योगेन्द्र योगी,
बिराटनगर ।
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स(युएई) पुगेर अलपत्र परेका नेपाली कामदारहरुलाई एक ब्यक्तिले निरन्तर सहयोगगर्दै आएका छन् ।
बरदुबईको नेपाली पार्क वा नजिकै धेरै नेपालीहरु जाडो होस् वा गर्मी, सुटकेसको सिरानी हालेर पुरानो ओडने ओडेर सुतिरहेको अवस्थामा नेपालीहरुलाई निःशुल्क खाने बस्ने ब्यबस्था गर्दै आएको एपसुङ मोबाइलका सञ्चालक नवीन विकले जानकारी दिए ।
दुबई आएर समस्यामा परेका वा पार्क वा पाटीपौवामा सुत्न विवश भएकाहरुलाई उद्धार गरेका छौ,संचालक विकले भने,–एक महिनाको अवधिमा ३० जना नेपालीहरुलाई निःशुल्क खान बस्नको ब्यबस्था गरेका छौं।
प्रारम्भिक चरणमा ३० जनालाई खान बस्ने ब्यबस्था गरिएको भए पनि निकट भविष्यमा १०० जनासम्मलाई निःशुल्क खान बस्ने ब्यवस्था तथा घर फिर्तिको हवाई टिकट व्यवस्था गरिने उनले बताए।
भिजिट भिसा वा काम नपाएर अलपत्र परेकाहरुलाई सम्पर्कमा आउन पनि अनुरोध गरेका छन्। यसको लागि दुबईमा रहेका नेपाली र नेपालबाट भिजिटमा आउने नेपालीहरुलाई पसल भिजिट गर्न समेत भनेका छन्।
नेपालबाट दलालको प्रलोभनमा परी आकर्षक तलब र सेवा सुविधा पाउने आशमा भिजिट भिसा मार्फत दुबई पुगेर अलपत्र पर्ने नेपालीहरुको संख्या ठूलो छ। कतिपयले काम पाएपनि तलव नपाउने भएका कारण आफूहरुलाई दलालले फसाएको भन्दै उद्धारका लागि हारगुहार गर्ने गरेका छन्।
अबुधावीस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेपछि भिजिट भिसामा कामका लागि नआउन आग्रह गर्दै आएको छ। भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न नसकिने दूतावासले जनाएको छ ।
भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा पर्न सकिने जनाएको छ।