पत्रकारलाई डिजिटल रिपोर्टिङ तालिम, महासंघलाई सम्मान

0
18

बिर्तामोड ।

महिला पत्रकारहरुलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहको आयोजनामा डिजिटल रिपोर्टिङ तालिम सम्पन्न भएको छ ।

तीनदिने तालिमको समापन समारोहमा नेपाल पत्रकार महासंघ झापा शाखा तथा महासंघका विभिन्न तहमा निर्वाचित समितिलाई सम्मान समेत गरिएको थियो ।

बिर्तामोडस्थित अर्किड होटलमा सञ्चालित तालिम समापन तथा सम्मान कार्यक्रममा बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले स्वदेशमै केही गरौं भनेर जागरुकता सञ्चार हुने प्रकृतिका समाचार सम्प्रेषण गर्न सुझाव दिए ।

कक्षा १२ पढिसक्दा युवा पलायन हुने क्रमले क्याम्पसहरु संकटमा पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रसाईले देशमा भएका सम्भावनालाई उजागर गर्दै युवाशक्तिलाई स्वदेशमै केही गर्न उत्प्रेरित गर्न सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिसंँग खेल्न नसके पत्रकारिता आफैंमा भुत्ते भएर जाने उल्लेख गर्दै डिजिटल प्रविधि आजको आवश्यकता भएको बताए । प्रतिपष्र्धात्मक क्षमता विकास गर्न नसके परम्परागत सिपले मात्र पत्रकारितालाई धान्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरपरिषद सदस्य निर्मला ल्वागुन, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत उद्यमी महिला समूहकी अध्यक्ष राधिका चुडाल हुमागाँई, महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शर्मिला अधिकारी, उद्यमशीलता सशक्तिकरण अभियन्ता निर्मला भण्डारी लगायतले बोलेका थिए ।

सो अवसरमा प्रशिक्षार्थी कृष्णकुमारी बस्नेत र गणेश कोइरालाले तालिम उपलब्धीमूलक भएको प्रतिक्रिया दिंँदै समयावधि छोटो भएको बताए । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि, नेपाल पत्रकार महासंघका अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेसहितका अतिथिहरुले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । खोज पत्रकारिता सम्बन्धी संस्था निमजेनका प्रमुख रजनीश भण्डारी, दिनेश रेग्मी, अधिवक्ता तारामणि सापकोटा र सावित्रा दाहालले तालिमको सहजीकरण गरेका थिए ।

महासंघको नवनिर्वाचित कार्यसमिति सहित पदाधिकारी, राष्ट्रिय परिषद सदस्य तथा प्रदेश परिषद सदस्यको सम्मान कार्यक्रममा अध्यक्ष गिरी, उपाध्यक्ष यौपाने, सचिव प्रदीप परियार, सहसचिव रमेश तिवारी, तिलक योञ्जन, मनकुमार गदाल, भूमिराज पराजुली, राष्ट्रिय परिषद सदस्य विशाल नेम्वाङ, प्रदेश परिषद सदस्यहरु रश्मिशेखर सुवेदी र राम निरौला लगायतको उपस्थिति रहेको थियो । आयोजक संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा टेवाबारे जोसना श्रेष्ठले प्रकाश पारेकी थिइन भने स्वागत दीपा पोखरेलले गरेकी थिइन् ।

तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका २५ जना महिला पत्रकारको सहभागिता रहेको थियो । यसअघि माघ २ गते नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले तालिमको उद्घाटन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here