योगेन्द्र योगी,
बिराटनगर ।
करिब पाँच महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी पाल्पाको माथागढी गाउँपालिका–७ घर भएकी र पछिल्लो समय प्युठानको सरुमारानी बस्ने २१ बर्षीय यानी सरा घर्ती मगरले आत्महत्या गरेकी छन् ।
गैरकानूनी बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी घर्ती मगरले गतडिसेम्बर २४ तारिखका दिन आत्महत्या गरेको कुवेतमा रहेका समाजसेवी घनश्याम थापा मगरले जानकारी दिए । उनले आत्महत्या गरेको जानकारी पाएपछि सरुमारानी गाउँपालिका–५ले कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव बुझ्न कुवेतमै कार्यरत मृतकका पति रामबहादुर घर्ती मगरलाई सिफारिस गरिएको जनाएको छ । मृतकको शव नेपाल पठाउन दूतावास र रोजगारदाता कम्पनीसँग समन्वय भइरहेको बताइएको छ ।
अवैध बाटो हुँदै दलालका माध्यमबाट कुवेत आउने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको त्यहाँ रहेका समाजसेवी थापामगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।
घरेलुु कामदारको समस्या जटिल छ । कुबेतमा अहिले श्रम नगरी गैरकानूनी बाटो हुँदै कुबेत आएको करिब ४२ हजार नेपाली महिला कार्यरत रहेको उनले बताए । गैरकानूनी बाटो हुँदै घरेलु काममा आउन पाउने भएपछि तेस्रो मुलुक हुँदै श्रम स्वीकृति नलिई आउने गरेको उनले बताए । कुवेतमा घरेलु महिला कामदारको अवस्था दयनीय रहेको भन्दै उनले तत्काल नेपालबाट अवैध बाटो हुँदै कुवेत आउनेहरूलाई रोक्नुपर्ने बताए । नरोके धेरै नेपाली महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
‘हामी पनि एउटा कुनै कम्पनीमा कार्यरत कामदार हौं, कति जनालाई उद्धार गर्न सक्छौं र ?’– उनले भने– ‘दैनिक रूपमा उद्धार गर्नुप¥यो भनेर कल र म्यासेज आउँछ कतिलाई सहयोग गर्छाैं, कतिलाई भागेर नेपाली दूतावास जानू भन्छौं, हरेक दिन कोही न कोही भागेर दूतावास नगएको दिन नै हुँदैन, दूतावासमा पनि सीमित कर्मचारी हुँदा समस्या छ, त्यही पनि दूतावासले धेरै सहयोग गरिरहेको छ ।’
घरेलु काममा कुबेत आउने ४० प्रतिशत नेपाली महिला समस्यामा पर्ने गरेका छन् भने एजेन्टको लापरबाहीले गर्दा धेरै चेलीबेटीहरुले आत्महत्याको बाटो रोज्ने गरेका छन् । २०२४मा मात्रै कुबेतमा चार जना नेपाली महिलाले आत्महत्या गरेका छन् । त्यसमध्ये एक जना कम्पनीमा कार्यरत थिइन् भने बाँकी तीन जना घरेलु कामदारको रुपमा थिए ।
अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर साहूको कुटपिट र यातना सहन नसकेर तत्काल भागेर वा मालिककै घरमा बसेर हारगुहार गर्ने नेपाली महिलाको संख्या ठूलो रहेको त्यहाँ रहेका नेपालीले बताउने गरेका छन् । दलालले भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।
अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह गर्ने र पछि समस्यामा परेपछि मात्र आफूलाई फसाएको थाहा पाउने गर्छन् । उनीहरू आफूलाई पर्ने समस्या कहाँ कसरी सम्पर्क गर्ने केही जानकारी नहुँदा उद्धारमा समेत समस्या हुने गरेको त्यहाँ क्रियाशील संघ–सस्थाहरुले बताउने गरेका छन् ।