खाने होइन त भाक्का !

0
29

बिहानको मर्निङ वाक जाने क्रममा जंकाभेट हुने एक महिलाको संघर्षले सबैलाई काम प्रति कर्तव्यनिष्ठ हुन प्रेरित गर्दछ । पुस, माघको जाडोमा बिहानीको मीठो निन्द्रालाई ठाडै चुनौती दिँदै ती महिला बिहानको ३ बजेदेखि घरधन्दा सकेर ४ बजेसम्ममा चोकमा आइपुग्छिन् आफ्नो व्यापारका लागि । भक्कावाली दिदी नामले प्रसिद्ध जानकी राजवंशीलाई बिहानीको झिसमिसेमा टाउकोमा ढाकी बोकेर आउँदै गरेको प्रायस सबैले देखेको हुनुपर्छ ।

विगत ३० वर्षदेखि उनले गर्दै आएको भक्काको बिक्रीले राम्रै आयाअर्जन भएकोले उनको पाँच जनाको परिवारको जिविकोपार्जन भएको छ । आफ्नी हजुरआमा बाट भक्का बनाउन सिकेकी जानकी दिदीलाई तातो र स्वादिलो भक्का ग्राहकलाई पस्किँदा छुट्टै आनन्द आउँछ । हरेक जातजाति, वर्ग, उमेर र धर्म सम्प्रदायका मानिसहरु उहाँको नियमित ग्राहक भएकोले घरदेखि बजारसम्म भक्का तयारी गर्दा अपनाउनुपर्ने सरसफाई तर्फ सचेत र जागरुक हुनुहुन्छ ।

बिर्तामोडको व्यस्त बजार, त्यसमा बिहानी र साझमा जानकी दिदीको भक्का पसल वरिपरि झुम्म भएका मानिसहरुको भिडले त्यो चोकको माहोल नै बद्लिदिन्छ । के बच्चा, के वृद्ध, के महिला, के पुरुष, के धनी के गरीब सबैको रोजाइ हो भक्का । विद्यार्थीदेखि प्रोफेसरसम्म, कार्यालय सहयोगदेखि हाकिमसम्म, हजुरबादेखि नातिसम्म सबैको साझा खाजा हो यो भक्का । अरु पसलमा पसलेले ग्राहकको प्रतिक्षा गर्नु पर्दछ, तर उहाँको भक्का पसलमा सम्भवतः ग्राहकले आफ्नो पालो पर्खनुपर्ने हुन सक्छ । चिसो मौसममा तातो तातो भक्का साथमा पिरो धनिया टमाटरको अचार कसलाई मन नपर्ला र ?

कोच राजवंशी समुदायको सास्कृतिक पहिचान र परम्परागत खाजाको रुपमा स्थापित भक्का पछिल्लो समय कोच राजवंशी समुदायसङ्गै अन्य जातजातिबीच पनि लोकप्रिय बन्दै गएको छ । ‘राजवंशी भाषामा ‘भा’ भन्नाले बाफमा पकाइएको खानेकुरा र ‘खा’ भन्नाले खानु भन्ने बुझिन्छ । चामलको पिठोलाई बाफमा पकाएर खाने भएकोले भाखा भनियो । हाल अपभ्रम्स हुँदै भाक्का या भक्का भन्ने गरिन्छ ।’ –जानकी राजवंशी भन्नुहुन्छ । शुरु–शुरुमा नुन र तेलमा चोपेर खाइन्थ्यो भने हाल स्थान अनुसार अचार, चिनी र सख्खरसङ्ग खाने गरिन्छ, जसले स्वादमा फरकपनाको महशुस हुन्छ । भक्का या भाखा जे भने पनि स्वास्थकर, स्वादिलो र सर्वसुलभ यो परिकारको आफ्नै मौलिक विशेषता रहेको छ ।

संस्कृतिको धनी देश नेपालमा मौसम अनुसारको कपडा मात्र होइन खानपिनमा पनि उत्तिकै ध्यान दिइन्छ । कोच राजवंशी समुदायको मौलिक र परम्परागत परिकार बनेको भक्का हाल पूर्वी नेपालको झापा मोरङ, सुनसरी लगायत भारत र बंगलादेशका केही शहरहरुमा बिहान–बेलुकीको नास्ताको रुपमा प्रचलित छ । आदिवासी समुदायमा मध्य दिनमा खाना खाने भएकोले भोक पनि मेटाउने र जाडो पनि भगाउने नास्ताको रुपमा भाक्का प्रसिद्ध थियो । आदिवासी समुदायको पहिचान झल्काउने परिकार बनेको भक्का हाल सबैको रोजाइ बनिसकेको छ ।

