ऐनामा आफूलाई नियाल्दा बान्की मिलेकी नवयौवना देखिन्थेँ । बाह्रैमास सेताम्मे देखिने कञ्चनजंघा हिमालको काखमा लुटपुटिएको पहाड पखेरोलाई लालिमय औ मनमोहक तुल्याउन ढ्कमक्क फुल्ने लालिगुराँससँग सघन साइनो, सामीप्यता औ स्पर्शले गर्दा होला सुन्तले रङमा खुलेको ललाटले मेरो सुगठित शरीरको सुन्दरतालाई अझ निखारे झैं लाग्थ्यो । मानौ शिल्पी हातले मेहनत लगाएर तयार पारेको नमूना चित्र जस्तै चुस्तदुरुस्त थिएँ म । मेरो लोभलाग्दो रुप र भर्भराउँदो जवानीको रापतापमा सेकिन जोकोही पुरुष लालायित हुन्थे ।
मस्त जवानीको प्रताप र प्रभावले होला यौवनारम्भ मै एक वयस्क युवक मलाई माग्न कुटुनिको लर्को लिएर मेरो घर दलानमा पाइला राख्छन् । मेरो वैयक्तिक स्वतन्त्रता माथि धावा बोल्छन् । स्वास्नी बनाएर मेरो कौमार्य लुट्न र सारथिको बहानामा जीवनपर्यन्त म माथि हकदावी गर्न रितपूर्वक मेरो हात बाबुआमासँग माग्छन् । हुर्केकी छोरीचेलीको मगनिमा भने जस्तो कुटुम्भ आउँदा नाइनास्ती गर्ने चलन नै हुन्नथ्यो गाउँघरमा । तसर्थ, प्रचलित रितिथिती अनुसार मेरो बिहेको कुरो पक्कापक्की गरियो । भद्रभलाद्मी र अभिभावकको निर्णयको खिलाफमा प्रश्न उठाउने सामथ्र्य थिएन मसँग । त्यसैले यौवनारम्भमै मेरो बिहेको लगन जुराइयो ।
पठनपाठन प्रतिको मेरो रुचिमा त्यो दिनदेखि पूर्णबिराम लाग्यो, जुनदिन मेरो बिहे भयो । दुलही भएर घरमा भित्रिएँ । परिवारको लाडप्यारमा हुर्केकी नवयौवना, माइतीघरको सम्झनाले शुरु–शुरुमा खुब न्यास्रिएँ । साथीसंगीको यादले तड्पिनुसम्म तड्पिएँ । आखिर नौलो घर परिवेशमा रत्तिनुको अर्को विकल्प नै थिएन मसँग । सम्हालिएँ र रत्तिएँ पनि ।
स्वतन्त्रताको निर्वाध उपभोगले रमाएकी केटी, घर गरी खानुपर्ने बोझिलो जिम्मेवारी बालात् बहन गर्नुपर्दा निसास्सिएको महशुस गरेँ । अर्थोपार्जनका स्रोत–साधन न्यून, आवश्यकता चाहिँ खात माथि खात लागेको देखेर अतालिएँ । तैपनि घरकी जेठी बुहारी भएकिले म माथि चाङ लागेको जिम्मेवारी बहन गर्न र मप्रतिको आशा–भरोसा टुट्न नदिन कुनै कसर बाँकी राखिनँ । दिन, रात, सरद, शिशिर हुँदै बसन्त उदायो । बोट–वृक्षले पाउला फेरे, उजाड पाखा पखेरोमा हरियाली छायो । हिमचुली चुलिइने र स्खलित हुने उपक्रमसँगै बर्ष दिन बिते । जोइपोइले आमा–बाबु बन्ने सौभाग्य प्राप्त गर्यौं ।
पुत्ररत्नको आगमनले घर झलमल्ल भयो । हामी हर्षविभोर भयौं । समय बित्दै गयो । पहाडी भेगमा उकालो–ओरालो, कुटो–कोदालो गरेर जीवनमा बद्लाव ल्याउन सक्ने सम्भावना किञ्चित देखेनौं । त्यसैले सुन्दर भविष्यको सपना सजाउँदै परिवारको माया र ममतालाई मुटुमा राखेर सहर पस्ने निधो गर्यौं ।
