गणेशप्रसाद खनालको आत्मवृत्तान्त एक प्रेरणादायी कृति

0
16

आफूले जीवनमा सुनेका, देखेका, काम गरेका, भोगेका, सिकेका, उपलब्धी गरेका र समाज अनि देशलाई योगदान दिएका यावत कुराहरु एक ग्रन्थमा सिलसिलेबार उतार्नुलाई आत्मवृत्तान्त या जीवनी भन्न सकिन्छ । जसमा सम्बन्धित व्यक्तिको जीवनको नालीबेली समेत समेटिएका हुन्छन् ।

समाज र देशलाई निकै महत्वपूर्ण अर्थात् अनुरकणात्मक योगदान दिएका व्यक्तित्वहरुका बारेमा लेखिएका ग्रन्थहरुले समाजमा सकारात्मकता, प्रेरणा र उत्साह प्रवाह गर्दछन् । यहाँ यस्तै राम्रो आत्मवृत्तान्तको बारेमा छोटो चर्चा गरिन्छ । त्यो हो बिर्तामोड झापा निवासी शिक्षा सेवी ‘गणेशप्रसाद खनाल’को ‘आत्मवृत्तान्त’ ।

सर्वप्रथम यस आत्मवृत्तान्तबारे सभामुख देवराज घिमिरेको विचार पढौँः ‘जीवन सार्थक बनेको तब मानिन्छ जब जीवनले व्यक्तिगत घेरालाई पार गरेर सामाजिक वृत्तमा प्रवेश पाउँछ । श्री गणेशप्रसाद खनालको जीवन सार्थक बनेको बलियो प्रमाण हो यो आत्मवृत्तान्त ।’ सभामुख घिमिरेको विचार जस्तैः गणेशप्रसाद खनालको जीवनको घेरा सहकारीबाट शुरु भएको सरकारी जागिरदेखि निवृत्त जीवन हो । जसले जागिरबाट अवकाश भएपछि व्यक्तिगत या पारिवारिक जीवन आरामले बिताए हुने थियो । तर, त्यो घेरालाई पार गरेर समाज र देशका लागि उच्च शिक्षा जस्तो विद्याको उज्यालो छर्न, हजारौँ विद्यार्थीहरुको भबिष्य साकार बनाउन मेहनतको मैदानमा उत्रिनु उदाहरणीय योगदान हो ।

यस ग्रन्थका लेखन सहयोगी मनोज लुइँटेलको विचारबाट जानौँ, जीवन समस्या र अभावको पर्याय मात्र होइन । जब जीवनले यी अभाव र समस्याका बीचमा पनि सुन्दर जीवनको परिकल्पनामा अहोरात्र संघर्ष गर्दै सफलताको सिँढीमा अगाडि बढ्दै जान्छ तब सफलताले पनि चुम्दै जान्छ । लुइँटेलको विचार जस्तैः गणेशप्रसाद खनालले अहोरात्र खटेर जीवनलाई सफलताको उचाइमा पु¥याएका पाइन्छन् । बाल्यकाल, युवाकाल र राष्ट्र सेवाका क्रममा भोगिएका ती अभाव, अप्ठ्यारा र दुःखहरुसँग संघर्ष गर्दै अघि बढ्दै आज आफ्नै महाविद्यालयको यात्रासम्म गरिएका यावत वृत्तान्त निकै रोचक र प्रेरणादायी छन् ।

यस आत्मवृत्तान्तको प्रकाशकीयमा प्रकाशित बुध खनालको शब्दहरु अनुसार, गणेशप्रसाद खनाल वि.संं. २०१७ साल चैत्रमा सहकारी सबइन्स्पेक्टरका रुपमा सरकारी सेवामा प्रवेश गरेका हुन् । ३१ वर्षसम्म सरकारी सेवामा बिताएर अवकाश जीवनमा शैक्षिक कर्ममा लागेर उच्च शिक्षासम्मको उज्यालो छरिरहेका छन् ।

ग्रन्थका सम्पादक विष्णुकुमार भट्टराई र डा. रुपकप्रसाद खनालका विचार निकै महतवका छन्ः हरेक व्यक्तिको जीवनी र उसका योगदानहरु यसरी समेटेर पुस्तक बनाउँदा व्यक्तिको जीवनको मात्र नभएर देशकै जीवन जान्नका लागि यस्ता पुस्तक महतवपूर्ण हुन्छन् । देश निर्माणमा केही योगदान गरौँ भन्ने उद्देश्य लिएको व्यक्तिले निवृत्त भएर पनि देशकै सेवामा समर्पित हुने संकल्प लिएर केही गरिरहेको अवस्थाको दस्तावेज यो पुस्तक हो । यस्ता कृतिहरु समाजको लागि मार्गदर्शक हुनेछन् र गणेशप्रसाद खनाल जस्तो अदम्य उत्साह र लगन भएको मानिस पाउन सके समाजको स्वरुप बद्लिने र सकारात्मक ऊर्जा प्रवाहित भई देश आत्मनिर्भर हुन सक्ने कुरामा द्विविधा छैन ।