भाक्काको उत्पत्तिको बारेमा खासै यकिन नभएता पनि यसको इतिहासलाई आदिवासी समुदायको उत्पत्तीसङ्गै जोडिएको छ भन्ने मान्यता छ । जानकी दिदी भन्नुहुन्छ– ‘हामी राजवंशीको मौलिक परिकार यो भाक्कालाई महाभारत कालदेखिको सनातन संस्कारसँग पनि जोडिएको पाइन्छ । महाभारतकालमा भिष्मपितामहले देहत्याग गर्दा भन्नु भएको थियो रे– मेरा शरीरका असंख्य शक्ति यही पृथ्वीको प्रकृतिमा छोडेर जादैछु । मलाई चामलबाट बनाएको भाक्का चढाइदिनु । मलाइ यसरी चढाएको भाक्का जसले खान्छ उसलाई मेरो असिम शक्ति प्राप्त हुन्छ ।’ सनातन धर्म–संस्कृतिमा अपार आस्था राख्ने प्रकृतिप्रेमी आदिवासी समुदायको लागि भाक्का एक खानाको परिकार मात्र नभएर मौलिक पहिचान, परम्परागत संस्कृती र गौरवको विषय पनि हो ।

परापूर्वकालदेखि नै राजवंशी समुदायमा माघ १ गते खोला नदी पातालगंगा जस्ता जमिनबाट पानी उब्जेको ठाउँमा नुहाउने एक धार्मिक आस्था रहेको राजवंशी समुदायको तर्क छ । पूर्वजहरुको पालादेखि नै पुस २९ गते अर्थात् माघे संक्रान्तिको अघिल्लो दिन छोरीचेलीहरुलाई घरमा बोलाएर जमघट गराउने र सांस्कृतिक परिकार, परम्परागत खानेकुरा, लड्डुहरु र भक्का समेत खुवाउँदै हर्षोउल्लासका साथ उत्सवको रुपमा मनाइएको पाइन्छ । निश्चित समुदायभित्र मात्र सिमित यो संस्कारलाई जीवन्त रुप दिनु र भक्काको स्वादभित्र लुकेको आदिवासी संस्कृती, परम्परा र राजवंशी समुदायको मौलिक परिकारलाई पुनः जागरण गर्नु पुस २९ को विशेष महत्व हुन सक्छ ।

भाक्का पकाउनको लागि चामललाई लगभग दुई घण्टासम्म भिजाइन्छ र थेग्राइन्छ । मसिनो पारेर कुटिएको पिठोलाई चाल्नीले चालेपछि अलिअलि पानी हाल्दै मुसेर नरम बनाइन्छ र फेरि खस्रो चाल्निले चालिन्छ । एउटा माटोबाट बनेको दुलो भएको ढक्कनले छोपेर ठूलो भाडालाई आगोमा राखिन्छ र पानी उमालिन्छ । अब तयार पारिएको पिठोलाई बटुकामा राखेर पातलो सुतीको कपडाले छोपेर बाफ आउँदै गरेको दुलोमा राखिन्छ । लगभग दुई मिनेटमा भक्का पाक्छ ।

बजारमा पाइने अन्य खाजाहरु र जन्कफुडभन्दा ताजा, पौष्टिक एवम् सुपाच्य भोजन भएकोले हिउँदको मौसममा भक्काको लोकप्रियता बढ्दो छ । जाडो बढेसँगै होटल र रेस्टुरेन्टको खाजाहरुको सट्टा भाक्का खान मन लाग्ने र खाएपछी सन्तुष्टि हुने भए पनि केही ठाउँहरुमा भक्काको मूल्य केही महँगो भएको भक्काप्रेमीहरुको गुनासो छ । हरेक जातजाति वर्ग, उमेर, पेशा र धर्म सम्प्रदायका ग्राहकहरुले खाजाको रुपमा भक्कालाई स्वीकार गरिरहेको अवस्थामा भक्का बिक्रेताले त्यसको सरसफाई र पौस्टिकतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । घरमा पिठो र अचार बनाउँदादेखि बजारमा ग्राहकलाई भक्का पस्किँदासम्म अपनाइनुपर्ने सावधानी, स्वच्छता, शुद्धता र सरसफाईप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।

