छविराज ढकाल,
पथरी शनिश्चरे ।
निकै लामो समयदेखि व्यवस्थित खेलमैदानको अभावमा तड्पीरहेका खेलाडीहरूको प्रतिक्षा पुरा हुने भएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले शिलान्यास गरेसँगै वडा नं ४,७,८ र ९ का किशोर तथा युवाहरूले सो बुद्ध रंगशालाबाट आफ्नो खेल क्षमता विकास गर्न सक्ने भएका हुन्।
बुद्ध माविको करिब दुई बिगाह क्षेत्रफलमा रहेको खेलमैदान निर्माण गर्न सुरु भए पछि स्थानीय खेलाडी गोपाल दाहाल खुसी व्यक्त गर्छन्। उनले अझै पनि भेट्रान्स फुटबल खेल खेल्न आधा घण्टा भन्दा टाढा टाढा गएर अभ्यास गरिरहेको भन्दै यहाँ भन्दा लागू औषधबाट जोगाउन र खेलजीवन सुन्दर बनाउन सहज हुने स्थानीय युवा खेलाडी गोपाल दाहालले बताएका छन्।
हाल स्थानीय युवाहरूले खाल्ल्डीखुल्डी ,सानो र सागुरो मैदानमा हाल फुटबल लगायतका विभिन्न खेलहरू अभ्यास गर्दै आएका छन्। पछिल्लो समय युवाहरूलाई लागूपदार्थ दुर्व्यसनीबाट जोगाउन र खेलतर्फ आकर्षित गर्दै उनीहरूको खेल सीप र क्षमताको प्रवर्धन गर्ने उद्देश्यले रङ्गशालाकै रूपमा विकास गर्ने उद्देश्यका साथ खेलमैदान निर्माण गरिएको बुद्ध खेलमैदान निर्माण अनुगमन समितिका सदस्य तथा प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो।
सही प्रयोजनका लागि गत शुक्रबार एक कार्यक्रमका बीच नगरपालिकाको गौरवको योजना (ड्रिम प्रोजेक्ट) को रूपमा रहेको सो रंगशालाको भौतिक संरचनाको निर्माण कार्यको शुभारम्भ भएको थियो।
पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यमा वैदिक विधिपूर्वक उक्त खेल मैदानको शिलान्यास गर्नुभएको थियो। तत्काललाई १० लाख रुपैयाँको लागतमा खेलमैदान सम्याउने काम भइरहेको नगर प्रवक्ता तथा वडाध्यक्ष नविनजंग कार्कीले जानकारी दिनुभयो । बुद्ध माध्यमिक विद्यालयको पश्चिम हातामा रहेको दुई विगाहा क्षेत्रफलमा उक्त रङ्गशाला निर्माण भइरहेको छ।
पुरानो बोट बिरुवा कटान पछि खाली रहेको उक्त क्षेत्र सम्याउने र उत्तर ( पश्चिममा पुरूवा माटो ल्याएर पुर्ने योजना रहेको नगर प्रवक्ता तथा वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । आगामी हिउँदमा पालिकास्तरीय प्रतियोगिता आयोजना गर्ने लक्ष्यका साथ हाल काम तीव्र गतिमा भइरहेको नगर प्रवक्ता तथा वडाध्यक्ष कार्कीले बताउनुभयो ।
रंगशाला निर्माणको लागि आवश्यक बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग पनि डिपीआर सहित आवश्यक पहल सुरु गरेको उहाँले उल्लेख गर्नुभयो। उक्त खेलमैदानमा आवतजावतका लागि पूर्वमा मनमोहन गान्धी सडकखण्डमा कालोपत्र हुँदै गरेको र पूर्व-पश्चिम कालोपत्रे सडक यसअघि नै प्रदेश सरकारबाट निर्माण भैसकेको छ । रङ्गशालाको रुपमा विकास गरी भविष्यमा फुटबल, क्रिकेट ,भलिबल, ब्याडमिन्टन जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना गरिने छ।