वीपी र सीकेका सहयात्री तुर्सा हेमरम

0
21

झापाको कनकाई नगरपालिका–१ जामुनबारीमा रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानले २८औं तुर्सा हेमरम स्मृति दिवस विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम गरेर मनाएको छ । तुर्सा हेमरम सबै झापालीका लागि आदर्श नेता रहेका छन् । नेपालमा प्रजातन्त्र स्थापनाका लागि वीपी कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोग्ने झापाली योद्धा हेमरम लोकतान्त्रिक योद्धाका रूपमा सदैव रहिरहनेछन् । पिछडिएको जातिबाट उदाएका लोकतन्त्रवादी नेता हेमरम सबै प्रजातन्त्रवादीका हृदयमा अनुकरणीय छाप छाड्न सफल नेता हुन् । उनी आज यस संसारमा छैनन्, तर उनको लोकतन्त्रप्रतिको आस्था, मानवताप्रतिको विश्वास, स्वतन्त्रताप्रतिको समर्पण र आम देशवासीप्रतिको स्नेह उनलाई चिन्ने, उनको बारे थाहा पाउने, उनीसँगै काम गरेका हरेकका मनमस्तिष्कमा अमिट भएर रहेका छन् । कटु तीतोसत्य के हो भने २०४६ सालको जनान्दोलनपछि सबैभन्दा बढी समय नेपाली काङ्ग्रेस सत्तामा बसेको छ, तर जनअपेक्षित उपलब्धि प्राप्त हुन सकेन ।

लोकतन्त्रका सबल र उज्याला पक्षलाई धुलीसात् पारेर दुर्गुण र विसङ्गतिको महारोगले आक्रान्त बनाएको र मुलुकले हजारौं नेपालीको हत्या र हिंसाको कहालीलाग्दो कहर वास्तवमा तुर्सा जस्ता इमान्दार, सादगी र लोकतन्त्रप्रति अटुट आस्था राख्ने नेताका आदर्शलाई भुलेर र वेवास्ता गरेर आएको हो । अझै पनि नेपाली जनता भोक, रोग, अशिक्षा, वेरोजगारी र असुरक्षाको चपेटामा पर्न अभिषप्त छन्, यसको सबैभन्दा ठूलो दोषको जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ । भारतको हालको झारखण्ड राज्यको दुम्का जिल्लामा जन्मेका तुर्सा हेमरमले वीपी कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रूपमा काम गरेका थिए । उनी आफ्ना आमाबुबाको साथ लागेर चार–पाँच वर्षको उमेरमा नेपाल आएका थिए ।

हेमरमलाई प्रसिद्ध समाजवादी चिन्तक सीके प्रसाईंले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । तुर्सा सबैका प्रिय थिए । सीकेसँगको संसर्गमा संकोच नभएको, भेद्भाव नगरिएको र समस्यामा आर्थिक, भौतिक र वैचारिक सहयोग पाएको हेमरम बताउने गर्थे । हेमरमले २००६ सालमा वीपीलाई भेटेका थिए । राणा शासन विरोधी सशस्त्र सङ्घर्ष र त्यसपछिका २०१४ सालको भद्र अवज्ञा, २०१५ सालको आम चुनाव र तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र हरण गरेपछि पनि नेपाली काङ्ग्रेसको छातामुनि हेमरम क्रियाशील रहे । प्रजातन्त्र अपहरणपछि उनले पञ्चायती शासकहरूको ठूलो यातना सहनुपरेको थियो । उनले जतिसुकै दमन, अन्याय र जेलको यातना भए पनि लोकतन्त्रप्रतिको निष्ठालाई कहिल्यै त्यागेनन् ।

२०४९ साल फागुन ३ गतेदेखि झापाको कलबलगुडीमा शुरु भएको नेपाली कांग्रेस पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मेची रङ्गशालामा भएको उद्घाटन सत्रमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले नपढेको आदिवासीको छोरा भएर पनि तुर्साले लोकतन्त्र, नेपाली काङ्गे्रस र मुलुकको लागि ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । स्व. हेमरम मुलुकको समस्त विकासका लागि निष्ठावान र प्रजातन्त्रका इमान्दार सेनानी थिए । प्रजातन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गर्ने अथक योद्धा थिए ।

