नेपाली सञ्जीव गिरी डेनमार्कका उत्कृष्ट बेकर

0
21

एकराज गिरी,

डेनमार्कको कोपनहेगनस्थित आफ्नो बेकरी मेसन डि’ब्रोड सँगै सञ्जीव गिरी ।

परिस्थितिले हामीलाई परिवर्तन गर्ने होइन, हामीले परिस्थितिलाई परिवर्तन गर्ने हो । वास्तवमा यही भनाइलाई यथार्थमा बदले सञ्जिव गिरीले ।

काठमाडौं नागार्जुन रामकोटका उनी अहिले डेनमार्कको कोपनहेगनमा छन् । इञ्जिनियरीङमा असफल भएका सञ्जीवले एक निर्णय लिए– ‘मलाई जीवनका हरेक पाटोमा असफल हुने छुट छैन ।’ अनि उनले रोजे बेकरी । त्यही निर्णयले उनको जीवन बदलियो, उनको परिचय बदलियो– डेनमार्कका उत्कृष्ट बेकर सञ्जीव गिरी ।

डेकमार्क जस्तो बेकरीका लागि विश्व प्रशिद्ध देशमा उत्कृष्ट हुनु कम चुनौति छैन । तर, उनी सफलताको शिखरमा छन् । उनले सन् २०२२ मा डेनमार्कको उत्कृष्ट बेकरको उपाधि जिते । त्यही उपाधि रक्षा गर्नेक्रममा यस वर्ष दोस्रो भए । उनी उत्कृष्ट केक र उत्कृष्ट बगेटको उपाधि विजेता पनि बनेका छन् । सञ्जीव स्कान्डिनेभियन देश (डेनमार्क, नर्वे र स्वीडेन)कै उत्कृष्ट केक र उत्कृष्ट बगेट (लामो, बाहिरी भाग झुरिएको र भित्री भाग कमलो भएको एक प्रकारको पाउरोटी)को उपाधि विजेता हुन् । उनको सफलतामा यूरोपमा बस्ने नेपाली हर्षित छन् । गैर आवासिय नेपाली संघ डेनमार्कका कोषाध्यक्ष देव गिरी भन्छन्–बेकरीका लागि विश्वप्रसिद्ध डेनमार्कमा उहाँको संघर्ष र सफलताले हामी नेपालीको गौरव बढाएको छ । हजारौं युवाका लागि उहाँ प्रेरणाको स्रोत हुनुहुन्छ ।’

डेनमार्कमा आफ्नै बेकरी

केही महिनाअघि उनले कोपनहेगनको सार्लटेनलण्डमा मेसन डि ब्रोड (पाउरोटीको घर) नामको आफ्नै बेकरी सञ्चालनमा ल्याएका छन् । यतिबेला उनको बेकरी सन् २०२४ को ‘सिटी बेष्ट बेकरी’को नोमिनेशनमा परेको छ । सफलतासँगै नयाँ चुनौति र स्पर्धामा अघि बढेका छन्– सञ्जीव ।

जीवनभर आफ्नै बेकरी सञ्चालन गर्ने सपना देखेका सञ्जीव अहिले १८ घण्टा काम गर्छन् । उनीसँगै बेकरी तयार गर्ने कार्यमा आठ जना खटिएका छन् मेसन डि’ब्रोडमा । उनको बेकरी उद्योग आवास क्षेत्रमा पर्छ । उनका अधिकांश ग्राहक वृद्ध उमेर समूहका छन् । उमेर समूहलाई लक्षित गरी उनले रुची र रोजाइ अनुसारका उत्पादन गरेका छन् । ‘वर्ड अफ माउथ’कै भरमा अधिक ग्राहक कमाइरहेका सञ्जिव आफ्नो बेकरी उद्योगका लागि राति २ बजेदेखि नै खट्छन् । पाउरोटी, क्र्वासँ, बगेट र पेस्ट्रीहरुका लागि पिठो तयार पार्छन् ।

मेसन डी’ब्रोड स्थापना गर्नुअघि सञ्जीव एन्डरसन बेकरी कोपनहेगनमा मुख्य बेकर थिए । त्यति वेलै उनले पर्याप्त अनुभव र पुरस्कार बटुलिसकेका थिए । एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम दशक बढी काम गरेको उनको अनुभव छ ।

डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ । एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो ।

यो बेकरी हाल विश्‍वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परीचित छ । डेनमार्कमा औपचारिक तालीम नलिएका बेकरहरूले जागीर पाउन मुश्किल थियो । त्यसैले सञ्जीवले शुरूआतमा ‘पार्ट टाइम’ काम थाले । जीवनमा केही गर्ने हुटहुटीले उनी डेनमार्कको जील्यान्ड बिजनेश कलेजमा ‘बेकिङ एन्ड फूड प्रेपरेशन’ कोर्समा भर्ना भए । साढे चार वर्षको यो कोर्स पहिल्यै उल्लेख्य अनुभव बटुलेका कारण सञ्जीवले १८ महीनामै पढिभ्याए । उनले सबै विषयमा सबैभन्दा उच्च १२ अंक ल्याए । डेनिस रानीबाट पदक पनि प्राप्त गरे ।

पेरिसमा सञ्जीवको विज्ञता

कोपनहेगनका बेकरहरूको संगठन र कलेजको सिफारिशका आधारमा उनले एपी मोलर फाउन्डेशनले युवा शिल्पकारलाई प्रदान गर्ने एक लाख डेनिस क्रोनर अनुदान पाए । जुन नेपाली १९ लाख रुपैयाँ जति हुन आउँछ । अमेरिका जाने सोचिरहेका उनी बेकिङलाई अझ परिष्कृत गर्ने निर्णयमा पुगे । यही कारण उनले संसारकै उत्कृष्ट पाक शिक्षालयमध्ये एक फ्रान्सको पेरिसस्थित ले कोर्डन ब्लेउ कलेजमा एड्भान्स बोल्यान्गर कोर्स पढे ।

त्यति वेला संसार कोभिड–१९ महामारीले आक्रान्त थियो । संसारलाई आजित बनाएको कोरोना भाइरसको महामारी उनका लागि भने फलदायी सावित भयो । जसले गर्दा उनले एकाग्रह भएर पढाइमा ध्यान दिन पाए । बगेट र क्र्वासँ बनाउन उनी पहिल्यै पारंगत थिए ।

फ्रान्स बसाइका क्रममा उनले बेकिङमा समय र तापक्रमको जटिलताबारे सिके । अहिले यति अनुभव बटुलिसकेका छन् कि उनी के नमिलेर पकवान बिग्रियो भन्ने हेरेरै भन्न सक्छन् ।

नयाँ पकवानमा रुचि

उनी विभिन्न स्थानबाट र कहिलेकाहीं बिदा या मौसम अनुसारको पकवान बनाउनुपर्दा नयाँ पाकपद्धतिको ज्ञान पाउँछन् । सामान्यतः नयाँ पकवानका लागि थुप्रै परीक्षण गर्नुपर्छ र थुप्रै पटक असफल भइन्छ । यस्तै नयाँ पकवानमध्ये एक थियो– फर्सी केक मिसाइएको क्र्वासँ जुन उनका ग्राहकमाझ निकै चर्चित भएको थियो ।

सञ्जीवको अर्को सिर्जना स्याउ, ताजा क्रिम र जापानी सिट्रस फलफूल युजु मिसिएको मूस केक हो । यसैले सञ्जीवलाई सन् २०२२ मा डेनमार्कको उत्कृष्ट केकको प्रतियोगितामा विजयी बनाएको थियो । सन् २०२१ मा उनले डेनमार्कको उत्कृष्ट बगेट प्रतियोगिता पनि जितेका थिए ।

डेनमार्क जानुअघिका संघर्ष

सञ्जीवको यस यात्राको शुरूआत भने दुई दशकअघि काठमाडौंबाट भएको थियो । सञ्जीव त्यति वेला इन्जिनीयरिङ अध्ययनरत् थिए । तर मन इन्जिनीयरिङमा थिएन । उनले परीक्षामा राम्रो अंक ल्याउन सकिरहेका थिएनन्ँ, त्यसैले निर्णय गरे– इन्जिनीयरिङ छोड्ने ।

