नेपाली टोपी : नेपाली पहिचान

0
20

आज जनवरी १ अर्थात् टोपी दिवस । विश्वभरका नागरिकहरु नयाँ वर्षको स्वागत गर्दै हर्षोल्लासका साथ ह्यापी न्यू इयर २०२५ मा रमाइरहेका छन् । यद्यपि नेपाल र नेपाली मुलका नागरिकहरु भने ‘हाम्रो शान हाम्रो स्वाभिमान ः राष्ट्रिय पोशाक हाम्रो अभिमान ! नेपाली टोपी ः नेपाली पहिचान’ जस्ता नाराका साथमा १२आंै अन्तर्राष्ट्रिय टोपी दिवस मनाइरहेका छौं । हाम्रा नेपाली मौलिकता, भेषभुषा, भाषा र पहिचानहरु विदेशी पास्चात्य संस्कृतिको प्रभावले धराशायी बनाएको मूल्यांकन गर्दै नेपाली संस्कृति, सभ्यता, धरोहर, पोशाकलाई विश्व जगतमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस एवम् टोपी दिवस मनाइन्छ ।

टोपी हाम्रो आत्मसम्मान र समर्पणको प्रतिक हो । हाम्रो सान, स्वाभिमान र नेपालीको पहिचान हो । दौरा–सुरुवाल, टोपी, गुन्यू–चोलो हाम्रो मौलिक पहिरन र राष्ट्रिय अभिमान हो । यो राष्ट्रियता, देशभक्त, नेपालीपन र नेपालिको प्राण हो । नेपाली टोपीले आफैमा तराइ, पहाड र मधेशका हामी नेपाली र हाम्रो धार्मिक, सांस्कृतिक, सम्प्रदायिक र जातीय फूलबारीलाई जोड्ने काम गरेको छ । हाम्रो टोपीको बनौट अनुसार नै माथिल्लो चुच्चे भागले हिमाल, बीचको भागले पहाड र मुनिको समतल भागले तराइको प्रतिनिधित्व गर्छ भन्ने संस्कृतविद्हरुको तथ्य छ । विशेषतः भादगाउले टोपी र ढाका टोपीलाई नेपाली टोपीको रुपमा चिनिन्छ ।

दोस्रो जनआन्दोलनअघि राष्ट्रिय पोशाक रहेको दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलीलाई २०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा राष्ट्रिय पोशाकबाट खारेज गरियो । कारण थियो ‘नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले ब्राह्मण, क्षेत्रीको पहिचान झल्कने पोशाकलाई राष्ट्रिय पोशाक मान्न सकिन्न ।’ दौरा–सुरुवाल र गुन्यू–चोलीसँगै नेपालीको पहिचान बनेको टोपी संकटमा परेपछि हाम्रो राष्ट्रिय पोशाकको इतिहास अस्तित्व र स्वाभिमान माथि नै प्रश्नचिन्ह खडा भएको छ ।

धावा–धावा अखडाभित्र मेरो टोपी लड्दै थियो ।, सगरमाथा उभो पनि मेरै टोपी चड्दै थियो ।, मेरो टोपी कैलासको शिर जस्तो हिमाली भिर जस्तो । झुक्न नजान्ने हार नमान्ने मेरो टोपी गोर्खाली वीर जस्तो…गोपाल योञ्जनको मार्मिक रचना । कालो टोपी भादगाउले मेरो शिरैमा ढल्केको एक जोडी खुकुरी हेर टलल्ल टल्केको म हु नेपाली बाबू मेड इन नेपाल….जस्ता देशभक्ति भावनाले ओतप्रोत भएका गीतहरु गुन्गुनाउँदै आत्मसम्मानका साथ नेपाली शिरमा सजिने टोपी आज अस्तित्वको लडाइँ लडिरहेको छ । नेपालीको शान नेपाली टोपीलाई राष्ट्रिय पोशाकको रुपमा सम्मान र संरक्षण गरिनुपर्छ भन्ने टोपी दिवस अभियन्ताको माग छ ।

संस्थापकद्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेद्वारा सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिवस भनी सार्वजनिक रुपमा सबैलाई नेपाली टोपी लगाउन आह्वान गरिएको थियो । पहिला केही वर्षहरुमा ऊर्जाजन्य उत्साहपद प्रतिक्रियासहित फेसबुकमा र केही जागरुक अभियन्तामा सिमित रहेको टोपी दिवसले आज अन्तर्राष्ट्रिय स्तरमा नेपालीपनको प्रबद्र्धन र नेपाली संस्कृति सम्बद्र्धनको पक्षमा वकालत गरिरहेको छ । नेपाली टोपी ः नेपाली शान, मान र पहिचान भन्ने मुल नाराका साथ स्वतःस्फूर्त रुपमा जागरुक युवा अभियान नेपाल लगायत विभिन्न समूह र संघ–सस्थाहरुले २०७० सालदेखि विभिन्न कार्यक्रम मार्फत यसलाई व्यापक र सक्रिय बनाइरहेका छन् । यद्यपि सरकारको तर्फबाट कुनै औपचारिक घोषणा भने भएको छैन ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकोले सबै जातीय र भेषभुषागत टोपीलाई नेपाली टोपीको रुपमा उत्तिकै सम्मान दिइन्छ । तर पनि नेपालीको मौलिक उत्पादन ढाकाटोपी र भादगाउले टोपीलाई ऐतिहासिक कालदेखि नै नेपाली टोपी र नेपालीको राष्ट्रिय पहिचानको रुपमा स्वीकार गरिएको इतिहासकारहरुको तथ्य छ । पञ्चायत कालदेखि नै महत्वपूर्ण सरकारी कामकाजको क्षेत्रमा भादगाउले टोपी लगाउने चलनचल्ती रहेको पाइन्छ ।

