जग्गा व्यवस्थापन गर्न सभाभुखलाई आग्रह

0
32

शनिश्चरे ।

झापाको अर्जुनधारा नगरपालिकाले नगरभित्र रहेको जग्गाको स्वामित्व सम्बन्धी समस्याहरुका सम्बन्धमा प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा सरोकार–वालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरी, प्रदेशसभा सदस्य चिन्तन पाठक, नगरपालिका उप–प्रमुख खड्गमाया पराजुलीलगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिसहितको उपस्थितिमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नगरका भूमि सम्बन्धी फोकल पर्सन वीरबहादुर राईले नगरभित्रका जग्गाको स्वामित्व सम्बन्धी समस्याहरुका बिषयमा जानकारी गराएका थिए । उनले अर्जुनधारा–१ को नेपाली सेनाको जग्गा समस्या, अर्जुनधारा–११ स्थित टेकबहादुर गिरी बस पार्कको ५१ बिगाहा जग्गाको समस्या, वडा नम्बर ७, वडा नं. २, वडा नम्बर ८ लगायतका जग्गाका समस्याका बारेमा सभामुखलाई जानकारी गराएका थिए ।

यसैगरी अर्जुनधारा–१ को समस्याका बारेमा मुक्तिनाथ पौडेल, वडा नं. ७ को अमृत लामिछाने, वडा नं. ८ को टंक घिमिरे, वडा नं. ११ को जग्गा समस्याका बारेमा सुजन शिवाकोटीले आ–आफ्नो तर्कसहित सभामुख घिमिरेलाई जानकारी गराएका थिए । भूमिसुधार तथा मालपोत कार्यालय झापाका प्रमुख राजेशप्रसाद पोखरेलले समस्या भएका जग्गा र कानूनी जटिलता सम्बन्धी आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

सवैका कुरा सुन्दै सभामुख घिमिरेले समस्या भएका र त्यसको समाधान सबैले मिलेर खोज्नु पर्ने बताए । ‘२०/२१ सालदेखिका समस्या हुन्’ सभामुख घिमिरेले भने –‘ब्यवस्था परिवर्तन भएको छ, यत्रो ब्यवस्था परिवर्तन हुँदा पनि समस्या समाधान भएका छैनन् ।’

उनले अर्जुनधारा नगरपालिकामा जग्गा सम्बन्धी समस्याका बिषयमा पटक–पटक गरेर तीन पटक बैठक बसिसकेको बताउँदै भने –‘आयोगले सवै समस्या समाधान गर्नुपथ्र्याे, राजनीतिक अवस्थाकै कारण आयोगले काम गर्न सकेन, तर, आयोग पुनः गठन भएको र जिल्ला तहमा पनि गठन हुने क्रममा रहेका कारण समस्या समाधान हुनेमा आफू आशाबादी रहेको छु ।’ उनले सरकार पटक–पटक परिवर्तन हुनुले पनि समस्या ज्यूँका त्यूँ रहेको बताए ।

उनले अब आउने आयोगले सवै अधिकार लिएर आउने आशा भएकाले आयोगलाई काम गर्न सवैले सहयोग गर्नु पर्ने बताउँदै आफू समस्या समाधानकै पक्षमा रहेको दावी गरे । सभामुख घिमिरेले अर्जुनधारामा नदी समस्याको चर्चा गर्दै आफूले सकेसम्म समस्या समाधानमा पहल गरिरहेको र गरिरहने आश्वासनसमेत दिएका थिए । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरका प्रशासन सहायक सौजन कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here