चिल्ला–फराकिला सडक, बडेमानका घर, कोलाहल धुलोधुँवा र दुर्गन्धले निस्सासिने प्रदुशित सहरी वातावरणमा जम्न र रम्न सहज थिएन । तर, अवसरलाई थुतेर दैनन्दिन गर्जो टार्नु र बक्ररेखामा यात्रारत जीवनलाई सरल रेखामा घिसार्नु थियो हामीलाई । मानवता, प्रेम समभाव क्षिण बन्दै गएको साँघुरो मन भएका मान्छेहरुको शहरमा अवसर थुत्नु सकसपूर्ण हुन्छ भन्ने थाहा हुँदाहुँदै मध्यम व्यापार हुने एउटा गल्लीमा सटर भाडामा लिएर किराना सामान बिक्री गर्ने व्यवसाय शुरु गर्यौं । कोठाको चाँजोपाँजो चाहिँ दोकानदेखि पैदल हिँड्दा आधा घण्टा लाग्ने बस्तीमा मिलायौं । घरभाडा, महँगी, मन्द व्यापारको कारण दुःख–कष्ट झेल्दै जेनतेन दुइ वर्षभन्दा उता शहर बसाइ लम्ब्याउन सकेनौं । अन्ततः शहरलाई वाई वाई गर्दै गाउँघर नै फर्कियौं ।
गाउँघर छाडेर शहर पस्ने फेरि गाउँ फर्कने नियति सुखद् त हुँदैन नै उसै । हाम्रो लागि त अझ कष्टदायी बन्यो । थोरैतिनो जेथो रित्याइएकोले शहर पस्ने रहर पारिवारिक कलहको कारक बन्यो । हाम्रो मानो छुट्टियो । एकाघर– परिवारबाट छुट्टिनु परेपछि व्यवहारिक बोझ थपिएसँगै मानशिक तनाव खेप्नुपर्दा जीवनयात्रा कठिन मोडमा ठिङ्ग्रिए झैं लाग्यो । सम्भावना उधिन्ने र आर्थिकरुपले सबल बन्ने ध्येयले लोग्नेको वैदेशिक रोजगारीको निम्ति खाडी मुलुक जाने प्रस्तावलाई अस्विकार गर्न सकिनँ । उनी गएको पनि पाँच वर्ष पूरा पुगेर छ वर्ष लाग्यो । शुरुको एक वर्षको कमाइले साहुको ऋण तिर्दै ठिक भयो । दोस्रो वर्ष जेनतेन घर खर्च टार्नेसम्म पठाए । त्यस उप्रान्त उसको कमाई हात लाग्न पाएन । कल गर्दा मरेर उठाउँछन् । जवाफमा कमाइ छैन भन्छन् । घर फर्कनुभन्दा’ हुन्छ, भन्न छाड्दैनन् फर्किने छाँट पनि देखाउँदैनन् । झन् हिजोआज सम्पर्कबाट टाढा हुँदै गएकाले खुब पिरोलिएकी छु ।
घरमै स–सानो किराना दोकान खोलेकी पनि एक साल जति भयो । घरको गर्जो टार्ने वैकल्पिक माध्यम बनेको छ । सानो बाबुको स्कूलमा लाग्ने खर्च र भान्सा हसाउन टेवा पु¥याएको छ । उसको कमाइको आशा मरिसकेकोले आत्मनिर्भर बन्ने ध्याउन्नमा छु । भौतिक र भावनात्मक हिसाबले हाम्रो दुरी बढ्दै गएको कारण आफन्तजनको कटाक्षपूर्ण व्यवहारले निचोरिएको कागती झैं भएकी छु । कोही नारीहरु जसको लोग्ने वैदेशिक रोजगारीमा छन्, त्यहाँको रेमिटले गाउँघरमा चुरीफुरी देखाउने भएका छन् । कोही परिवार र सन्तान प्रतिको स्नेह र कर्तव्य चटक्कै भुलेर परपुरुषको उष्ण अङ्गालोमा बाँधिएका छन् । अभागी म चाहिँ उनले माया मार्दा समेत लोग्ने प्रतिको श्रद्धाभाव रत्तिभर कमि हुन दिएकी छैन । उनको प्रेम सद्व्यवहारको खडेरीमा पानीले भरिभराउ तलाउको याचना गरिरहेकी छु । प्रताडना सहन गरेर बाँचेकी छु ।
उनी र घरपरिवारप्रति मेरो यतिको प्रेम र साधना भएर पनि म प्रति किन उदासीन भएको होलान् उनी ? मनमा हरपल उठिरहने यो प्रश्नको उत्तर पाउन सकेकै छुइनँ । दराजमा लेपस्सिएको ऐनामा आफूलाई पुनः एकपटक नियाल्छु र उनले भोग्नुपूर्व र अहिलेको मेरो रुप, यौवन तुलना गर्छु, सुन्दरतामा कमि आएको पाउदिनँ । म सँग ती चिजहरु कुनैको अभाव देख्दिनँ, जुन भोग गर्दा लोग्ने अतृप्त हुँदैनन् । यद्यपि उनको म प्रतिको उदासीनता देख्दा मनमा वितृष्णा भुल्भुली उम्लन्छ र उनीप्रतिको प्रेमभाव स्वतः स्खलित हुन्छ…