नेपालको पश्चिमी पहाडी क्षेत्रमा लगाइने परम्परागत बिर्के टोपी कवि भानुभक्त आचार्यको समयदेखि लोकप्रिय छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले रिसाएको दाजुलाई खुशी बनाउन ढाकाबाट ल्याइएको कपडाले नेपाली कलात्मक टोपी डिजाइन गरी लगाइदिएकी थिइन् रे । त्यसैबाट ढाका शब्दको सम्बन्ध बंगलादेशको ढाकासँग जोडिएको छ भन्ने भनाइ पनि छ । यद्यपि ढाकाटोपी र भादगाउले टोपी नेपालीको मौलिक उत्पादन हो भन्नेमा दुईमत नहोला ।

निश्सन्देह नै ढाकाटोपी र भादगाउले टोपी परापूर्वकालदेखि नै नेपाली एकता र आस्थाको साझा प्रतिक हो । शाब्दिक अर्थमा ढाकाटोपी ढाकाको कपडाबाट बनाइएको एक शिरपोश हो । खस भाषामा घरमै परम्परागत तरिकाले बनाइने धागोलाई धाका भनिन्छ । उपत्यकाका नेवार समुदायमा कपडाको टोपी बुन्न प्रयोग गरिने विशेष धागोलाई धाका र बुनिएको टोपीलाई तपुली भनिन्छ । धाका तपुली नै आजको ढाकाटोपी हुन सक्छ । टाउको ढाक्ने हुनाले ‘ढाक्ने टोपी’ भन्दाभन्दै पछि ढाका टोपी भएको हो रे । नेपालमा पूर्वेली र पाल्पाली ढाकाटोपी चर्चित छन् । यो टोपी ब्राह्मण क्षेत्रीयले मात्र होइन सबै जनजातिले उच्च आदर सम्मानका साथ अपनाएको पाइन्छ । सरकारी, सार्वजनिक, सांस्कृतिक, धार्मिक परम्परा रीतिरिवाज र समारोहमा नेपाली टोपी लगाएर सरिक हुने सांस्कृतिक परम्परा अझै जिवित छ ।

दौरा–सुरुवाल, नेपाली टोपी र गुन्यू–चोली राष्ट्रिय पहिचानको रुपमा विश्वमा स्थापित पहिरन थियो । तथापि, गणतन्त्रपछि हरेक क्षेत्र, जाति वर्गको प्रतिनिधित्व गर्न हक–अधिकार र पहिचानको मुद्दा उठाइए पनि हामी राष्ट्रिय पहिचानसहितको राष्ट्रिय पहिरनविहीन बनेका छांै । नेपालीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दा कुन पोशाक लगाउने भन्ने कुरा औपचारिकताका साथ संविधानमा लिपिबद्ध गर्नतर्फ ध्यानाकर्षण गर्न जरुरी छ ।

नेपालीलाई जति महत्व नेपालि संस्कृति, संस्कार, भाषा र परम्पराको छ, त्यति नै महत्व मौलिक पहिरन गुन्यू–चोली, दौरा–सुरुवाल र टोपीको पनि छ । एक सय २५ भन्दा बढी जातजातिको साझा मौलिक पहिरनले आमनेपालीलाई विश्वमा परिचित गराउँछ । व्यक्ति चिनिनुभन्दा पनि व्यक्तिले राष्ट्र चिनाउनु ठूलो कुरा हो । अन्ततः अन्तर्राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस मार्फत साझा राष्ट्रिय पोशाकको माग गर्नु नेपालीको अधिकार हो ।

नेपाली टोपी ः नेपाली शान, मान र पहिचान मुल नाराका साथ एक दशकअघि एक अभियानका शुरु भएको सांस्कृतिक आन्दोलन ‘टोपी दिवस ः जनवरी १’ले नेपाली र नेपाली मुलका नागरिकलाई मन–मस्तिष्कबाट राष्ट्रिय पोशाक भेषभुसा र संस्कृतिप्रति झुक्न बाध्य बनाएको छ । नयाँ युवापुस्तामा पश्चिमी सभ्यता र संस्कृतिको प्रभाव केही हदसम्म न्यूनीकरण गर्दै नेपाली टोपी, मौलिक पोशाक, नेपालीपन, राष्ट्रियता, संस्कृति, सभ्यता र परम्परागत भेषभुषा र नेपाली पहिचान विश्वभर फैलाउनमा राष्ट्रिय पोशाक अभियन्ताको योगदानको कदर गर्नैपर्छ ।

बितेका एक दशकमा अनेकौं आरोह, अवरोह, विचार, विमर्श गरेर सकारात्मक रुपमा टोपी दिवसले निरन्तरता पाइरहेको छ । जनवरी १ मा मात्र होइन तीन सय ६५ दिन नै नेपाली पोशाक लगाउनुपर्छ, एक दिन टोपी लगाएको फोटो सामाजिक सञ्जालमा हाल्दैमा अन्तर्राष्ट्रिय दिवसको औचित्य पूरा हुँदैन भन्ने जस्ता विपक्षी तर्कहरु पनि आइरहेका छन् । आरोप–प्रत्यारोप गरेर राष्ट्रिय एकता भङ्ग गर्नुभन्दा सबै एकजुट भएर नेपाली सभ्यता, संस्कृति र मौलिकताको संरक्षण गर्नु आजको आवश्यकता हो । आफूलाई नेपाली कसरी भन्ने भन्दा पनि आफू नेपाली कसरी बन्ने त्यसतर्फ जागरुक बनौं । नेपाली पोशाक दौरा–सुरुवाल, गुन्यू–चोली र टोपीलाई राष्ट्रिय पहिरनको रुपमा सम्मान दिँदै टोपी दिवस सफल पारौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here