झापा, नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले ‘कचनकवल – सगरमाथा जागरण अभियान’को तयारी पूरा भएको बताएका छन् ।
संगठन सुदृढीकरण , ऐतिहासिक खोज ; सम्बृद्धिका आधार र जलवायु परिवर्तनको मुख्य उद्देश्य सहित सञ्चालन गर्ने जागरण अभियानको उद्घाटन नेपालकै होचो भू– भाग कचनकवल स्तम्भबाट शुरु गरिने र सगरमाथामा पुगेर त्यसलाई समापन गरिने सभापति थापाले बताए ।
अभियानको उद्घाटन पुस २४ गते झापाको कचनकवल गाउँपालिकास्थित कचनकवल स्तम्भबाट शुरु हुने सभापति थापाको भनाई छ । अभियान सात महिनासम्म चल्ने छ ।
कोशी प्रदेशका १४ वटै जिल्लामा अभियान अन्तरगत कार्यक्रम हुने छन् सभापति थापाले भने – कोशी प्रदेशको प्राकृतिक ,सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गरिने छ, समग्र प्रदेशको विकास , एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो ।
संगठन सुदृढीकरण, पार्टीमा गुट–उपगुटको अन्त्य, भातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजवुद र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाको भनाई छ ।
अभियानको उद्घाटन समारोहमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केन्द्रीय नेताहरुको उपस्थिति रहने छ भने १४ वटौ जिल्लाका सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र जिल्लाबासीको बाक्लो उपस्थिति रहने सभापति थापाले बताए । कार्यक्रममा सहभागी सबै केन्द्रीय सदस्यहरुले शान्तिको प्रतीकका रूपमा परेवा उडाउने छन् भने कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरुले मुलुकमा दिगो शान्ति र पार्टी भित्र वृहत एकताका परेवा उडाउने कार्यक्रम तय भएको बताइएको छ ।
उद्घाटन समारोहमा कोशी कांग्रेस स्वास्थ विभाग र ॐ साई पाथीभरा हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुनेछ भने नेविसंघ र तरुण दलको संयोजनमा रक्तदान आयोजना गरिने कार्यक्रम छ ।
उद्घाटन समारोहमा २०२८ सालको वामपन्थी आन्दोलन , झापा आन्दोलन र माओवादीको ससस्त्र युद्द सहित विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरु बुटन चौधरी , गोपाल टुडु , उद्रकान्त चौधरी , विश्वनाथ घिमिरे , याम आचार्य , श्यामसुन्दर यादव , सुरज विश्वास लगायतको परिवारलाई सम्मान गरिने बताइएको छ ।
जागरण अभियान प्रत्येक महिना २ जिल्लामा उक्त जिल्लाको पहिचान र विशेषताका आधारमा सञ्चालन हुने र असार २० गते सगरमाथाको आधार शिविरमा समापन हुने बताइएको छ । सोलुखुम्बुको सल्लेरी, जहाँ संसारकै सर्वोच्च शिखर सगरमाथा अवस्थित छ ।