निर्जिव जीवन

0
14

आफैंलाई रुवाएर आकाश धर्तीमा खुशी झार्छ
कावा खाँदै चरा उडेर हावामा बिऊबिजन छर्छ
खुशी समेटी अविरल नदी वनस्पतिमा प्राण भर्छ
अनि मायामोह जगाउँदै प्रकृति एक जीव बन्छ ।

चिर्बिर–चिर्बिर सङ्गीत भर्दै चरी सद्भाव बाँड्दछ
झुल्कँदो सूर्यमा बिहानी न्यानो उज्यालो पर्खन्छ
झरेर प्रकाश धर्तीमा वनस्पतिको आहारा बन्दछ
माया र त्यागले एक अनौठो जीवनचक्र चल्दछ ।

अडान् त्यागेर चट्टान माटो बन्छ, झर्छ बोक्दै नदी
बिसाएर आफ्नो भारी, फेरि फर्कन्छ हावा सरी
मितेरी लाउँछ मानव आकाश धर्तीमा एकै थरी
स्वागत गर्छिन् पृथ्वी छल न कुनै रुपमा आपत्ति ।

फसल लगाउन किसान जब खेतमा हिलो उमार्छ
मन्द–मन्द बतासको सहारा लिएर गौथली उड्दछ
कण–कण हिलो बोकी दिवालमा न्यानो धर बनाउँदै
सन्तानको माया के हो मनुष्यलाई पनि बुझाउँछ ।

हिउँदमा दुर्लभ अनुत्तरित अनगिन्ती निदाएका बोट
बिरुवाहरू बसन्तको कोमल स्पर्शले बिउँझिएसङ्गै
हजारौँको प्राण बनेर गर्वले उठ्छन् हरियाली अनि
फाँटहरुमा मुस्कुराउँदै खुल्ला स्वागत गर्छिन् जननी ।

चित्र सृष्टि सृजना चमत्कार मन्त्रमुग्ध आफै अनेक
जीवन शिक्षा सङ्गित ध्यान ज्ञान तपस्या आफै एक
छ रिसराग शून्य आलाप न बिलाप छन् कुनै थरीका
अट्छन् हृदयमा हजारौं सन्तान् बिना कुनै सम्झौता ।

जन्माएर एक प्राणी अनि रक्षा गर्न भनि भू–मण्डलको
चेतना ज्ञान बलबुद्धी भरी, भन्दै गर्नु प्रयोग विवेकको
बस्छिन् आशामा सुधार उन्मुख देख्न कार्य सन्तानको
झस्कन्छिन् देख्दा ‘स्वार्थले पोशेका विवेक’ मनुष्यको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here