लहडमा खुलेका ‘डिपार्टमेन्ट स्टोर’ धमाधम बन्द

0
619

सुरेन्द्र भण्डारी,
झापा ।

आफ्ना शेयर सदस्यसहित सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा गुणस्तरीय घरायसी सामग्री एउटै छानामुनिबाट उपलब्ध गराउने दीर्घकालीन सोचसहित झापाका अधिकांश सहकारीले डिपार्टमेन्ट स्टोरहरु सञ्चालनमा ल्याए ।

विश्वव्यापी फैलिएको कोरोना संक्रमण अघि नाम चलेका र ठूला सहकारीले एक पछि अर्काे गर्दै झापाका विभिन्न ठाउँमा डिपार्टमेन्ट स्टोरहरु सञ्चालनमा ल्याए । केही सहकारीले त आफ्नो सेवा केन्द्र जहाँ–जहाँ छन् त्यहाँ–त्यहाँ त्यस किसिमका डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याए । निक्कै तामझामका साथ सञ्चालनमा ल्याइएका त्यस्ता डिपार्टमेन्ट स्टोरहरुले केही समय आफ्ना शेयर सदस्य तथा आम उपभोक्ताको ध्यान केन्द्रीत पनि गरे । उनीहरुकै देखासिकीमा अन्या साना र मझौला सहकारी संस्थाहरुले समेत त्यस किसिमका डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न थाले ।

सहकारीले डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दा दूरगामी असर के पर्न सक्छ भन्ने बजारको आकलन नै नगरी लहडकै भरमा सञ्चालनमा त्याइएका सहकारी पसल (डिपार्टमेन्ट स्टोर) अहिले एकपछि अर्काे गर्दै बन्द हुँदैछन् । हौसिएर सञ्चालनमा ल्याइएका त्यसखाले पसल अहिले धमाधम बन्द गर्दै आगामी दिनमा आयमूलक व्यवसायको खोजीमा सहकारी संस्था पुगेका छन् । कोरोना संक्रमण पछि व्यवसाय सुस्ताएसंँगै सहकारी पसल समेत फस्टाउन सकेनन् । त्यसको दूरगामी असर संस्थालाई परेको देखिन्छ ।

कोरोना संक्रमणपछि अधिकांश सहकारी संस्थाले मुनाफा गर्न सकेका छैनन् । दुई वर्ष अघिसम्म मुनामा उल्लेख्य देखाएका सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई लाभांशसमेत बितरण गर्न सकेका छैनन् । केही सहकारीले नगन्य मात्रामा लाभांश बितरण गर्दै आएका छन् । सहारा नेपाल , नेपाल वहुउद्देश्यीय जस्ता ठूला सहकारीले समेत मुनाफा घटेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कुनै समय झापामा ‘दवदवा’ कायम गरेका सहकारी संस्थामा हाल ताल्चा झुण्डिएको छ । तिनै सहकारीले सञ्चालनमा ल्याएका डिपार्टमेन्ट स्टोरहरु समेत बन्द छन् । जसको ज्वलन्त उदाहरण हो शिखर सहकारी संस्थाले सञ्चालनमा ल्याएको डिपार्टमेन्ट स्टोर । शिखर सहकारीले सञ्चालनमा ल्याएको बिर्तावजारको ‘शिखर बजार’ सहकारी पसल अहिले बन्द छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका समेत केही सहकारी पसल बन्द छन् । एनएमसीको बिर्तामोडमा सञ्चालित सहकारी पसल बन्द छ । स्वरोजगार भवानी सहकारी संस्थाले बिर्तामोडमा सञ्चालनमा ल्याएको सहकारी पसल बन्द गर्ने कि सञ्चालन गर्ने दोधारमा पुगेको सञ्चालकहरु बताउँछन् ।

आर्थिक मन्दीपछि सुस्ताएको व्यवसाय चलायमान नहुँदा धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्ना पाँच ठाउँका पसल बन्द गरेको छ । संस्थाले सञ्चालन गर्दै आएको साधुटार, सिस्ने, जयपुर, पुँहातुवारी र ज्ञानेचोकस्थित पारिजात डिपार्टमेन्ट स्टोर बन्द गरेको हो । गोलधापमा सञ्चालित कृषि सम्वन्धि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस पसललाई भने आयमूलक र कृषि क्षेत्र अन्तरगत उत्पादनमूलक व्यवसायको पहिचान गरी सञ्चालन गर्ने अध्यक्ष किशोर भट्टराईले बार्षिक साधारण सभामा प्रस्ताव गरेका छन् । उपभोग्य वस्तुको थोक व्यवसायलाई भने निरन्तरता दिने कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए ।

