पथरी शनिश्चरे ।
पथरी शनिश्चरे नगरपालिकाका कर्मचारीहरूको कार्यालय सञ्चालन तथा व्यवस्थापन सेवाकालीन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आज नगरपालिकाको सभाहलमा दिवसीय सेवाकालीन प्रशिक्षण कार्यक्रमको समापन भएको हो । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा भएको सो प्रशिक्षणमा नगरप्रमुख तुम्वापोले आफुले सिकेका कुराहरुलाई नगरको समग्र विकासका लागि कानुनी झन्झटलाई हटाउदै अगाडि बढ्न आग्रह गर्दै पथरी शनिश्चरे नगरपालिकामा ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू र प्रशिक्षकलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रम मंसीर २० गतेबाट सञ्चालन भएको थियो । कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारी नेता होइन, कर्मठ कर्मचारी भएर काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागीको तर्फबाट तुलसा लकान्द्री र रोशन पोख्रेलले तालिमको विषयमा आफ्ना कुरा राख्नुभएको थियो । स्थानीय तहमा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारीहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावाखेल ललितपुरको आयोजना र पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन भएको थियो ।
कार्यक्रमको प्रशिक्षार्थीको रुपमा पथरी शनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका र सुनवर्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । सो प्रशिक्षण तालिमको सहजकर्ता दिपक थापा र सन्तलाल श्रेष्ठले गर्नुभएको थियो ।