विचारहरुको संगालो ‘व्यक्ति एक विचार अनेक’

0
27

आधुनिक जमानामा विचारकहरुको खरेडी परेको छ । तर, समयले विचारकहरु जन्माउँछ र विकास गर्दोरहेछ । त्यसैगरी ‘गजाधर कुइँकेल’ एक विचारकका रुपमा विकास भएका पाइन्छन् । उनका विचारहरु समेटिएको ‘व्यक्ति एक विचार अनेक (विचार संग्रह)’ नवीन कृति पाठकवर्ग समक्ष आएको छ ।

झापा बुद्धशान्ति–६ का गजाधर कुइँकेलले स्वअध्ययनबाट विचारहरु विकास र परिष्कृत गरेका पाइन्छन् । साथसाथै स्वअध्ययनद्वारा नै प्राकृतिक जडिबुटि पद्धति अवलम्वन गर्दैै विभिन्न किसिमका बिरामीहरुको उपचार गर्दै मनोरोग परामर्शमा पनि क्रियाशिल रहेका पाइन्छन् । मौलिक तथा सफल उपचारका लागि विभिन्न सम्मानबाट सम्मानित उनको विशेषता यो रहेको छ कि, वैदिक प्राकृतिक उपचार विधिद्वारा हजारौं रोगी पीडितहरुको उपचार गरिरहेका छन् र परामर्श पनि प्रदान गरिरहेका पाइन्छन् ।

विचारक कुइँकेलको यस नवीन कृतिका सम्बन्धमा प्राध्यापक चूडामणि वशिष्ठको विचारबाट बुझ्न सकिन्छ– ‘आजको वैज्ञानिक भनिएको युगले मान्छेलाई स्वस्थ, मस्त, दुरुस्त पार्न सक्नुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन । आजका मान्छे तनावमा छन् । मनोरोगबाट ग्रस्त छन् । निराशा पालेर आफैलाई सिध्याउन उद्यत छन् । अनेक प्रकारका समस्यामा जेलिएका, गिजोलिएका छन् । गाउँघर युवाविहीन भएर रित्तिएको छ । वैदेशिक रोजगारीका कारण परिवारमा पहिरो गएको छ । समस्याले उचित निकास उपचार पाएको छैन ।’ यस्तै गुनासा र विशेषताहरु लेखहरुमा समेटिएका छन् ।

त्यसैगरी प्रस्तुत कृतिबारे विद्वानहरु डा. नारायणप्रसाद गड्तौला, एलपी भानु शर्मा र गङ्गाराम गड्तौलाको विचारहरु पनि पुस्तकमा समेटिएका छन्ः विचारक कुइँकेलका सिर्जनाहरु कुइँकेलका आफ्नै भोगाइको सार, निचोड हुन् र ज्ञानका पाठ हुन् । उनी गमलामा उमारिएको र सजाइएको फूल जस्तो नभई प्राकृतिक रुपमै जंगल या बारीमा आफै उम्री, बढि अनि फूलेका फूल हुन् । उनका ज्ञानरुपी विचारहरु मौरीका चाकाबाट काडेको मह जस्तै हुन् । उनका विचारहरु सार्वकालिक एवम् सार्वजनिक प्रकृतिका छन् । आफ्ना जीवनका अमूल्य क्षणहरुलाई सदुपयोग गर्दै तिनै आदर्शलाई यस कृतिमा प्रस्तुत गरिएका छन् । स्रष्टा कुइँकेल कलमले होइन मनले लेख्छन् । देखेको होइन भोगेका कुरा लेख्छन् । यस पुस्तकमा कुइँकेल आफूले जीवनभरि भोगेका दुःख, सुख, अनुभव र अन्तर्मनले धर्तीलाई पढेको विषय नै यस पुस्तक विचारका रुपमा आएको छ । यसरी विद्वानहरुको भनाईबाट गजाधर कुइँकेलको विशेषता थाहा पाउन सकिन्छ ।

मानसिक तनाव शीर्षकको विचारात्मक लेखमा विचारक कुइँकेलको विचार यस्तो पाइन्छ– अहिले वैज्ञानिक युग हो । विज्ञानले मानव जीवनमा सुविधा ल्याउनुपर्ने हो । जीवन सहज र सरल हुनुपर्ने हो । तर, हरेक मानिस कुनै न कुनै रुपमा तनावग्रस्त बनेको छ । मानसिक नतावबाट अछुतो कोही पनि छैन भन्दै तनावबाट मुक्त हुन मानिसहरुलाई सिर्जनात्मक कार्यतर्फ अभिप्रेरित गर्नु आवश्यक रहेको सुझाव दिइएको छ ।

आत्महत्या शीर्षकको विचारात्मक लेखमा कुइँकेल यस्तो लेख्छन्– स्वतन्त्र हुन नपाउँदा वा आफ्नो सत्यतालाई सावित गर्ने अवसर नपाउँदा आफूले आफ्नै हत्या गर्नुलाई आत्महत्या भन्ने चलन छ । मानिस आफ्नै खुशीले म¥यो भने आत्महत्या भन्ने गरिएको छ । तर, वास्तवमा आत्माको हत्या कदापि हुन सक्दैन । यो कुरा सम्भव नै छैन । आत्मा अजर, अमर, अविनाशी एवम् पुराण छ भनेर गीतमा भनिएका छ । आत्मा न त जन्मन्छ नै, न त मर्छ नै । न यो जन्मने क्रिया कहिल्यै भएको थियो, न भविष्यमा नै हुनेछ । आत्मा नित्य छ । पुरानो भएर पनि सदैब नयाँ हुनु आत्माको विशेषता हो । शरीर मर्दैमा आत्मा कहिल्यै पनि मर्दैन ।