साँच्चै खनाल कतिसम्म उत्साही र सक्रिय छन् भने त्रियासी वर्षको उमेर पुग्दा पनि शिक्षाका काममा सक्रिय छन् । उनले त्रियासी वर्षमा यस कृतिको पाण्डुलिपी तयार गरेका हुन् । गणेशप्रसाद खनाल आफैमा शिक्षाप्रेमी भएकाले यस पुस्तकमा अधिकांशतः शिक्षा सम्बन्धी विशेष विचारहरु समेटिएका छन् । यस ग्रन्थमा दुई खण्डहरु छन् । खण्ड ‘क’ मा विभिन्न व्यक्तिका नजरमा गणेशप्रसाद खनाल सम्बन्धी लेखहरु रहेका छन् । यसमा ६० जनाको लेख समेटिएका छन् । खण्ड ‘ख’ मा आत्मवृत्तान्त समेटिएका छन् । यसमा, गणेसप्रसाद खनालका २८ वटा लेख छन् ।

सरु भूर्तेल खनालको शिक्षाको ज्योति छर्ने मेरा कर्मपिता शीर्षकको लेख अनुसार, गणेशप्रसाद खनालले वि.सं. २०५३ देखि गोमेन्द्र बहुमुखी महाविद्यालय स्थापना गरेका हुन् । तर छोटो समयमै उत्कृष्ट बनेको छ । सुवास निरौलाको दूरदर्शी बुवा शीर्षकको लेख अनुसार, खनालमा दूरदर्शीता प्रचुर मात्रामा छ । उत्तम खनालको मेरा बा शीर्षकको लेख अनुसार, गणेशप्रसाद खनाल उच्च आदर्शका अनुपम प्रतिमूर्ति, प्ररेणाका स्रोत, उदाहरणका खानी, संघर्षका प्रतिक, न्यायका लागि मरिमेट्ने, प्रजातन्त्रप्रेमी, घुसखोरी चाकरी र चाप्लुसी गर्नेहरुका निम्ति कठोर, अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने, कर्तव्यनिष्ठ रहेका छन् ।

पत्रकार एकराज गिरीको गणेश सर र गोमेन्द्र नहुँदो हो त म पत्रकार बन्ने नै थिइन शीर्षकको लेखमा यस्तो उल्लेख गरिएको छ । गणेश सर संस्थापक र प्रिन्सिपल मात्र होइन शिक्षक पनि हो । उहाँको कक्षामा प्रायः सबै विद्यार्थी उपस्थित हुन्थे । उहाँ एउटा इतिहास हो जीवित इतिहास । उहाँबाट धेरै विषयको ज्ञान लिन सकिन्छ । बोली, इमान्दारिता र सहनशीलता यी तीन गुणले मानिसलाई असल र सफल बनाउँछ । काममा निरन्तर लगाव नै सफलता हो । हरेक विद्यार्थीलाई यही भन्नुहुन्थ्यो उहाँ ।

कोमलप्रसाद पोखरेलको केही विशेषताभित्र गणेश खनाल शिर्षकको लेख अनुसार, गणेशप्रसाद खनालले २०१६ सालमा एसएलसी उतीर्ण हुँदै २०३८ सालमा एमएसम्मको शिक्षा हासिल गरेका हुन् । उनले झापामा कम्प्यूटर शिक्षा भित्र्याए र यस विषयमा सर्वप्रथम हुने व्यक्तिका रुपमा प्रतिष्ठिापित भए । साहित्यप्रेमीका रुपमा पनि गणेश खनाललाई चिन्न सकिन्छ ।

शिक्षासेवी गणेशप्रसाद खनालले जीवनमा के–के संघर्ष गरे, भोगे, सिके अनि समाजलाई के योगदान दिए ? आत्मवृत्तान्त खण्डमा क्रमशः उल्लेख गरिएका छन् । यस ग्रन्थमा साखेजुङ्गको विशेषता जान्न सकिन्छ साथै अन्य ठाउँका पनि निकै जानकारीहरु समेटिएका छन् । ग्रन्थमा खनालले आफ्नो बाल्यकाल र जीवनका कालखण्डहरु निकै गहिरो गरी सम्झना गरेका छन् । आफ्नो घरको अवस्थादेखि संघर्षका दिनहरु र उपलब्धीका चरणहरु सिलसिलेबार उल्लेख गरेका छन् । बाल्यकालमा शिक्षाराम्भ गरेदेखि बिर्तामोडमा महाविद्यालय खोल्दासम्म र पछिका समयका पनि विवरणहरु समेटिएका छन् ।

आत्मवृत्तान्त खण्डमा, जन्म र पूर्व बाल्यकाल, शिक्षा, जागिरे जीवन, रोचक प्रसंग, सपरिवार झापा, अञ्चलाधीशसँग जम्काभेट, पारिवारिक जिम्मेवारी, शिक्षामा झुकाव, विदेश भ्रमण, जग्गा मुद्दा, सेवा तथा सहयोग, अविश्मरणीय घटना, जीवनमा आइपरेका विपतका घटना, वंशावली लगायत धेरै कुराहरु उल्लेख गरिएका छन् । जीवनमा स्वयम् गरिएको अनुभव जसमा गणेशप्रसाद खनालका अन्तरङ्ग र बहिरङ्ग दुबै पक्ष समेटिएका छन् । यी सब पढ्दै गर्दा कुनै रोचक उपन्यास पढेको अनुभूति मिल्दछ ।

