अर्जुनधारा ।
झापाको अर्जुनधारा–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको अध्यक्षमा आदर्श पोखरेल चयन भएका छन् ।
यस अघि सचिव रहेका उनी संस्थाको शनिबार सम्पन्न चौथो अधिवेशन एवम् आठौं साधारण सभाबाट आगामी दुई वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा सविन बुढाथोकी, सचिवमा चेतन थापा, सहसचिवमा रोजिना थापा, कोषाध्यक्षमा स्वस्तिका बस्नेत र सदस्यहरुमा एलिसा बस्नेत, गंगा चौधरी, प्रतिमा आचार्य र सालमली दियाली रहेका छन् ।
त्यस्तै साधारण सभाबाट पुनः टंक बस्नेतको संयोजकत्वमा अस्मिता पोखरेल र लक्ष्मी आचार्य सदस्य रहेको तीन सदस्यी लेखा समिति गठन भएको निर्वाचन समितिका संयोजक देवेन्द्र मैनालीले जानकारी दिए ।
संस्थाको कार्यालय प्राङ्गणमा समितिकी अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समितिकी अध्यक्ष न्यौपानेले गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बस्नेतले गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सदस्य प्रतिमा आचार्यले स्वागत गरेको कार्यक्रममा नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली र सल्लाहकार केदारनाथ पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव पोखरेलले गरेका थिए ।