कम लगानी , निस्चित स्रोत साधन र सिमित स्थानमा सञ्चालन गर्न सकिने मौसम अनुसारको व्यवसायहरु मध्ये भाक्का व्यवसाय पनि जानकी राजवंशी जस्ता हजारौं आदिवासी महिलाहरुको लागि आयआर्जनको एक स्थायी स्रोत बन्दै आएको छ । बिहान बेलुकी सञ्चालन गरिँदै आएको भाक्का बिक्रीले धेरैलाई आत्मनिर्भर, स्वरोजगार र आर्थिक रुपले स्वतन्त्र हुन मद्दत पु¥याएको देखिन्छ । एक समुदायको मौलिक, सांस्कृतिक र परम्परागत परिकार भाक्कालाई चोक बजारसम्म ल्याएर लाखौं ग्राहकको भोक मेटाउँदै आउनुहुने जानकी दिदी जस्ता हजारौं भक्कावाली दिदिहरुको श्रम, लगन र सेवाको उच्च मूल्यांकन हुनु जरुरी छ । सिमित समुदाय र नेपालका पूर्वी जिल्लाहरुमा सिमित रहेको भक्का व्यवसायलाई विश्वव्यापीकरण गर्न सके नेपालको पर्टकीय अवस्थामा समेत सुधार ल्याउन सकिने सम्भावना देखिन्छ ।

आदिवासी संस्कृतिको यस्तै मौलिक परिकार, पहिचान, परम्परा, संस्कृती, भेषभुषा, भाषा र पौराणिक चलनहरुको सम्बद्र्धन र प्रबद्र्धन गर्न पौष २९ गते भक्का दिवस मनाइन्छ । कोच राजवंशी समुदायको सांस्कृतिक परिकार भाक्कालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गदै भक्कालाइ विश्व बजारमा पस्कनको लागि कोचिला गाभुर फ्रन्टले २०७४ साल पुस २९ गतेदेखि राष्ट्रिय भाक्का दिवस मनाउन शुरु गरेको हो । भाक्का दिवसको प्रभावकारिता र स्थायित्व सङ्गै झापाका केही स्थानहरूमा सार्वजनिक बिदासम्म दिइएको पाइन्छ । भाक्का दिवसकै अवसरमा देशका राजनीतिक नेतृत्वकर्ताहरुबाट शुभकामना व्यक्त गरिनु र उच्च सम्मानित व्यक्तित्वहरुको उपस्थितिसहित विभिन्न स्थानहरुमा भाक्का दिवस विशेष कार्यक्रम गरिनुले यस दिवसलाई राष्ट्रिय महत्वको रुपमा अवलोकन गरिएको छर्लङ्ग हुन्छ ।

राजवंशी समुदायको भाषा, साहित्य संस्कृति, परम्परा, भेषभुषा र मौलिक पहिचानको सम्बद्र्धन र प्रबद्र्धन गर्न राजवंशी समाज विकास समिति झापा प्रस्तुत गर्दैछ आठौं राष्ट्रिय भाक्का दिवस २०८१ । डोमालाल राजवंशी रंगशालामा आयोजित हुन गइरहेको आठौं भाक्का दिवस विशेष कार्यक्रममा विगतका वर्षहरुमा झैं राजवंशी आदिवासी समुदायको जातीय, भाषिक र परम्परागत संस्कृति झल्कने नृत्य, गायन, बाद्यबाधन जस्ता विविध प्रस्तुतिहरु अवलोकन गर्न पाइने छ । राष्ट्रिय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने यस सांस्कृतिक कार्यक्रममा स्थानीय स्तरका कलाकारहरुको उत्कृष्ट प्रस्तुति देख्न सकिने छ ।

कोच आदिबासी राजवंशीको भाषा, साहित्य र सस्कृतिको उत्थानका निमित्त आयोजित आठौं भाक्का दिवसको अवसरमा राजवंशी समाज विकास समिति गौरबका साथ उपस्थितिको लागि सबैमा सादर अनुरोध गर्दछ । साथमा परम्परागत परिकार भाक्काको विशेषता र स्वादलाई जनजिब्रोसम्म पु¥याउने उद्देश्यसहित सयांै भाक्काको स्टलहरु मार्फत उपस्थित सबैमा भाक्काको मौलिक स्वाद पस्किने छ । आठौं भाक्का दिवसलाई सार्थकता प्रदान गर्न देश–विदेशमा छरिएर रहनुभएका भक्काप्रेमीहरुलाई हार्दिक शुभकामना छ । पुस २९ भक्का दिवस ः खाने होइन त भक्का !

स्रोत : आवश्यक जानकारी इन्टरनेट मार्फत ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here