काभ्रेपलाञ्चोकको बनेपाबाट वि.सं. २०७० साल पुस १७ गते आरम्भ भएको राष्ट्रिय टोपी दिवस हो आज । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालको अगुवाईमा प्रत्येक वर्ष आजकै दिन यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइने गरिएको छ । नेपाल र नेपालीको विशिष्ट पहिचान भएको पोशाक दौरा–सुरुवाल, टोपी र गुन्यूचोलोलाई विदेशी पोशाकले विस्थापित गर्दै लगेको सन्दर्भमा नेपालका सम्पूर्ण जातिको पहिचानका रुपमा रहेकोले यसको संरक्षण गर्दै नेपालीपन सुरक्षित तथा प्रबद्र्धन गर्न यो दिवस मनाउन थालिएको हो ।
नेपाल अनेकतामा एकता भएको ऐतिहासिक देश हो । यो देश बहुजाति, बहुभाषी, बहुधार्मिक तथा बहुसांस्कृतिक विशिष्टता बोकेको साझा फूलबारी पनि हो । विगतमा राष्ट्रिय पोशाकको दर्जा र सम्मान पाएको हाम्रो पोशाक पछिल्लो कालखण्डमा सरकारकै कारण उपेक्षित भयो । राजनीतिक आन्दोलनका नाममा विशिष्ट पहिचान भएको पोशाकको गरिमालाई आघात पु¥याइयो । राष्ट्रिय पोशाकको मूल्य र मान्यतालाई अवमूल्यन गरियो । खासगरी २०६८ सालदेखि नेपालीलाई पोशाकविहीन बनाइयो । सूचना र प्रविधिको विकासका नाममा अलग्गै पहिचान, मौलिकता, भाषा र संस्कृतिको मर्ममा चोट पु¥याइयो । परिणाममा पाश्चात्य संस्कृति, धर्म र पहिरन हावी गराइयो ।
नेपाल मौलिक तथा सांस्कृतिक रुपमा सम्पन्न राष्ट्र हो । तर, हाम्रा नेताहरुकै कारण विदेशी संस्कार र संस्कृति, धर्म र परम्पराको हालिमुहाली देखिन थालेको छ । उदाहरण बन्नुपर्ने मन्त्री पदमा आसिन व्यक्ति नै मौलिक राष्ट्रिय पोशाक लगाउँदैनन् । यस्तो अवस्थामा नयाँ पुस्तालाई आफ्नोपनको संरक्षणप्रति सचेत बनाउन सकिँदैन । राष्ट्रको प्रतिनिधित्व राष्ट्रको झण्डाले गर्छ भने राष्ट्रको पहिचान पोशाकले कायम गर्छ । तसर्थ, परिवर्तनका नाममा गुम्न र विलय हुन थालेको नेपालीपनको संरक्षण र प्रवद्र्धन गर्न युवावर्ग नै अघि सर्नुपर्छ । त्यही अग्रसरता लिएर शुरु भएको राष्ट्रिय पोशाक दिवस अहिले नेपाली पुगेको विश्वको सबै भूगोल र क्षेत्रहरुमा क्रमशः विस्तार भइरहेको छ ।
विश्वमै छुट्टै पहिचान भएको महिला तथा पुरुषका पोशाकहरुको छुट्टै र विशिष्ट स्थान थियो । टोपी लगाएको पुरुष देख्नासाथ नेपाली परिचय स्थापित हुन्थ्यो । तर, आज कतिपय जाति र भाषीहरुले मौलिक परिचय खोज्नुपर्ने परिस्थिति बन्न थालेको छ । हरेक सभा, समारोह, पर्व, उत्सव र कार्यालयहरुमा राष्ट्रिय पोशाक पहिरिएका व्यक्ति भेटिए उनीहरुप्रति स्वतः सम्मान बढ्छ । यसकारण व्यक्तित्व, सम्मान र शिष्टताका दृष्टिले पनि खासगरी जिम्मेवार र उच्च पदासिन व्यक्तिलाई राष्ट्रिय पोशाक अनिवार्य गरिनु पर्दछ । उनीहरुले विदेश जाँदा राष्ट्रिय पोशाक लगाउनैपर्छ । त्यस्तो दवाव सृजना गर्न पनि राष्ट्रिय पोशाक दिवस सफल होस् ।