एक जना वयस्क पुरुष जो चालिसौं बसन्त छिचोलिसकेको हुँदा हुन् । मेरो आँखामा अचानक उदाउँछन् । शिष्ट औ नम्र स्वभाव, सुगठित शरीर एवम् धारा प्रवाह बोल्ने खुबीका हुन्छन् । केही दिनअघि मात्र उनीसँग शुक्रबारे हाट–बजारमा देखभेट भएको हो । अल्कोहल र फ्रुट ड्रिङ्क प्रोडक्टको मार्केटिङ गर्छन् । पूर्वी पहाडी बजार फिक्कल, इलाममा व्यापार गर्ने उनको रुट हरेक शुक्रबार पर्दोरहेछ भन्ने कुरा अनुमान लगाउन मलाई कठिन भएन । किनकि यो भन्दा अघि पनि झापा बिर्तामोडबाट हाट–बजारकै दिन होलसेलमा सामान बिक्री गर्ने गाडी गुड्ने गरेको, त्यस्तै गाडीबाट सस्तोमा सामान खरिद गरेको मलाई राम्रो अनुभव छ । पुराना होलसेलरले खोइ किन रुट माया मारे थाहा भएन । उनको व्यवसायिक निरन्तरतामा क्रमभङ नभएको यदि थियो भने तिनैसँग किनमेल गरिरहेकी हुन्थेँ । नयाँ खोजी गर्ने जरुरत पर्दैन थियो ।
खरिदकर्ता र बिक्रीकर्ताबीच हुने सामान्य सम्बन्ध असामान्य बन्दै गयो । उनीसँग मात्र किन यस्तो भयो मलाई नै थाहा छैन । अप्रत्याशित ढंगले उनीसँग म यतिबिध्न सम्मोहित भएँ कि दैनिक फोनमा गफगाफ नगरी केही हराए झैं केही छोडिए झैं आभाष हुन थाल्यो । हाम्रो व्यवसायिक सम्बन्ध भावनात्मक– संवेदनात्मक हुँदै अन्तर्य बुझ्ने र दुख्ने स्थितिसम्म पुगेको महशुस गर्छु । सामाजिक सञ्जालको उपयोग गरी उसको प्रोफाइल हेर्छु, जहाँ उसका विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित सृजनाहरुको संगालो पढ्न भ्याउँछु । फेसबुकमा पोष्ट गरेका उनका स्टाटसहरु छिचोल्छु । उनका सृजनाहरुले जीवनका लागि रङ भरेका हुन्छन् । दुःख, पीडा र संघर्षका गाथा चित्रण गरेका पाइन्छन् । तिता विगत सुनौलो आगतका रङ यत्रतत्र सर्वत्र शब्दचित्रमा पोतिएका हुन्छन् । थाहा छैन किन हो उनी प्रतिको मोहभावले भिमकाय आकार लिन्छ र लोग्नेप्रतिको मोह–क्रमभङ्ग हुन्छ ।
बिहानै उठेदेखि बेलुकी अबेरसम्म कामको चटारोले फुर्सद हुन्न । घर÷पसलको कामधन्दा र बाबुलाई स्कूल पु¥याउने–ल्याउने काम तोकिएको दैनिकी झैं बनेको छ । दिनभरको कार्यव्यस्तताले थाकेर लोहोत हुन्छु । बेलुकीको कामधन्दा सकेर एक घण्टा नानीको पढाईप्रति ध्यान दिने गर्छु । अनि मात्र ओछ्यामा पल्टने र निदाउने चेष्टा गर्छु । निद्राले साथ नदिएर अनिँदो रात बिताएको थुप्रो भयो । मनमा नानाथरीका कुरा खेलिरहन्छन् । आँखा वरिपरि त्यही पुरुषको प्रतिविम्व सल्बलाउँछ ।
चुक घोप्टिए झैं अँधेरी रात । बाबू निदाइसकेको हुन्छ । सियो खसे आवाज आउने चकमन्न वातावरण । पल्लाघरे काइँला बाको कर्कश घुर्घुराहटले अघिको सन्नाटा बिथोल्छ । मनभित्र एकखाले भय उत्पन्न भइ शरीर लुगलुग काँप्छ । लोग्नेको मोबाइल नम्बरमा कल गर्छु, रिङ प्रतिध्वनित हुन्छ कल उठ्दैन । संसयरुपी धमिलो बादल मडारिन्छ मनको निर्मल आकाशमा । प्रश्नैप्रश्नका दर्के पानीले निथ्रुक्क भिज्छु । बिहेपछि कर्तव्यपरायण पत्नीले पूरा गर्नुपर्ने जिम्मेवारीप्रति कञ्जुस्याइँ गरेकै छुइनँ । तर पनि बिहेअघि गरेका बाचाबन्धन तोड्न किन चाहन्छन् ? मेरो प्रेमको उपहास गर्दै मसँग किन टाढा हुँदैछन् ? मैले के गल्ति गरेँ र दुर्नियति भोग्न विवश छु ?