शिक्षासेवी खनालकै शब्दबाट उनले भोगेका कुराहरु जानौँ । शिक्षामा झुकाव शीर्षकको लेखमा यस्तो उल्लेख छः उच्च माध्यमिक शिक्षा परिषद् गएँ । त्यहाँ डा. तीर्थ खनिया थिए । उनले गणेशजी यहाँ विद्यार्थीको पढाइ–लेखाइभन्दा पनि राजनीतिक खेल भएको छ भने । त्यसबेला शिक्षा मन्त्री झापाली देवीप्रसाद ओझा थिए । उच्च माविका विद्यार्थीलाई फेल पारेर हामीलाई होचो र नालायक देखाउने उनको नीति रहेछ । यसरी आहारिसे राजनीतिको चपेटामा परेर विद्यार्थी फेल भएका रहेछन् । गणेशप्रसाद खनालले भोगेका धेरै कठीन चरणहरु आत्मवृत्तान्तमा उल्लेख भएका छन् । जसबाट मानिस कसरी संघर्ष गर्दै एउटा उच्चस्तरमा पुग्न सकिन्छ भन्ने मार्गदर्शन मिल्दछ ।

खनाल किन शिक्षासेवामा समर्पित भए ? गोमेन्द्र बिर्तामोडल मावि शीर्षक लेखमा उनकै शब्दमाः जीवनको पूर्वाद्र्धको समाप्तिसँगै समाजमा केही उल्लेखनीय काम गरी देशका लागि योग्य शैक्षिक जनशक्ति उत्पादन गरी देश विकासमा ठोस टेवा दिने उद्देश्यले मैले आफ्नो उत्तरार्ध जीवन शिक्षा क्षेत्रमा समर्पित गरेको हुँ ।

खनालले बुढेकालको जीवन आरामले बिताउनुपर्नेमा जीवनको उत्तराद्र्धमा पुगेर पनि उच्च शिक्षा संस्था स्थापना गरी मेची या पूर्वी नेपालकै उत्कृष्ट महाविद्यालयको रुपमा उभ्याउनु चानचुने कर्म होइन । परिणामस्वरुप विशेषगरी मेची अञ्चलका विद्यार्थीहरुका लागि व्यवहारिक स्तरीय सूचना प्रविधि आईटी विषय पढ्न सहज भएको छ । साथै पत्रकारिता र अन्य विषय पढ्न पनि सजिलो भएको छ । खनालले स्थापना गरेको महाविद्यालयमा शिक्षा हासिल गरेका जनशक्तिहरु देश–विदेशमा स्तरीय रोजगार भएका छन् । जसले गर्दा विद्यार्थी तथा अभिभावकहरुको सपनाहरु साकार भएका छन् ।

पुस्तकमा उल्लेख भए अनुसार, उहिले इलामको साँखेजुङमा छँदा गरिबीका कारण भान्छामा ढिँडो ओडार्ने खनाल अर्थात् खनाल परिवारको अवस्था आज धनधान्यको पाइन्छ । यी सब यत्तिकै प्राप्त भएका होइनन् । इच्छाशक्ति, लगन, समाज र देशका लागि योगदान गर्ने चाहना, सोही अनुरुपका संघर्ष, मेहनत र समन्वय कलाले प्राप्त भएका हुन् । अनि समाजलाई दिएर नै यी उपलब्धी प्राप्त भएका हुन् ।

ग्रन्थमा समेटिएका विभिन्न व्यक्तित्वहरुका लेखहरुमा व्यक्त भएका विचार अनुसार, गणेशप्रसाद खनाल एक सफल व्यक्तित्व, प्रेरणाका स्रोत, शिक्षाप्रेमी, सफल मार्गदर्शक, कर्मशील, परिश्रमक, गतिशील र कुशल, साहसिक, साधक र समाजको सम्पत्ति हुन् । यसरी सामाजिक फाँटमा एउटा बलियो खम्बा सावित भएका छन् गणेशप्रसाद खनाल । खम्बा हुनुको अर्को प्रमाण के हो त ? प्रमाण या परिणाम हो बिर्तामोडस्थित गोमेन्द्र बिर्ता मोडल मावि तथा महाविद्यालय जसमा उच्च माध्यमिक हुँदै, बिबिए, बिसिए र एमसिएसम्मको पढाइको अवसर स्थापना भएका छन् । तर, यी सब उपलब्धी त्यतिकै प्राप्त भएका होइनन् । कसरी प्राप्त भए त ? शिक्षासेवी गणेशप्रसाद खनालको आत्मवृत्तान्तमा पढ्न पाइन्छन् । जसबाट सबै पुस्ता, खासगरी नयाँ पुस्ताले प्रेरणा लिन सक्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here