बिर्तामोड ।
महिला उद्यमी संघ नेपाल झापाको नवौं साधारणसभा तथा ५ औं अधिवेशन सोमवार बिर्तामोडमा सम्पन्न भएको छ ।
अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको समारोहको उद्घाटन प्रमुख अतिथि महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय अध्यक्ष शोमा ज्ञवालीले गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सप्तकोशी सफल उद्यमी पुरस्कार दीपा खरेल र एक्सल सफल उद्यमी पुरस्कार जमुना राईलाई प्रदान गरियो ।
उक्त अवसरमा दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रमुख अतिथि ज्ञवाली तथा अध्यक्ष पौडेलसहित अतिथिहरुले दोसल्ला ओढाइ सम्मान–पत्रद्वारा सम्मान गरेका थिए ।
महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा संस्थाले सञ्चालन गरेको दुना, टपरी बनाउने तालिमका प्रशिक्षकहरु अञ्जना अधिकारी, वेदकुमारी सुवेदी, दुर्गा अधिकारी, गोमादेवी प्रसाईं र विना प्रसाईंलाई सम्मान गरिएको थियो ।
अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा भएका रचनात्मक काम समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, महासंघकी तृतीय उपाध्यक्ष बासन्ती प्रधान, बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं, पत्रकार महासंघ झापाका अध्यक्ष गिरी, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत इन्द्रदेव कट्टेल, नारी संकल्पकी अध्यक्ष तुलसा खरेल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन लगायतले मन्तव्य राखेका थिए ।
संस्थापक अध्यक्ष गोमा भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष शर्मिला अधिकारी र सञ्चालन सचिव युनिता दवाडीले गरेको पूर्वअध्यक्ष नैनकला भट्टराईले जानकारी दिइन् ।
यसैबीच संस्थाको आगामी कार्यकालका लागि अधिवेशनले शर्मिला अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । संस्थाको बोर्डमा निवर्तमानको अध्यक्षको रुपमा सुष्मा पौडेल रहने छिन् भने वरिष्ठ उपाध्यक्षमा युनिता दवाडी, उपाध्यक्षमा दीपा खरेल, महासचिवमा दीपा श्रेष्ठ, सचिवमा पुनम अधिकारी र कोषाध्यक्षमा उमा पोखरेल चयन भएका छन् ।
त्यस्तै कार्य समिति सदस्यहरुमा लक्ष्मी मिश्र, बोलो राजवंशी, अञ्जु निरौला, गोमा पोखरेल, विष्णु श्रेष्ठ, पुष्पा पोखरेल र हेलेन खरेल चयन भएका छन् ।