लागूऔषध नियन्त्रण र चुनौती

0
11

लागूऔषधको दुव्र्यसन नेपालमा पछिल्लो समय बढ्दोक्रममा छ । अझ प्राप्त तथ्यांक र घटनाहरुले नेपाललाई यसको ट्रान्जिट पोइन्ट नै बनाउँदै लगेको देखाएको छ । मानिसको शारीरिक, मानसिक स्वास्थ्य एवम् चेतना, मानसिकता र व्यवहारलाई विकृत तुल्याउने लागूऔषको दुव्र्यसन बढ्नु कसैका लागि पनि उचित होइन । त्यसैले राज्यले नीति, नियम र कानून निर्माण गरेरै यसको नियन्त्रणमा जोड दिएको हुन्छ । तर, हामीकहाँ लागूऔषधको ओसारपसार, कारोबार तथा प्रयोग दिनहुँ बढिरहेको यस क्षेत्रमा काम गर्दै आएको अध्ययन र तथ्यांकले देखाएको छ । पूर्वी नेपालमा प्रहरीले हरेक दिन लागूऔषध कारोबारीलाई पक्राउ गरिरहेको छ । सीमानाका काँकरभिट्टा लगायत झापाका प्रमुख शहरहरुमा पनि लागूऔषधका दुव्र्यसनीलाई प्रहरीले दिनहुँ पक्राउ गरिरहेको छ, तर यो क्रम घटेको छैन ।
स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागूऔषधको कारोबारमा संलग्न पन्ध्र सय जनाभन्दा बढीलाई पक्राउ गरी कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गत चार आर्थिक वर्षमा ब्राउनसुगर, गाँजा लगायत लागूऔषध ठूलो मात्रामा बरामद भएको छ । भारतसँगको खुल्ला नाकाका कारण प्रहरीले कडाइ गर्दा पनि लागूऔषधका कारोबारी तथा प्रयोगमा संलग्नलाई पक्राउ गर्दा पनि यी दुबैको संख्या बढ्दै जानु चिन्ताको विषय हो । यस्तै अवस्था छ प्रदेशका सुनसरी, मोरङ, धनकुटा, उदयपुर लगायतका जिल्लाहरुमा । नेपाल प्रहरीले नेपालमा लागूऔषध भित्रिने प्रमुख नाकाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा र काँकरभिट्टा रहेको उल्लेख गरेको छ । त्यस बाहेकका खुल्ला सीमानाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागूऔषध नेपाल भित्र्याउने गरेका छन् । लागूऔषध नियन्त्रण कै लागि नेपाल प्रहरी अन्तर्गत लागूऔषध नियन्त्रण ब्यूरो गठन गरेर सीमानाकामा खटिएको छ । अनि पनि यसको कारोबार नियन्त्रण हुनुको साटो बढ्नु र सरकारले नियन्त्रणका लागि विशेष ध्यान नदिनु दुःखद् अवस्था हो र चिन्ताको विषय पनि हो ।
दुव्र्यसनको क्षेत्रमा काम गरिरहेको नार्कोनन्का नेपाल प्रमुख बसन्तराज कुँवर बर्सेनि लागूपदार्थको दुव्र्यसनमा संलग्न हुने व्यक्तिहरुको संख्या बढ्दा पनि सरकारको आँखा त्यसमा नपरेको बताउँछन् । प्रहरीले दुव्र्यसनीलाई पक्राउ गरेर मात्र समस्याको निदान नहुने भन्दै उनले दुव्र्यसनीलाई पहिचान गर्ने र उपचार तथा पुनःस्थापनाको माध्यमबाट नियन्त्रण गर्न सकिने बताएका छन् । यद्यपि सरकारी तहबाट लागूपदार्थ नियन्त्रणका लागि ऐन कानून निर्माण गरेको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको छैन । त्यसैले नेपाली युवाशक्ति कमजोर भइरहेको मात्र होइन अक्षम हुन थालेको छ । त्यसैले यसको नियन्त्रणका लागि स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय एवम् सामाजिक संघ–संस्थाले समन्वयसहितको सहकार्य गर्नुपर्छ । जोखिमपूर्ण उमेर समूहका युवालाई लागूपदार्थ सम्बन्धी सचेतना, शिक्षा र परिणामको बारेमा जागरुक गराउनु पर्दछ । युवालाई त्यस्ता व्यक्तिको सम्पर्कमा आउन रोक्नुपर्छ र दुव्र्यसनमा फसेकालाई उपचारका साथै पुनःस्थापित गराउनुपर्छ । सरकार समाज र देशको अगुवा भएकाले दुव्र्यसन रोकथामका लागि भएका कार्यक्रमको अनुगमन गर्दै सबैलाई दुव्र्यसनबिरुद्धको अभियानमा जोड्नुपर्छ । अनि मात्र यसको निदान हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here