झापा ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीको घरमा दिनदहाडै लुटपाट हुँदा समेत त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
डीआईजीको अर्जुनधारा–९स्थित मूलघरबाट १५ लाख रुपैयाँ बरावरको धनमाल चोरी भएको थियो । उक्त घरमा डीआईजीकी आमा र साथमा दाजु रश्मिशखेर सुवेदी बस्ने गरेका थिए । गतपुस १८ गते दिउँसै उनको घरमा चोरी भएको हो ।
दिनदहाडै घरबाट नगद ६ लाख रुपैयाँ सहित चार तोला सुन लगेको डीआईजीका दाजु रश्मिशेखरले जानकारी दिए । डीआईजी सुवेदीका दाजु पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश पार्षद हुन् ।
६ लाख रुपैयाँ नगद घरमा राखेको थिएँ– पत्रकार रश्मिशखेरले भने– म घरमा थिइँन, साँझ घर फर्कदा ढोका फोरेर नग सहित आमाका सुनका गहना, अन्य सामान गरी १५ लाख रुपैयाँ बरावरको धनमाल दिन दहाडै लुटेर लगेछ । प्रहरीलाई तत्काल जानकारी गराउँदा समेत चोरीमा संलग्नलाई पक्राउ नपर्नु दुखद् हो ।
यता यस विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले घटनाको सूक्ष्म रुपमा अध्ययन भइरहेको बताएका छन् । उनले घटनामा संलग्नको पहिचान गर्न प्रहरी परिचालन गरिएको बताए ।