दिपेश राजवंशी,
भद्रपुर ।
विगतका वर्षहरुझैं यस वर्ष पनि आठौं संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने तयारी शुरु भएको छ । हरेक वर्ष पुस २९ गते राजवंशी, ताजपुरिया, गनगार्इँ, माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।
वि.सं. २०७४ सालदेखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया, ठाकुर, गनगार्इँ, माझी आदि समुदायको संस्कार, संस्कृति तथा मौलिक परिकारहरुको सम्बद्र्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पुस २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र, त्यति बेलादेखि नै झापा, मोरङ, सुनसरी र संघीय राजधानी काठमाडौंको विभिन्न स्थानमा एकसाथ विभिन्न कार्यक्रम गरी भाक्का दिवस भव्यताको साथ मनाउने गरिएको छ ।
शुरुवातदेखि नै भाक्का दिवसलाई भव्य बनाउन देश तथा विदेशका कलाकार, अतिथि एवम् स्थानीयले साथ दिएका छन् । सदाझै यस वर्ष पनि राजवंशी समाज विकास समितिले झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आठौं संस्करणको भाक्का दिवस २०८१ आयोजना गर्दैछ । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार, यस वर्ष कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा लोकप्रिय गायिका रचना रिमाल, भारतीय कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । व्यवसायिक सेफहरुद्वारा भाक्का माछासँगै विभिन्न परिकारहरु निःशुल्क वितरण, राजवंशी संस्कृतिसंग सम्बन्धित लोक गरगहना, पहिरन तथा लोकबाजाको प्रदर्शनी रहने कार्यक्रममा हजारौं भारतीय पहुनासहित पचास हजारभन्दा बढी मानिसहरुको सहभागिता रहने र कार्यक्रममा तीस हजारभन्दा बढी मानिसहरुले भाक्का खाने आँकलन आयोजकले गरेको छ ।