पर्यटनमैत्री वातावरणको खाँचो

0
15

विश्वका ठूला उद्योगमध्ये पर्ने पर्यटन उद्योग नेपालको आर्थिक विकास लगायत देशको समग्र विकासमा उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम र अद्वितीय प्राकृतिक सौन्दर्य, मौलिक सामाजिक एवम् सांस्कृतिक प्रचलन, रीतिथिति, महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल एवम् ऐतिहासिक, पुरातात्विक सम्पदाले नेपालको गौरव त बढाएको छ नै सँगै आर्थिक विकासको सम्भावनामा पनि उत्तिकै बोकेको छ । विश्वको अग्लो हिमाल सगरमाथासँगै विश्वकै ठूलामध्येका दश वटा त नेपालमै छन् । यसले नेपालको सौन्दर्य मात्रै बढाएको छैन हिमाल आरोहण गर्न चाहनेहरुलाई पटक–पटक आकर्षित गरेको छ ।


नेपाल असिमित पर्यटकीय सम्भावनाले परिपूर्ण देश हो । हाम्रा पवित्र तीर्थस्थलहरु पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ, मनकामना, स्वयम्भू, चाँगुनारायण, लुम्बिनी लगायतका धार्मिक स्थलहरुका कारण विश्वका करोडौं हिन्दू एवम् बौद्ध धर्मावलम्वीका लागि आस्थाको केन्द्र बनिएको छ । यसका साथै भौगोलिक विविधतासँगैका अलग–अलग ठाउँहरु प्रकृति र वातावरणका पुजारीहरुका लागि नहेरी नहुने क्षेत्र बनिएका छन् । जैविक विविधताको समेत केन्द्रका रुपमा रहेका स्थलहरुलको अवलोक, अध्यनय गर्न चाहनेहरुका लागि नेपालको प्रकृति, पशुपन्छी जनावर यहाँको आकर्षण बनेका छन् ।

यति सुन्दर, प्राकृतिक छटाले परिपूर्ण, मनमोहक स्थलको अवलोकन गर्न आउनेहरु हाम्रा अतिथि हुन् । अतिथिलाई देवता सरह मान्ने नेपाली सु–संस्कार हो । यही संस्कारले विश्वका लाखौं पर्यटकलाई नेपालले स्वागत गरिरहेको छ । त्यसमा पनि पछिल्लो समय भइरहेको प्रविधि, सेवा र सुविधाले आगन्तुकहरुको मन जितेको छ । जसका कारण पर्यटन क्षेत्र नेपालको राष्ट्रिय आयको एउटा महत्वपूर्ण हिस्सा बन्दै गएको छ । यद्यपि अपेक्षित सुधार हुन नसक्दा, पूर्वाधारहरुको सुव्यवस्थापन र विकास नहुँदा, लक्षित पर्यटक नआउँदा लगानीकर्ताले आशा गरेअनुरुप प्रतिफल पाएको छैन ।

पर्यटन क्षेत्रको मुख्य पूर्वाधार मध्येको प्रमुख होटल तथा रेष्टुराँमा निजी क्षेत्रले झण्डै साढे पाँच खर्ब लगानी गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांक सार्वजनिक गर्दै करिब चार लाख व्यक्ति संलग्न रहेको यो क्षेत्रले एक लाखभन्दा बढीलाई रोजगारी पनि दिएको छ । यति ठूलो लगानी, संलग्नता र रोजगारी प्रदान गर्ने प्रमुख पूर्वाधार मध्येको क्षेत्रको गुणस्तरीयताले आर्थिक विकासको आधार तयार गर्ने भएकाले सेवालाई अतिथिमैत्री बनाउन सरोकारावाल सबैको ध्यान जानु पर्दछ । क्षमतावान र दक्ष जनशक्तिलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । आवश्यक नीति–निर्माण गरी पर्यटन क्षेत्रको वातावरण पर्यटनमैत्री बनाउनुपर्छ । अनि मात्र देशको समृद्धिमा अपेक्षित लाभ लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here