चिसोबाट बचौं

0
13

अंग्रेजी सम्वत् बुधबारदेखि फेरिएको छ । विक्रम सम्वत् अनुसार पुस १७ गते । पुस र माघमा अति जाडो हुन्छ । असोज अन्त्यदेखि तापमान क्रमशः घट्दै जान्छ र चिसो बढ्न थाल्छ । त्यसो त पछिल्लो समय चिसो कम हुँदै र गर्मी बढ्दै जान थालेको छ । जलवायु परिवर्तनको असर हिमालमा मात्र होइन तराईको तापक्रममा पनि देखिन थालेको छ । त्यहीकारण तपाईमा शीतलहर पर्ने र चिसो बढेर जनजीवन कष्टकर हुने क्रम प्रत्येक वर्ष बढ्दैछ । यसले पहाड, तराई, उपत्यकामा चिसोले कष्ट थप्ने गरेको छ । यो मौसममा खासगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगका लागि ज्यादै असहज हुन्छ ।

चिसो बढेसँगै चिसोजन्य रोगको जोखिम पनि बढ्छ । अझ विपन्न वर्गका निम्ति यो मौसम कष्टभन्दा धेरै जीवनमरणको संघार बनिन्छ । मानिस त चेतना भएका कारण चिसोबाट जोगिने उपाय अपनाउन सक्छन्, तर घरपालुवा पशुपन्छीलाई जोगाउन निकै गाह्रो हुन्छ । ग्रामीण भेगमा अहिले पनि चिसोबाट बच्न दाउरा र गुइँठा बाल्नुपर्ने बाध्यता छ । यसले घरभित्र काम गर्ने महिला र बालबालिका वायु प्रदुषणको शिकार हुने गरेका छन् । शहरी क्षेत्रमा इन्धनबाट निस्कने धुँवा, विद्युतीय सामग्री हिटरको प्रयोगले कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जन हुन्छ, जसले वायुमण्डल नै प्रदूषित हुन्छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता तत्वहरु बढी उत्सर्जन हुने कारणले चिसोको मौसम जोखिमपूर्ण रहन्छ । विपन्न वर्गको जाडोबाट बच्न प्लाष्टिक तथा जैविक फोहोर जलाउने गर्छन्, यसले थप जटिलता बढाउँछ । धुँवा तथा प्रदूषक वस्तुका कारण स्वच्छ वायुको न्यूनता मानव स्वास्थ्यका लागि चुनौती बन्छ । जनस्वास्थ्यविद्का अनुसार जैविक फोहोर, प्लाष्टिक, गुइँठा लगायतको धुँवाले श्वासप्रश्वासमा समस्या आउँछ । रुघाखोकी लाग्ने, रक्तचाप बढ्ने, पक्षघात हुने र हृदयघातको समस्या पनि देखिन सक्छ ।

चिसोबाट जोगिन घरमै बस्न र निस्कनै परे न्यानो लुगा लगाउन चिकित्सकहरुले सुझाव दिएका हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा र बालबालिका, गर्भवती र सुत्केरी महिलाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । प्रोटिनयुक्त खाना, तातो र झोलिलो खानेकुरा सागसब्जी बढी खानुपर्ने यो मौसममा सकेसम्म घाम ताप्नुपर्ने हुन्छ । तर, यस्तो सतर्कता र उपाय सबैका लागि सम्भव हुँदैन। खासगरी विपन्न वर्गका लागि उनीहरुको जीवन रक्षाका लागि स्थानीय सरकारले न्यानो कपडा र सुरक्षित बासको प्रबन्धमा ध्यान दिनुपर्छ । अनि मात्र चिसोजन्य समस्याको समाधान सहज हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here