सहकारी पसल सञ्चालनमा समस्या देखिएपछि बन्द गरेर संस्थाले कृषकको हित हुनेगरी व्यवसायिक रुपमा गँड्यौले मल उत्पादन, मौरीपालन, च्याउ खेती, नगदे तथा फलफूलबाली उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । आफ्ना शेयर सदस्यले उत्पादन गरेको सामग्री खरिद गर्दै बजारीकरण गर्ने तयारीमा रहेको कार्यकारी प्रमुख पौडेलले बताए । जसका लागि एक करोड रुपैयाँ लगानी थप गर्दै आफ्ना शेयर सदस्यलाई विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क बितरण गर्ने तयारी थालिएको छ ।

कोभिडपछि केही फ्याक्ट्री बन्द हुनु, तिनका डिलर उठ्नु, म्याद गुज्रिएका सामग्री फिर्ता गर्न नसक्नु, डिपार्टमेन्ट स्टोरमा सामग्री खरिद गर्ने लक्षित युवा विदेश पलायन हुनु जस्ता विभिन्न कारणले धौलागिरी पारिजातले सञ्चालनमा ल्याएका पसल चलाउन नसकिएको कार्यकारी प्रमुख पौडेल बताउँछन् । उनी भन्छन् –बजारको सम्भाव्यता अध्ययन भएन, सहकारी पसल खोलियो, यही बीचमा कोभिड महामारीको सामना गर्नु प¥यो । अझ लक्षित युवा नै स्वदेशमा छैनन् । अनि को आउँछ सहकारीले सञ्चालनमा ल्याएका डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्न ?

त्यसो त झापामा सहकारी पसल मात्र बन्द छैनन् । केही सहकारी संस्था नै बन्द छन् । केही संस्था उच्च जोखिममा परेका छन् भने केही सहकारी जोखिममा छन् । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले झापाका ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । तर, बिर्तामोड नगरपालिकाका पूर्ब सहकारी विभाग प्रमुख डिल्ली दाहालले भने झापामा ५० भन्दा बढी सहकारी संस्था जोखिममा रहेको बताएका छन्् । झापामा सञ्चालित जयपुर, समाजसेवी, शिखर, संयुक्त कलाकर्मी, पहिलो पाइला लगायतका सहकारी उच्च जोखिममा छन् । दाहालका अनुसार सञ्चालक आफैंले सहकारीबाट ऋण लिनु, राजनीतिक दलको छत्रछाँया पर्नु र केही अभियन्ताले २० लाख रुपैयाँसम्मको ऋण मिनाह हुन्छ भन्ने अफवाह फैलाउनुले समेत सहकारीहरु जोखिममा परेको बताएका छन् ।

धौलागिरीको नाफा १६ लाख

बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आवमा १६ लाख ६७ हजार १३१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको शुक्रबार बिर्तामोडमा सम्पन्न १७ औं बार्षिक साधारणसभाको अवसरमा सो जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष किशोर भट्टराईद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार १२ हजार ७२६ जना शेयर सदस्य रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पुँजी ६ करोड ३६ लाख ६२ हजार दुई सय रुपैयाँ रहेको छ । संस्थाले कोषवृद्धि गरी २ करोड ७१ लाख ६९ हजार ५५५ रुपैयाँ पु¥याएको छ । गत आवमा संस्थाले ३७ करोड ५ लाख ९० हजार ७३५ रुपैयाँ बचत सङ्कलन गरेको छ भने ४० करोड १९ लाख ६७ हजार ४२५ रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवमा १५२ जना शेयर सदस्यहरुलाई राहत बापत ७ लाख १० हजार १०८ रुपैयाँ उपलब्ध गराइएको संस्थाले जनाएको छ । कार्यक्रममा गत आवमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सीता नेपाल, खिनादेवी मिश्र दाहाल र सरु कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

चालू आवदेखि शेयर सदस्यहरुलाई घरमा आवश्यक इलेक्ट्रोनिक्स सामान शून्य प्रतिशत ब्याजदरमा उपलब्ध गराउने निर्णय गरेको छ । २०६१ सालमा स्थापना भएको संस्थाले झापामा ९ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको छ । संस्थाले बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल र दैनिक उपभोग्य वस्तुहरुको थोक विक्रेताको कार्य गर्दै आएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, साना किसान सहकारी संस्था हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगी, बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व प्रमुख डिल्ली दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सञ्चालक सदस्य माधवप्रसाद आचार्यले गरेका थिए । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रम शिक्षा उपसमिति सदस्य ज्ञानेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here