उनी जातीय पहिचानप्रति अत्यन्तै सजग थिए । उनी सादा जीवन उच्च विचारका धनी थिए । तुर्सा २०२९ सालमा जेल परेर सात वर्षपछि मात्र रिहाइ भएका थिए । पछि सत्याग्रह आन्दोलनका बेला २०४२ सालमा पनि उनलाई छ महिना झापामा ल्याएर जेल हालिएको थियो । उनका समकालीनहरुले स्मरण गरेका छन्– जेलमा यातना दिँदा उनी भन्थे– ‘म माफी माग्दिनँ, म जनताको मान्छे हुँ, तिमी सेना, पुलिस र कर्मचारी त जनताका कारिन्दा हौ, तिमीहरू मलाई किन कुट्छौ ?’ प्रजातान्त्रिक आन्दोलनमा उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि सङ्गठनमा आबद्ध गराएका थिए । नेपाली काङ्ग्रेसभन्दा डराउनुपर्ने पञ्चायती व्यवस्थाको कालरात्रीमा सन्थालहरुले प्रजातन्त्रप्रति देखाएको समर्थनका कारण धेरै सन्थालहरु पञ्चायतको दमनको शिकार हुनुप¥यो भने तराई÷मधेशमा औलोसँग लडाइँ गर्दै जमिन आवाद गरेर बसेका उनीहरुको जोताहा खोसियो र जमिनबाट विस्थापित गरियो । शासक र सामन्तको दोहोरो चपेटामा सन्थालहरू परेका थिए ।

तुर्साले प्रजातन्त्र र जनताका लागि दिन मात्र चाहेका र व्यक्तिगत लाभ लिन कहिल्यै नचाहेको काङ्ग्रेसका पुराना नेताहरु बताउँछन् । हेमरमका शरीरमा यातनाका चोटका दागैदाग रहेका थिए । उनले लोकतन्त्र र नेपाली काङ्ग्रेसको पक्षमा उभिएर पीडा र यातना भोग्नु परेकोमा कहिल्यै पनि पश्चाताप नगरेको उनलाई चिन्ने काङ्ग्रेसीजनको भनाइ छ । मुलुक र मुलुकबासीको बृहत्तर हितका लागि सोच्न र काम गर्न ठूलो कुलघराना वा उपल्लो भनिने जातिमा जन्म लिइरहनुपर्दैन भन्ने उदाहरण तुर्सालाई मान्न सकिन्छ । आदिवासी सन्थाल जातिकै भएता पनि तुर्साले प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रही महत्वपूर्ण योगदान गरेका थिए । २०१५ सालको आमचुनावबाट १०९ सिट रहेको संसदमा ७४ सिटसहित दुई तिहाइ सिट जित्न सफल नेपाली काङ्ग्रेसमा सबै तुर्सा जस्ता आस्थावान र इमान्दार नेता थिएनन् । नेपाली काङ्ग्रेसभित्र आत्मघातीहरू पनि थिए ।

इतिहासमा दर्ज भइसकेको कुरा के हो भने २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई युवाहरूको कार्यक्रमस्थलबाटै सेनाले गिरफ्तार गरी कैयौं दिनसम्म बेपत्ता पारेर अन्त्यमा सुन्दरीजल जेलमा गैरकानूनी रूपमा बन्दी बनायो । त्यतिबेला सन्तनेता कृष्णप्रसाद भट्टराई, लौहपुरुष गणेशमान सिंह आदि जस्ता नेताहरूले वीपीलाई साथ दिए र प्रजातन्त्रको पक्षमा उभिए, राजाको सैनिक अधिनायकवादी शासनको विरोध गरे, तर नेपाली काङ्ग्रेसका ७४ जना सांसद मध्ये ५५ जनाले राजाको कदमको स्वागत गरेका थिए ।