निरुत्तरित भएकि छु । विचरा ! भनेर सहानुभूति देखाउने समेत कोही छैन । हितैको मान्छेलाई साझेदारी गरे पीडा–वेदना कम होला कि भन्ठानेर मेरो हृदयको ढोकानिर उभिएका तिनै परपुरुषलाई कल गर्छु । जीवन भोगाइबारे बेलिविस्तार कहन्छु । म प्रति उनको सप्रेम सद्भाव र सदाशयता रहेको पाउँदा पुलकित हुन्छु । मेरो लोग्ने र परपुरुषलाई तुलना गर्छु, आकाश– पातालको गुणात्मक अन्तर रहेको पाउँछु । मृदुल उनका अभिप्रेरणाले जीवन संघर्षको निम्ति ऊर्जा थपेको अनुभूति गर्छु । निदाउने चेष्टाले कोल्टे फेर्छु । कानमा उनकै वाणी गुञ्जिरहन्छ, आँखामा उनकै आकृति नाचिरहन्छ ।
उनी को हुन् ? कस्ताखाले मान्छे हुन् ? उनका अभिष्ट के हुन् ? उनका उज्यालो–अध्यारो पक्ष के–के हुन् ? उनको सम्पूर्णताबारे ज्ञात छैन । सूक्ष्म तवरले खोजीनीति गर्ने मेरो बिषय पनि होइन । तर, यति चाहिँ निर्धक्क साथ भन्न सक्छु । उनी महान आमाको बहादुर छोरा हुन्, सरल पत्नीको असल पति हुन् र कुशल अभिभावक हुन् । बेथिति र भ्रष्टाचारले थला परेको मुलुकप्रति गहिरो चिन्ता राख्ने शुभचिन्तक हुन् । सामाजिक÷आर्थिक रुपान्तरणको महान अभियानप्रति समर्पित देशभक्त नागरिकको प्रतिनिधि पात्र हुन् ।
विकृति, विसंगति र विभेदबिरुद्ध जाइलाग्ने लडाकु हुन् । दुःख, प्रताडना औ जीवन संघर्षको पर्याय हुन् । समस्या र संकटको चुटाइ खाएर मर्माहत हुँदा समेत अविच्छिन्न÷अहोरात्र कर्तव्यपथमा पाइला अगाडि बढाउने अविचलित योद्धा हुन् । उनको मृदु बोली, सरल जीवनशैली सकारात्मक सोच–विचार–व्यवहारप्रति अथाह प्रभावित छु म । र त उनको प्रियपात्र बन्ने बान्छित् याचना गर्न थालेकी छु । लोग्नेको दुव्र्यवहार, आफन्तहरुको उपेक्षाले थलिएका आम नारीको प्रतिनिधि पात्र झैं बनेकी म प्रति सुन्दर, सुशील, संस्कारी परपुरुषको सदव्यवहारले पुलंकित छु । त्यसैले जीवनयात्राको यस्तो जटिल मोडमा उभिएकी छु, गन्तव्य निर्दिष्ट गर्ने सामथ्र्य गुमाएर किंकर्तव्यविमुढ छु ।