोजना गरी मनाएका हुन् ।
कोशी प्रदेशका विभिन्न जिल्लाका धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा जम्मा भएका थिए । धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै रातभर प्रस्तुत गरेको धामी नाच हेर्न चिल्लागढमा बूढापाका, युवायुवती तथा केटाकेटी उल्लेख्य उपस्थिति रहेको थियोे ।
कार्यक्रममा चिल्लागढ परिसर गेटबाट लामबद्ध भई आ–आफ्नो परम्परा अनुसारका धामीझाँक्री पहिरन लगाई बाजागाजा, ढोल, ढ्यांग्रो, थाल, झ्याम्टा, शंख, घन्टी बजाई चिल्लागढ परिषरभित्र रहेका सम्पूर्ण मठ–मन्दिरको परिक्रमा पश्चात निर्माण गरिएको धान थपनामा धुपबात्ती गरी आफ्नो आफ्नो मन्त्र र ज्ञानको सिद्धिका लागि प्रार्थना समेत गरिएको थियो ।
चिल्लागढ परिसरमा सामुहिक तथा एकल रुपमा देवीदेवताको पूजाआराधनासहित चिन्ता समेत गरिएको थियो । कार्यक्रममा वडा नं. –९ का अध्यक्ष डिल्ली फ्याम्वू , माता तुलसादेवी कार्की (काफ्ले ) चिल्लागढ धाम व्यवस्थापन समिति अध्यक्ष शिशिर तुम्बाफो, सचिव वेदनिधि अधिकारी धाम परिसरमा रहेका विभिन्न मन्दिर का अध्यक्षहरु दिननाथ खतिवडा , झलकसिंह अधिकारी,गङ्गाराम न्यौपाने , मेदनी दङ्गाल, जयनारायण पौडेल, डिकबहादुर कार्की, रोशन सार्की, सल्लाहकार समितिका संयोजक इन्द्रबर रिमाल, भगवती माता महारानी मन्दिर समितिका सचिव डिल्लीराम बाँस्कोटा लगायत पदाधिकारी झाँक्री होमनाथ अधिकारी,चन्द्र कुमार दियाली, झरीलाल चौधरी, धनमान खाती, खडानन्द अधिकारी, कमल बाँस्तोला, लगायत झाँक्री गुरुहरु स्थानीय चिल्लागढ धामबासी लगायतको उपस्थिति रहेको थियोे ।
उद्घाटनशत्रमा स्वागत झाँक्री डिल्लीराम बाँस्कोटाले गरेका थिए भने सञ्चालन आयोजक समितिका सचिव डिकबहादुर कार्कीले गरेका थिए । त्यसपछिको सम्पूर्ण कार्यक्रमको सहजीकरण तन्त्र धामीझाँक्री प्रतिष्ठानका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष भेट्वालले गरेका थिए ।