उनी सेफ एशोसिएशन अफ नेपालले प्रदान गरेको तालीममा सहभागी भएका थिए । प्रारम्भमा उनले भारतीय–चिनियाँ खानामा हात हाले र क्याटरिङमा पनि काम गरे । तर उनलाई दुवै मन परेन । कामकै सिलसिलामा उनले बेकिङबारे थाहा पाए जुन अन्ततः उनको करिअरकै प्रस्थानबिन्दु बन्यो र जीवन फेरियो । सहयोगी परिवार र आफ्नै काका सेफ भएकाले उनको निर्णयमा बल पुग्यो ।

यसपछि उनी सोल्टी क्राउन प्लाजाको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सामेल भए । त्यहाँ उनले स्काई सेफ्स बेकरी विभागमा पनि काम गरे । अत्याधुनिक बेकिङ उपकरण सहितको भान्सामै प्रवेश पाएका सञ्जीव हवाई यात्रुका लागि खाना तयार पार्थे । सोल्टीबाट सञ्जीवको यात्रा कतारको दोहातर्फ मोडियो । सन् २००६ मा उनी सहित १२ जनाको समूह बेकरीकै काममा दोहा उड्यो । तर सञ्जीव दोहामा पनि त्यति सन्तुष्ट भएनन् । त्यसपछि उनी उनी डेनमार्क उडे । जहाँ उनकी श्रीमती अध्ययन गरिरहेकी थिइन् ।

सफलतासंगै सञ्जीवको लक्ष्य

कोपनहेगनका उत्कृष्ट बेकरीहरूमा काम गर्दा होस् वा पेरिसमा बेकरी पढ्दा होस्, वा अहिले आफ्नै बेकरीमा होस् सञ्जीवले आफ्नो वयस्क उमेर यही क्षेत्रमै बिताएका छन् । ३९ वर्षे सञ्जीवका जीवनको यो अवधि संघर्ष, उतारचडाव तथा नयाँ मोडहरुले भरिएको छ । कसैले कसैलाई हात समातेर सगरमाथाको चुचुरोमा पु¥याउन सक्दैन । सफलता सौखबाट होइन, इच्छा आकांक्षाको भोकबाट प्राप्त हुन्छ । अनि सफलता टुप्पोबाट पलाउँदैन, जमिनबाट उम्रिन्छ ।

सञ्जीव अनुशासन, जिज्ञासा र लगावका कारण आफू यो विधामा पारंगत भएको ठान्छन् । निरन्तर उत्कृष्ट नतीजा प्राप्त गर्न स्थापित मान्यता पछ्याउनुपर्ने विश्वास गर्छन् । उनी किताब वा इन्टरनेटमा भेटिएका पाकपद्धतिको अथक रूपमा परीक्षण गर्छन् ।

“आफूले सिकेको सीप कार्यान्वयन गर्न सक्नुपर्छ,” सञ्जीव भन्छन्, “बेकिङका लागि लगाव हुन अति आवश्यक छ किनकि यो पेशामा सफल हुनु भनेको जीउ थकित हुने गरी लामो अवधिसम्म काम गर्नु हो ।”

वर्षौंयता डेनमार्कमा नाम कमाइरहेका सञ्जीव अब नेपालमै बेकिङ स्कूल खोली आफ्नो सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन् । अब उनी काठमाडौंमा बेकिङ स्कूल खोल्ने योजनामा छन् । भन्छन्–अब काठमाडौंमै मेसन डी’ब्रोड खुल्न धेरै समय लाग्दैन ।

भनिन्छ, हजारौं किलोमिटरको यात्रा एक पाइँलाबाट शुरु हुन्छ । पहिलो पाइँला चाल्न डराउने हो भने यात्रा नै शुरु हुँदैन । यात्रा शुरु गर्न पहिले नै पाइला चाल्नै पर्छ । त्यसपछि मात्र पाइलाहरुले हजारौं किलोमिटर नाप्न सक्छन् । कठीन दिनहरुलाई अवसरमा दबलेर कैयौं माइलको यात्रा पूरा गरिसकेका, धेरै युवाहरुका प्रेरणा बनेका सञ्जीवलाई अझ सफलताको शुभकामना । तस्वीरहरू सौजन्य : सञ्जीव गिरी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here