अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहले स्थानीय शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीवार एक कार्यक्रमकोबीच स्वीटर वितरण गरेको छ ।
स्थानीयस्तरमा रहेका महिलाहरुलाई ज्ञान, सीप र तालिम प्रदान गर्दै उनीहरुको नेतृत्व विकास गर्ने उद्देश्यले २०६६ सालमा स्थापना भएको समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त स्वीटर वितरण गरेको अध्यक्ष पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।
समूहकी अध्यक्ष विश्वकर्माको अध्यक्षता र अर्जुनधारा नगर सभा सदस्य सरु बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा–२का नौ र कक्षा–३का २१ जना गरि जम्मा ३० जनालाई स्वीटर वितरण गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, समूहकी पूर्व अध्यक्ष एवम् सल्लाहकार मिश्रकुमारी राई, कोषाध्यक्ष बीनाकुमारी ताम्राकार, सदस्यद्वय भद्र गिरी, ललिता कुर्मीलगायतले स्वीटर वितरण गरेका थिए ।
समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्नो विद्यालयलाई छनौट गरि सञ्चालन गरेको उक्त कार्यक्रमको प्रशंसा गर्दै विद्यालयकोतर्फबाट प्रधानाध्यापक विनोदकुमार गौतमले धन्यवाद ज्ञापन गरेका थिए । समूहकी सहसचिव निर्मला राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।