आत्महत्याको कारण यसप्रकार बताएका छन्– क्षणिक सोच विचारको कारण, कुनै स–साना कुराहरुमा झगडा परेर विवाद बढ्दै जाँदा, आक्रोस सम्हाल्ने शक्ति नहुँदा, अरुको सामु घमण्ड र रिस थाम्न नसक्दा, ठूलै विपत्ति आइपर्दा त्यसको समाधान गर्न नसक्दा र दीर्घरोेगले आक्रान्त हुँदा । आत्महत्याका अरु थुप्रै कारणहरु बताउँदै, आत्महत्या रोक्न मानिस मानिसबीच आपसी सद्भाव र सम्मानको विकास हुनु जरुरी छ । खेलकुद, सुखसुविधा, हिँडडुल, चित्रकला, संगीत, अध्यापन आदिमा संलग्न भइरहने कार्य गर्नु जरुरी रहेको विचार व्यक्त भएका छन् ।

देखाउन नसकेको ज्ञान शीर्षकको विचारमा विचारकले आफ्नैबारे लेखेका छन्– म पढेलेखेको मान्छे होइन । धन सम्पत्ति पनि छैन । घरजग्गा पनि नभएको मान्छे । शरीर तन्दुरुस्त छ, तर बल नभएको मान्छे । न त मेरो सुन्दर स्वरुप नै छ । म मुख भएर पनि बोल्ने भाँती नभएको मान्छे । मान्छेको स्वरुप मात्र लिएर जन्मेको मान्छे म । देख्ने स्वरुप मेरो सपाङ्ग नै छ । देख्ने आँखा पनि अन्धो छैन । देख्नमा स्वरुप पूर्ण भए पनि भित्री ज्ञान प्रस्तुत गर्न नसक्ने मुखै नभएको अपाङ्ग हुँ म । जग्गाजमिन, धनसम्पत्ति, झ्याउला कचेला, मामला, समस्या आदिलाई चिन्ताले उघाई चितामा हाली भष्म बनाएर मन शान्त गरी भित्री मनलाई चिन्तनमा बदलेर बाँचेको मान्छे हुँ म । मनको भाँडो चिन्तनले भरेर बाहिर प्रस्तुत गर्ने ठाउँ नपाएको मुर्ख, अज्ञानी मान्छे हुँ म ।

कुइँकेलको यस स्वीकारोक्तिमा जे भनिए पनि उनी समाजका लागि उपयोगी ज्ञानले भरिपूर्ण हुन् । स्वअध्ययनबाटै हासिल गरेका ज्ञानका माध्यमबाट समाजमा स्वास्थ्य, मनोचिकित्सा तथा मानवीय सेवा पु¥याइरहेका छन् । त्यसैले उनी विलक्षण प्रतिशाली व्यक्तित्व हुन् जसलाई समाज र निकायहरुले पूर्णरुपमा चिन्न बाँकी छ ।

परनिर्भर मानिस र श्रमिकबारे उनको विचार यस्तो छ– वास्तवमा मानिस पनि अन्य जनावर जस्तै त हो । पशुपंक्षीको घर हुँदैन । धन, सम्पत्ति केही हुँदैन तर उनीहरु पनि बाँचेका छन् । अर्काको श्रममा बाँचेका हुँदैनन् । तिनलाई तिनका छोराछोरीले पालेका हुँदैनन् । जति बाँचेका हुन्छन्, आफ्नै श्रमले बाँचेका हुन्छन्, तर मानिस भएर पनि कतिपय चाहिँ परनिर्भर हुन्छन् । विभिन्न विषयले आक्रान्त छन् । सबै धनीहरु धनी बन्नु र महलमा आरामले दिन बिताउनुमा पनि श्रमिकहरुकै योगदान रहेको हुन्छ । धनी होस् या गरीब, मानव समुदायमा दुबैको बराबरी भूमिका रहन्छ ।

यस्तै–यस्तै उपयोगी विचारहरु समेटिएका छन् यस नवीन विचारात्मक कृतिभित्र । सत्र वटा विचारात्मक सामग्री समेटिएका छन् । कृतिमा, बिरामी नै मेरो लेखनको स्रोत, सुख सफलता दुर्लभ छैन, मानसिक तनाव, बिरामी हुने कारण, पहिलो समस्या मोबाइल, रोग सर्ने कारण, देखाउन नसकेको ज्ञान, मानिस सृष्टिको फूल, रोगहरुको मूल ग्यास, विगत र वर्तमान, बाबु आमा नै जिम्मेवार, मह जस्तै होस् मान्छेको धन, चराचुरुङगीबाट सिक्ने कि ?, बाबुआमालाई वृद्धाश्रम कुकुरलाई ओछ्यान, धामी झाँक्री, के साँच्चै नै बोक्सा बोक्सी हुन्छन् त ? र आत्महत्या शीर्षकमा विचारहरु व्यक्त भएका छन् ।

गजाधर कुइँकेलका कृतिहरु अध्ययन गर्दा उनी एक चिन्तक हुन् भन्ने पत्ता लाग्दछ । मृदुभाषी, मिजासिला बानी र सेवामुखी सोचाइका कारण उनी सबैका प्रिय बनेका छन् । वि.सं. २०३७ देखि उनी परोपकारमा लागेका पाइन्छन् । उनमा मौलिक र अलौकिक स्वास्थ्य उपचार ज्ञान छ । उनलाई उपचारकका रुपमा पनि समाजले चिन्दछन् । उनको अलौकिक उपचारबाट पूर्णतः निको भएका मानिसहरुले उनलाई भगवान् सरह मान्दछन् । उनको ‘व्यक्ति एक विचार अनेक (विचार संग्रह)’ले पाठकवर्गमा मार्गदर्शन प्रवाह गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here