सुन्दरहरैंचामा प्रथम थारू माघी महोत्सव २०८१ हुने

0
15

बिराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘प्रथम थारू माघी महोत्सव-२०८१’ हुने भएको छ । थारू सांस्कृतिक संग्रहालयले प्रथम थारु माघी महोत्सव २०८१ सप्ताहव्यापी मनाउने भएको छ । माघी पर्वको अवसरमा सुन्दरहरैंचा-४ मा रहेको थारू सांस्कृतिक संग्रहालयको आयोजनामा यहीँ माघ १ गते देखि ७ गतेसम्म माघी महोत्सव हुने भएको हो ।

सुन्दरहरैँचा-४ दुलारी स्थित हवेली टोलमा रहेको थारू सांस्कृतिक संग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो । कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि-सभ्यता पहिचान सहितको संस्कार र सस्कृती भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

माघी महोत्सवमा थारू खानपिन/परिकार, प्रदर्शनी एवम् बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायतका करिब ७० भन्दा बढी स्टलहरू रहने छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तेजनारायण चौधरीले बताए ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारू खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शन तथा दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संयोजक चौधरीले बताए ।

‘महोत्सवमा ४० वटा औद्योगिक र ३० वटा खानपिनको स्टल हुनेछ । त्यसका साथै हामीले स्थानीयस्तरका कलाकारहरूको प्रस्तुतिलाई समेत विशेष प्राथमिकता दिएका छौं,’ संयोजक चौधरीले भने । महोत्सवमा कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका स्टलहरू, मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए ।

थारू संग्रहालयमा थारू संस्कार र संस्कृति झल्किने सामाग्रीहरू राखिने संग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले बताए । ‘हामीले यो संग्रहालयलाई थारु जातिको सभ्यता संस्कार-संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेको छौं । यो उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको सहयोग आवश्यक छ,’ उनले भने ।

थारू सांस्कृतिक संग्रहालयको स्थापना गर्न स्थानीय सरकारको तर्फबाट सक्दो भूमिका खेल्ने सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर अकली चौधरीले बताइन् ।
नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेरावारिको लागि १० लाख रुपैयाँ बजेट छुट्टाएको र संग्रहालय निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुटाउनेसमेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।

उपमेयर चौधरीले महोत्सवमा स्थानीय कला र कलाकारलाई पर्याप्त स्थान र समय दिन आयोजकलाई आग्रहसमेत गरिन् । महोत्सवको व्यवस्थापनका लागि करिब ६० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । महोत्सवमा दैनिक ५० लाखदेखि १ करोडसम्मको व्यापार हुने साथै दैनिक १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here