संसदमा चार सिट भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव डा. केशरजङ्ग रायमाझीले राजा महेन्द्रको कदमलाई ‘प्रगतिशील कदम’ भनी वक्तव्य दिए र आफ्ना कमरेडहरूलाई दीपावली गर्न सुझाए । यस्तो बेलामा पनि आदर्शलाई बचाई राख्ने तुर्सा जस्ता लोकतन्त्रवादी नेताको आदर्शको चर्चा आजको सन्दर्भमा तीतो लाग्न सक्छ । तर, वास्तविकता भनेको तुर्सा जस्ता नेताको आदर्शलाई पाइतलामनि कुल्चेकै कारणले आजको दुःख आइपरेको हो । सन् १९५० कै सेरोफेरोमा अङ्ग्रेजको जञ्जिरबाट मुक्त भएको भारत, अमेरिकी र जापानी उपनिवेशबाट मुक्त भएको चीन, नयाँ राष्ट्रको रूपमा पुनः जीवन पाएको इजरायल लगायतका मुलुक विकासका सूचकाङ्कमा धेरै प्रगति गरेका छन्, तर हाम्रो मुलुकले किन आशातीत उन्नति गर्न सकेन ? जनता सम्पन्न भएर मात्र नेता सम्पन्न हुन सक्छन् भन्नुभन्दा पनि नेता आफू मात्र सुख–सुविधा लिने र मुलुकको सर्वाङ्गीण हित नसोचेकै कारणले नेपालको आजको दुर्दशा भएको हो ।

तुर्सा हेमरमले सन्थाल जातिका लागि मात्र नभएर समग्र मुलुकका लागि र जनताको सुख–समृद्धिका लागि आफ्नो समस्त जीवन अर्पेको स्मरण गर्दै समस्त जातजाति, भाषाभाषीको संरक्षण र विकासका लागि राज्य जिम्मेवार हुन आवश्यक छ । तुर्साका आदर्श र सपनालाई सबैले पछ्याएर मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । वर्तमान नेपाली राजनीतिमा निष्ठा र आदर्शप्रतिको बफादारितामा कमी भइरहेको यथार्थबीच प्रजातान्त्रिक समाजवादका सच्चा अनुयायी रहेका तुर्साको जीवनबाट प्रेरणा लिनुपर्छ । तुर्साको जीवनीबाट नेपाली कांग्रेस मात्र होइन, सबै पार्टीका नेतृत्वले आत्मसमीक्षा गर्न र नैतिकताको पाठ सिक्न जरुरी छ ।

निष्ठा, क्रियाशीलता र निरन्तरता तुर्साका सबल पक्ष थिए । सादगीपन, समर्पण र मुलुकको माया उनका अनुशरणीय गुणहरू हुन् । नेपाली जनताको मत र मन दुबै जित्न तुर्साको आदर्शबाट सिक्न आवश्यक छ । २०५४ साल पुस २० गते तुर्साको देहान्त भएको थियो ।

आज हामी श्रद्धाका साथ उनलाई सम्झिरहेका छौं । उनले आफ्नो सम्पूर्ण ऊर्जा, क्षमता, वैंश, सुख–सुविधा र ऐश्वर्य त्यागेर आदर्श र निष्ठाको राजनीति गरे । तुर्सा हेमरम जस्ता निष्ठावान, संघर्षशील र लोकतन्त्रप्रति प्रतिबद्ध नेताहरूको आदर्श भुलेर गुटबन्दी, नातावाद, कृपावाद, अहम् र स्वार्थकेन्द्रित भएमा फेरि पनि लोकतन्त्र धरापमा पर्ने हो, तुर्साका सपनाहरू बिस्कुन बनेर सडकमा असरल्ल छरिने हुन् र नेपालको अहित चाहने शक्तिहरूको मुलुकमा रजाइँ चल्ने हो । तुर्सा हेमरमको जीवनी सबै राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने नागरिकहरूका लागि अनुकरणीय छ ।

हेमरमले आफ्नो सम्पूर्ण जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गरे । उनले सामाजिक, राजनीतिक काम गर्न चाहनेका हृदयहृदयमा इमान्दारिताको मिसाल खडा गरेर गए, चेतनाको दीप प्रज्ज्वलित गरेर गए र व्यक्तिगत स्वार्थलाई तीलाञ्जली दिएर सोच्ने जो कोहीका लागि तुर्सा प्रेरणापुञ्ज बनेर सबैका हृदयमा छन् र रहने छन् । हेमरम नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्र हुन् । तुर्साको आदर्श नपछ्याएका कारण आज नेपाली काङ्ग्रेस र मुलुकले समस्या व्यहोर्नुपरेकोमा दुई मत हुन सक्दैन । वीपी कोइराला र सीके प्रसाई जस्ता दिग्गज नेताहरू पनि तुर्साको त्यागको प्रशंसा गर्थे, तसर्थ तुर्साले दिशा निर्देश गरेको सत्य र आदर्शको बाटोमा सबै पक्ष अघि बढ्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here