‘मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न सकेको छैन’

0
12
काठमाडौँ,
मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न नसकेकामा सरोकार भएकाहरूले चिन्ता व्यक्त गर्नुभएको छ । ब्रेन एन्ड न्युरोसाइन्स सेन्टर (बिएएनसी) नेपालको शुभारम्भ कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यबारे अझै पनि खुलेर कुरा गर्न सक्ने अवस्था नभएको र जनचेतना पुग्न नसकेको बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पनि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना थप बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोग के हो भनेर बुझाउन सकिएको छैन । यस सेवाको पहुँच विस्तारका लागि पनि काम गर्नु पर्नेछ । हाल धेरैजसो सेवा राजधानी केन्द्रित छन्, १४ वटा जिल्लामा मात्र यो सेवा पु¥याउन सकेका छौँ । जनशक्तिको कमका कारण यस्तो भए हो । सेवा विस्तारका लागि हामी प्रयासरत छौँ ।”
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्रा डा सरोजप्रसाद ओझाले नेपालमा मानसिक स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा पुग्न नसकेको बताउनुभयो । “मानसिक समस्या भन्नेबित्तिकै गलत बुझाइ छ तर यसलाई चिर्न सबैतिर यससम्बन्धी सचेतना बढाउन सकिएको छैन । यस्ता खालका संस्थाको आवश्यकता बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
मानसिक रोग विशेषज्ञ डा रवि शाक्यले मानसिक समस्या बढ्दै गएको तर जनचेतनाको अभावकै कारण अझै पनि धेरैले खुलेर भन्न नसकेको धारणा राख्नुभयो । उहाँले धेरैले मानसिक समस्या यकिन भए पनि कहाँ जाने भनेर थाहा नपाउने र थाहा भएकाहरू पनि सही ठाउँमा पुग्न नसकेका बताउनुभयो ।
सेन्टरका संस्थापक निर्देशक तथा मनोचिकित्सक डा ऋषभ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्द्धन र विकास गर्न सेन्टरको स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार सेन्टरले मनोचिकित्सक तथा मनोविद्मार्फत मानसिक ओपिडी सेवा, मनोवैज्ञानिक परामर्श, व्यक्तिगत थेरापी, टेलिपरामर्शलगायत सेवा र मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यअनुसार काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here