भद्रपुर ।
भद्रपुर सातौँ नगर स्तरीय तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सगरमाथा माविले उचालेको छ ।
भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुर माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सगरमाथाले ११ स्वर्ण, ४ रजत र ४ कांस्य गरी १९ पदक जित्दै उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै सगरमाथाले नगद १५ हजारसहित ट्रफि पाएका छन् । प्रतियोगितामा ५ स्वर्ण, ९ रजत र २ कांस्य गरी १६ पदक जित्दै हिमाली मावि उपविजेता बनेका छन् । हिमालीले नगद १० हजार र ट्रफि पाएका छन् ।
त्यस्तै चन्द्रभानु ज्योति माविले ५ स्वर्ण, १ रजत र २ कांस्य गरी ८ पदक जित्दै तेस्रो र वीरेन्द्र माविले ३ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १० पदक जित्दै चौथो स्थान हासिल गरेको नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । तेस्रो र चौथो हुनेले क्रमशः सात र पाँच हजार नगदसहित ट्रफि प्रदान गरिएको उनले बताए ।
प्रतियोगितामा नगर क्षेत्र भित्रका सामुदायिक र निजी गरी २४ वटा विद्यालयको सहभागिता रहेको थियो । फुटबल छात्रतर्फ सिद्धार्थ शिशु सदन प्रथम, हिमाली मावि द्वितीय र चन्द्रंभानु ज्योति तृतीय भएको छ । फुटबल छात्रातर्फ चन्द्रभानु ज्योति प्रथम, हिमाली मावि द्धितिय र सिद्धार्थ तृतीय भए ।
छात्र कबडीतर्फ चन्द्रंभानु ज्योति प्रथम, विभूति विद्या मन्दिर द्वितीय र प्रज्ञा एकेडेमी तृतीय भए । छात्रा कबडीतर्फ चन्द्रभानु ज्योति प्रथम, वीरेन्द्र द्वितीय र प्रज्ञा एकेडेमी तृतीय भए । त्यस्तै छात्र भलिबलतर्फ शिशु निकेतन प्रथम, सिद्धार्थ द्वितीय र वीरेन्द्र मावि तृतीय भए ।
छात्रा भलिबलतर्फ प्रज्ञा एकेडेमी प्रथम, मुनाल एकेडेमी द्वितीय र सरस्वती मावि तृतीय भए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स गरी ३२ खेलहरू भएको थियो । नगरस्तरीय प्रतियोगितामा प्रथम हुने विद्यालय तथा विद्यार्थीले झापा जिल्लास्तरीय प्रतियोगितामा भाग लिने जनाइएको छ ।